अनियमित र ‘लो भोल्टेज’ विद्युत‍्ले कर्णालीबासी हैरान

अनियमित र लो भोल्टेज यहाँको स्थायी समस्याजस्तै हो । चार महिनाअघि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन सुचारु भएपछि यो समस्या केही कम भएको थियो । तर यो लाइन सञ्चालनमा आएको तीन महिना नपुग्दै पोल ढलेपछि फेरि विद्युत‍्मा समस्या आएको हो ।

जेष्ठ २७, २०८३

तृप्ति शाही

Irregular and low-voltage electricity disrupts Karnali residents

What you should know

वीरेन्द्रनगर — जेठको गर्मीमा पनि कर्णालीबासीले अनियमित र ‘लो भोल्टेज’ विद्युतको हैरानी खेपिरहेका छन् । लामो समयदेखि यस क्षेत्रका नागरिकले यो समस्या झेलिरहेका छन् ।

अनियमित र 'लो भोल्टेज' यहाँको स्थायी समस्याजस्तै हो । चार महिनाअघि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन सुचारु भएपछि यो समस्या केही कम भएको थियो । तर यो लाइन सञ्चालनमा आएको तीन महिना नपुग्दै पोल ढलेपछि फेरि विद्युत‍्मा समस्या आएको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा रहेको सब–स्टेसनमा चार्ज गरी सञ्चालनमा ल्याइएको प्रसारण लाइनमा हावाहुरीले क्षति पुगेका कारण बाँके चिसापानीस्थित २ वटा टावर वैशाख २६ गते शनिबार ढले । टावर ढलेपछि विद्युत् प्रसारण पूर्ण रूपमा बन्द भएको छ । 

विद्युत‍्का कारण घरायसीदेखि उद्योग–व्यवसाय, खानेपानी आपूर्ति, सूचना प्रविधि सेवा र विद्युतीय सवारी सञ्चालनसम्म प्रत्यक्ष असर पारिरहेको छ । बत्तीका कारण प्रदेश राजधानी र जिल्ला सदरमुकामहरूमा टेलिफोन र इन्टरनेटमा पनि समस्या आइरहेको छ । 

बत्तीको पावर कम भएर पंखासमेत राम्रोसँग नचल्ले गरेको वीरेन्द्रनगर नगरपालिका– ७ की स्थानीय नर्मदा हमाल बताउँछिन् । उनका अनुसार बोरिङबाट पानीसमेत आउँदैन । वर्षौंदेखि यस्तो समस्या भोग्दै आएको उनले बताइन् । पानीका मोटर लगायतका विद्युतीय सामग्रीहरू भोल्टेजकै कारण बिग्रेको बिग्रै हुन थालेको उनले बताइन् । उनका अनुसार ३ महिनाको अवधिका पानी तान्ने दुईवटा मोटर बिग्रिसकेका छन् ।

यहाँ सामान्य हावाहुरी चल्दासमेत घण्टौं बत्ती जान्छ । यो समस्या अहिलेको भने होइन, वर्षौंदेखिको हो । लो–भोल्टेज र ओभर भोल्टेजका कारण दैनिक ४० देखि ५० पटक बत्ती जाने आउने हुन्छ । विद्युत् अनियमितताका कारण मेसिनरी सामानले राम्रोसँग काम गर्दैनन् ।

७० हजार बढी पर्ने बोरिङका २ मोटर एक वर्षभित्र बिग्रिएको बादी सरोकार मञ्चका अध्यक्ष हिक्मत बादी बताउँछन् । उनका अनुसार विद्युत‍्का कारण होस्टेलमा विद्युतीय सामग्री बिग्रिरहन्छन् । 

२०४५ सालमा राजा वीरेन्द्रको सुर्खेत भ्रमणको अवसर पारेर कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन निर्माण भएको थियो । २०४५ सालमा निर्माण गरिएका ती संरचना अहिले जीर्ण भइसकेका छन् । यही लाइनबाट कर्णालीका अन्य जिल्लामा पनि विद्युत् सेवा विस्तार भएको छ । अहिलेसम्म हुम्लाबाहेक ९ जिल्ला सदरमुकाम राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । यसको स्रोत भनेको कोहलपुर–सुर्खेत ३३ केभी लाइन नै हो ।

यसको एउटा क्षेत्रमा समस्या आयो भने बाँकी सबै जिल्लामा विद्युत् अवरुद्ध हुने गर्छ । प्रसारण लाइनको कोहलपुर–सुर्खेतबीचको ५१ किलोमिटरमध्ये ४८ किलोमिटर जंगल (बर्दिया राष्ट्रिय निकुञ्ज) पर्दछ । पुरानो तथा जीर्ण संरचनाका कारण बिस्तारै हावा चल्दा र पानी पर्दा पनि विद्युत‍्का पोल ढल्छन् ।

वीरेन्द्रनगरमा यार्साचुलो सञ्चालन गर्दै आएका गणेशकञ्चन भारतीले विद्युत् अभावकै कारण दैनिक ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताए । केही दिनअघि मात्र विद्युत‍्कै कारण दुई दिनमा ७० हजार बराबरको क्षति भएको उनले सुनाए । ‘अहिले दैनिक ४० हजार बढीको तेलखर्च भइरहेको छ,’ उनले भने, ‘दैनिक ४० हजार बढीको तेल जेनेरेटमा सकिन्छ । १२ हजार जेनेरेटरको भाडा तिर्न परिरहेको छ । भोल्टेजकै कारण फ्रिज बिग्रियो ।’ केही गरौं भन्दा लगानीको वातावरण नै नभएको उनले बताए । राज्यले हेर्नुपर्ने कुरा नहेरेको उनी बताउँछन् ।

प्रदेश अस्पताल सुर्खेत पनि यही लो भोल्टेज विद्युत‍्का कारण समस्या झेरिरहेको छ । अनियमित र लो भोल्टेजकै कारण वार्षिक २ करोड जेनेरेटरमै खर्च गर्नुपरिरहेको अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीले सुनाइन् । उनका अनुसार अप्रेसन गर्नेदेखि लिएर अस्पतालका अन्य नियमित सेवा विद्युत‍्कै कारण प्रभावित भएका छन् । मेसिनरी सामान धेरै बिग्रिन्छन् । उनले भनिन्, ‘अटोमेटिक चार्जेबल सिस्टम त राखेका छौं । तर विद्युत‍् गएर जेनेरेटर चलाउँदा समस्या आइहाल्ने रहेछ ।’

कर्णालीमा लो भोल्टेजको अर्को प्रमुख कारण भनेको दैलेखमा हुने आन्तरिक उत्पादन घट्नु पनि हो । दैलेखसहित अन्य जिल्लाबाट १० मेगावाट विद्युत् प्रदेशमै उत्पादन हुन्छ । त्यो विद्युत् कर्णालीमै वितरण हुन्छ । गर्मीयाम सुरु भएसँगै कर्णालीको उत्पादन ह्वात्तै घट्छ । त्यसलाई बाहिरबाट पूर्ति गर्दा कमजोर संरचनाका कारण भनेअनुसारको भोल्टेज आउँदैन । सिस्टममा जति लोड बढ्यो, उति भोल्टेज घट्दै जान्छ । गर्मी महिनामा कोहलपुरबाट भोल्टेज घटेर आउँछ । कोहलपुरबाट सुर्खेत विस्तार गरिएको ३३ केभी लाइन अहिले दैलेख, कालीकोट हुँदै जुम्लासम्म विस्तार गरिएको छ । कोहलपुरदेखि जुम्ला पुग्दा ३३० किलोमिटर हुन्छ । प्राविधिक रूपमा त्यो सहज मामिला नभएको विद्युत् प्राधिकरण कर्णालीले जनाएको छ । 

यही ३३ केभीलाई नै अर्को रुट, सल्यानको केही भाग, जाजरकोट, रुकुम पश्चिमको चौरजहारी हुँदै डोल्पासम्म ग्रिड विस्तार गरिएको छ । लाइन जति–जति लामो हुँदै जान्छ, त्यसको भोल्टेज पनि स्वतः घट्दै जान्छ । ३३ केभी लाइन भनेपछि यो कमजोर संरचनाकै कारण सुर्खेतसम्म आइपुग्दा २५–२६ केभीमा झर्छ । त्यही लाइन मुगुदेखि डोल्पासम्म विस्तार गर्दा लाइनमा ओभर लोड हुन्छ । त्यसो हुँदा भोल्टेज स्वतः घट्छ । कर्णालीमा चैतदेखि साउनसम्म भोल्टेजमा बढी समस्या हुँदै आएको छ । 

यस्तै कैलाली चिसापानीमा रहेको ३३ केभीको लाइनलाई पश्चिम सुर्खेतको बाबियाचौर, बडीचौर हुँदै वीरेन्द्रनगरको बुद्बुदे सव–स्टेसनमा जोडिएको छ । चिसापानीको अधिक क्षेत्र पनि जङ्गलबाट आएकाले यो पनि भरपर्दो लाइन छैन । त्यस्तै माथिल्लो कर्णालीका दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुसम्मको लाइनको विकल्पका रूपमा अछामको कमल बजारदेखि दैलेखको राकम बजारसम्म ३३ केभीे लाइन जोडिएको छ । यो लाइनको अवस्था पनि राम्रो छैन । 

मासिक ५ देखि ६ लाख बत्तीकै कारण होटलको बढी खर्च आउँने गरेको बताउँछन् सिद्धार्थ होटल सुर्खेतका म्यानेजर रामकृष्ण तिमिल्सिना । यससँगै विद्युतीय सामग्रीहरू भोल्टेजकै कारण बिग्रने गरेको उनले बताए । दुई महिनाको अवधिमा चार बढी विद्युतीय सामग्री बिग्रिएको उनले बताए । विद्युत‍्कै कारण होटल सञ्चालनमा समस्या भइरहेको व्यवसायीहरू बताउँछन् ।

होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्क शाहीका अनुसार कर्णालीमा १८ हजार होटल सञ्चालनमा छन् । सबैले विद्युत‍्का कारण सास्ती खेप्नु परिरहेको छ । बत्तिकै कारण व्यवसायिले राम्रो आम्दानी गर्न नसकेको उनले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully