आकर्षक रोजगारीको प्रलोभनमा श्रीलंकामा पुगेका नेपालीहरू साइबर अपराधमा फसेर जेल परेका छन् ।
What you should know
काठमाडौँ — कम्बोडिया, म्यानमारजस्ता देशमा कडाइ र धरपकड बढेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातर्फ सर्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपालीहरूसमेत फस्दै आएकोमा गत महिना श्रीलंका प्रहरीले गाल र मतारा जिल्लामा छापा मार्दा २९ जना नेपालीसहित १९२ भारतीय पक्राउ परेका थिए ।
कोलम्बोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विजयकुमार राउतका अनुसार मे महिनामा मात्रै साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा कुल ३४ नेपाली नागरिक पक्राउ परी जेल चलान भएका थिए । उनीहरूलाई गाल, बुस्सा र मतरास्थित जेलमा राखिएको थियो । हालसम्म ३० जनालाई अदालतले धरौटीमा रिहाइको आदेश दिइसकेको छ । ‘मतरामा १० जनालाई गिरफ्तार गरिएको थियो,’ दूतावासका सूचना अधिकारी सागर भण्डारीले कान्तिपुरसँग भने, ‘उहाँहरू हाम्रो सम्पर्कमा आउनु भएको थियो ।’ कति संख्यामा नेपालीहरू श्रीलंकाका यस्ता सेन्टरमा पुगिरहेका छन् भन्नेबारे थप अध्ययन गर्न बाँकी रहेको दूतावासले जनाएको छ ।
‘श्रीलंकाको दक्षिणी तटीय क्षेत्रमा पछिल्लो समय साइबर ठगी र कल सेन्टरका गतिविधिहरू निकै बढेका छन्,’ दूतावासले उपलब्ध गराएको विवरणमा भनिएको छ, ‘सन् २०२६ मे १२ र १३ तारिखमा २४ जना नेपाली नागरिकहरू कम्प्युटरसम्बन्धी कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई शुरुमा गाल जेलमा पठाइएको थियो । ती नेपालीहरूले दूतावासमा कुनै औपचारिक सम्पर्क गरेका थिएनन् ।’
यसैबीच मातरा भन्ने स्थानमा अन्य १० जना नेपाली पनि पक्राउ परेको दूतावासले जानकारी दिएको हो । ‘उनीहरूलाई मतरा जेलमा राखिएको छ र उनीहरूको मुद्दाको प्रकृति अहिलेसम्म स्पष्ट खुलाइएको छैन,’ विवरणमा भनिएको छ, ‘तथापी, यो साइबर अपराधसँगै जोडिएको अपरेसन हुनसक्ने दूतावासको बुझाइ छ ।’ मतरामा रहेका नेपालीहरूले भने दूतावासमा टेलिफोनमार्फत सम्पर्क गरेपछि जुन १ मा दूतावासका अधिकारीहरूले दुवै जेलमा पुगेर कन्सुलर पहुँचका लागि समन्वय गरेका थिए ।
सो क्रममा मतरामा १० जना नेपालीलाई भेटिए पनि गालेका २४ जनालाई भने त्यहाँबाट बुस्सा जेलमा सारिएको र जुन ५ मा उनीहरूलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको दूतावासले जानकारी दिएको छ । मतरा जेलका १० मध्ये ६ जनालाई पनि धरौटीमा छाड्ने आदेश भए पनि धरौटी स्वीकृतिको औपचारिक पत्र प्राप्त भइसकेको छैन ।
दूतावासका अनुसार मतरा जेलमा रहेका नेपालीहरूले आफूहरू साइबर अपराधमा संलग्न नभएको दाबी गरेका छन् । उनीहरूले मध्यपूर्वको संकटपछि संयुक्त अबर इमिरेट्स (यूएई)बाट श्रीलंका आएको बताएका छन् । उनीहरूले आफूहरू पहिले यूएईका विभिन्न स्थानमा भान्सेका रूपमा काम गर्ने गरेको बताएका छन् ।
श्रीलंकामा पनि भान्सेकै कामका लागि वर्क पर्मिट लिन उनीहरूको पासपोर्ट प्रक्रियामा रहेको जिकिर छ । आफूहरूलाई कम्प्युटर चलाउनसमेत नआउने भएकाले यस्तो अपराधमा संलग्न नभएको उनीहरूले बताएका छन् । जुन ८ मा दूतावासका अधिकारीहरूले पुनः मतरा जेल पुगेर त्यहाँ रहेका नेपालीलाई आवश्यक सामग्रीहरू प्रदान गरेको थियो ।
दक्षिणपूर्वी एसियाली देशहरूमा तीव्र धरपकड र निगरानी बढेपछि अन्तरदेशीय साइबर ठगी सञ्जालहरूले हाल श्रीलंकालाई आफ्नो नयाँ अखडा बनाउन थालेका छन् । कम्बोडिया, थाइल्यान्ड, संयुक्त अबर इमिरेट्सलगायत देशमा यस्ता गतिविधिविरुद्ध अनुसन्धान, कारबाही र नीतिगत दबाब बढेको छ । 'नेपालीहरू पनि धेरै समस्यामा पर्न थालेपछि हामीले पनि दक्षिणपूर्वी एसियाली देशहरूसँग कूटनीतिक समाधान खोजेका थियौँ,' परराष्ट्र मन्त्रालयका प्रवक्त्ता लोकबहादुर पौडेल क्षत्रीले भने, 'श्रीलंकाको विषय भने नयाँ छ, हामी अध्ययन गरिरहेका छौँ ।'
प्रहरी र क्षेत्रीय अनलाइन ठगी उद्योगको निगरानी गरिरहेका विश्लेषकहरूलाई उदृ्त गर्दै ब्लुमबर्गले जनाएअनुसार विदेशी नागरिक संलग्न साइबर अपराधका घटना श्रीलंकामा पछिल्लो समय उल्लेख्य वृद्धि भएका छन् । सन् २०२४ मा ४३० जना, २०२५ मा त्यसभन्दा कम र सन् २०२६ को पाँच महिनामा १ हजारभन्दा धेरै विदेशी नागरिक यस्ता स्क्याम सेन्टरबाट पक्राउ परिसकेको श्रीलंका प्रहरी जनाएको छ ।
सिंगापुरको सञ्चार माध्यम ‘स्ट्रेट टाइम्स’सँगको कुराकानीमा श्रीलंका प्रहरीका प्रवक्ता फ्रेडरिक वुटलरले पक्राउ परेकामध्ये अधिकांश चीन, भियतनाम र भारतका नागरिक रहेको बताएका छन् । प्रहरीले गरेको धरपकडका क्रममा २९ जना नेपालीहरू पक्राउ परेको पनि वुटलरले नै उल्लेख गरेका हुन् । उनका अनुसार राजधानी कोलम्बोमा मे महिनाको तेस्रो साता छापा मार्दा थप २८० विदेशी नागरिक पक्राउ परेका थिए भने मार्चमा एउटै स्क्याम सेन्टरबाट १३५ चिनियाँ नागरिक समातिएका थिए ।
स्क्याम सेन्टरहरूले इन्टरनेट प्रयोगकर्ताहरूलाई झुटो प्रेम सम्बन्ध, क्रिप्टोकरेन्सीमा लगानी र सट्टेबाजीजस्ता गतिविधिमा प्रलोभनमा पारेर ठगी गर्ने गरेका छन् । त्यस्ता सेन्टरमा काम लगाउन विभिन्न देशका युवाहरू झुक्याएर पुर्याउने गरिएको छ । उच्च तलब हुने ‘आईटी’ वा ‘कल सेन्टर’ को काम भन्दै झुटो प्रस्ताव दिइन्छ । धेरैजसो युवाहरू आफ्नै चिनजानका व्यक्ति वा फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा भएका कुराकानीका आधारमा एजेन्टहरूको विश्वासमा पर्ने गरेका छन् ।
मानव तस्करहरूको संगठित गिरोहले युवाहरूलाई भारत, बंगलादेश, थाइल्याण्ड र म्यानमार हुँदै यस्ता स्क्याम केन्द्रहरूसम्म पुर्याउने गरेको प्रहरीले जनाएको छ । ‘श्रीलंकाको घटनाबारे हालसम्म हामीलाई आधिकारिक जानकारी आएको छैन,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले भने, ‘कुनै विवरण हामीसम्म आए, जानकारी दिनेछौँ ।’
पछिल्लो समय श्रीलंकाले नेपालसहित ४० देशका नागरिकहरूलाई ३० दिने नि:शुल्क पर्यटकीय भिसा र अनलाइन अनुमतिको व्यवस्था गरेको छ । यसकै दुरुपयोग गरेर स्क्याम सेन्टर चलाउनेहरू त्यहाँ पुग्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको ठहर छ । कोभिड-१९ महामारीपछि यस्ता सञ्जालहरू तीव्र रूपमा फैलिएका हुन् । कम्बोडिया र म्यानमार-थाइल्यान्ड सीमावर्ती क्षेत्रमा गरिएका ठूला कारबाहीका क्रममा हजारौँ व्यक्तिलाई पक्राउ, निष्कासन तथा शंकास्पद ठगी केन्द्रहरूमा छापा मारिएकोबारे निरन्तर समाचारहरू प्रकाशित गरिरहँदा यस्ता गिरोह भने नयाँ-नयाँ ठेगानाबाट स्क्याम सेन्टर चलाउँदै आएका छन् ।
विज्ञहरूले पछिल्ला गतिविधिहरू हेर्दा यस्ता ठगी सञ्जालहरूले आफूलाई परिस्थितिअनुसार छिट्टै अनुकूल बनाउन सफल भएको आशंका गरेका छन् । पूर्णरूपमा समाप्त हुनुको सट्टा उनीहरू टुक्राटुक्रा हुँदै कम निगरानी, सहज प्रवेश व्यवस्था वा उपयुक्त डिजिटल पूर्वाधार भएका क्षेत्रतर्फ सरेको देखिएको श्रीलंकाका अनुसन्धानमूलक पत्रकारिता केन्द्रकी निर्देशक पत्रकार दिलरुक्सी हन्दुनेत्तीको विश्लेषण छ । ‘अपराधीहरूले श्रीलंकाको पर्यटक भिसाको दुरुपयोग गरेर आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको पाइन्छ,’ उनले ब्लुमबर्गसँग भनेकी छन्, ‘प्रहरीले यस्ता अवैध कम्पनीहरू (स्क्याम सेन्टरहरू) विरुद्ध आवश्यक रूपमा कडाइ वा धरपकड गर्नुपर्छ ।’
द स्ट्रेट्स टाइम्स र ब्लुमबर्गका अनुसार श्रीलंकाको सहज भिसा नीति, रणनीतिक भौगोलिक अवस्थिति तथा भरपर्दो इन्टरनेट पूर्वाधारले अन्यत्र दबाब बढेपछि नयाँ आधार खोजिरहेका सञ्जालहरूलाई आकर्षित गरेको छ । अप्रिलमा प्रहरीले चिलावस्थित एक होटलमा छापा मारेर १५० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको थियो । उक्त होटल अनलाइन ठगी गतिविधिका लागि प्रयोग भइरहेको आशंका गरिएको थियो । कोलम्बो र वरपरका क्षेत्रमा पनि विदेशी नागरिक संलग्न साइबर ठगी सञ्चालनविरुद्ध विभिन्न धरपकड र कारबाही भएको र कम्बोडियामा जस्तै यस्ता कारबाहीमा चीनको प्रत्यक्ष चासो रहेको जानकारहरूले बताएका छन् ।
विगतमा म्यानमार र कम्बोडियास्थित साइबर ठगी केन्द्रहरूमा नेपालीहरूलाई भर्ती गरिएका र कयौँलाई उद्धार गरिएका विवरण सार्वजनिक हुने गरेका थिए । श्रीलंकाले नेपालसहित दर्जनौँ देशका नागरिकलाई भिसामुक्त प्रवेश सुविधा दिइरहेका बेला आकर्षक तलब र सहज रोजगारीको प्रलोभन दिने वैदेशिक रोजगारी प्रस्तावप्रति सतर्क रहन विज्ञहरूले आग्रह गरेका छन् ।
