सरकारले आर्थिक विधेयकमार्फत संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय निकाय र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई तीन वर्षको कर तिर्दा ब्याज छुट दिने भएको छ।
काठमाडौँ — संयुक्त राष्ट्र संघ र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले गएको तीन वर्षको कर तिरे ब्याज तथा शुल्क छुट पाउने भएका छन् । सरकारले आर्थिक विधेयकमार्फत यस्तो व्यवस्था गरेको हो ।
जसअनुसार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय वा सो संघ अन्तर्गतका संस्थाहरू वा कूटनीतिक मान्यता प्राप्त अन्य जुनसुकै अन्तर्राष्ट्रिय निकाय वा विदेशी कूटनीतिक नियोगमा कार्यरत नेपाली वा नेपालमा बसोबास गरी काम गर्ने विदेशी (बासिन्दा व्यक्ति)ले गएको तीन वर्षको आयकरमा थप एक प्रतिशत थपेर भुक्तानी गरे ब्याज तथा शुल्क मिनाहा पाउने भएका हुन् । यसका लागि सरकारले २०८३ मंसिरसम्मको म्याद दिएको छ ।
आयकर ऐनअनुसार आम्दानीमा कर लाग्ने तर हालसम्म भुक्तानी नगरेको अवस्थामा व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) कार्ड लिएर आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आयमा लाग्ने आयकर र सोको एक प्रतिशतले हुने थप रकम तथा आय विवरण २०८३ साल मंसिर मसान्तसम्म भुक्तानी गर्नुपर्नेछ । यस्तो भुक्तानीमा ब्याज तथा शुल्क मिनाह हुने आर्थिक विधेयकमा उल्लेख छ । ‘त्यस्तो व्यक्तिले सोभन्दा अघिको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याजसमेत बुझाउनु पर्ने छैन,’ आर्थिक विधेयकमा भनिएको छ ।
