राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरुको राजस्व ‘मेरो कित्ता’ प्रणालीमार्फत गनुपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरु जस्तैः जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजश्व अनलाईनमार्फत् भुक्तानीका लागि मेरो कित्ता प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणालीमार्फत् गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि बैंक–बैंकबीच हुने कर्जा कारोबार अन्तरबैंक कारोबार/सापटीमा गणना गर्न नपाउने भएका छन् ।
यसरी सञ्चालित कार्यक्रमको विवरण यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा उपलब्ध गराउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।
