संसद्मा विधेयक दर्ता भएपछि त्यसमा कुनै अनधिकृत परिवर्तन नगरिएको दाबी गर्दै उनले यो विवादलाई 'चियाको कपमा तुफान' ल्याउने प्रयासको संज्ञा दिए।
What you should know
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटि सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले बजेट निर्माणका क्रममा भएका केही त्रुटिलाई लिएर अनावश्यक भ्रम सिर्जना गरिएको बताए। संसद्मा प्रस्तुत आर्थिक विधेयकमा सामान्यतया संशोधन गर्ने परम्परा नभए पनि आवश्यकता र औचित्यका आधारमा महत्वपूर्ण विषय सच्याउन सकिने उनको भनाइ थियो।
भन्सार दरसम्बन्धी विवादबारे स्पष्ट पार्दै वाग्लेले भने, 'भ्याक्सिन र रगत बोक्ने ‘क्यारियर’ झोलाहरूलाई यसअघि सुटकेस र प्लास्टिकका बाकसको श्रेणीमा राखेर ३० प्रतिशत भन्सार लगाइँदै आएको थियो । मानवीय आधारमा स्वास्थ्य सामग्रीको भन्सार घटाएर १५ प्रतिशत कायम गर्ने क्रममा प्राविधिक कारणले सुटकेसको भन्सार पनि १५ प्रतिशत नै हुन पुगेको थियो । सोही त्रुटि सच्याउन पुनः सुटकेसमा साविककै ३० प्रतिशत भन्सार कायम गरिएको हो ।'
विद्युतीय सवारीसाधनमा ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीको मूल्य नबढोस् भन्ने सरकारको नीति रहेको उल्लेख गर्दै उनले सडक निर्माण दस्तुरसम्बन्धी छुटेको व्यवस्था संशोधनमार्फत समावेश गरिएको जानकारी दिए।
त्यस्तै, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) अन्तिम उपभोक्तामा मात्र लागू हुने र उत्पादक तथा निकायबीचको कारोबारमा नलाग्ने गरी स्पष्ट पारिएको उनले बताउनुभयो। बालबालिकाको शिक्षामा गरिएको खर्चको करकट्टी तथा महानगर र उपमहानगरबाहेकका क्षेत्रमा सञ्चालन हुने चलचित्र घर र नाट्यघरलाई आयकर छुट दिने व्यवस्था पनि छुटेकाले संशोधनमार्फत समेटिएको उनको भनाइ थियो।
वाग्लेले जेठ १७ गते नै संसद् सचिवालयलाई औपचारिक रूपमा संशोधनबारे जानकारी गराइसकिएको उल्लेख गर्दै जनहितका लागि गरिएका सुधारलाई अनावश्यक रूपमा विवादित बनाइएको टिप्पणी गरे।
‘गायब १६ पाना’ विवादमा स्पष्टीकरण
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकका पाना गायब पारिएको र भन्सार दर हेरफेर गरिएको भन्ने आरोपलाई पनि अस्वीकार गरे। उनले सञ्चारमाध्यममा आएका समाचारले भ्रम सिर्जना गरेको दाबी गर्दै विधेयकको सामग्रीमा कुनै परिवर्तन नगरिएको बताए।
उनले भने, 'गत वर्ष नेकपा एमाले र नेपाली काँग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको मात्र हो । विशेष गरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको छ, जुन विशुद्ध मानवीय र प्राविधिक विषय हो ।'
पाना संख्या घटबढ भएको विषयलाई प्राविधिक पक्षसँग जोड्दै उgले थप्नुभयो,'४५७ पानाको डकुमेन्टमा १ मिलिमिटर मात्रै कोलम तन्काइदियो भने पानाको संख्या बढेर ५०० पुग्न सक्छ वा घटाउँदा घट्न सक्छ । कन्टेन्टमा एउटा थोप्लो, एउटा कमा वा पूर्णविराम पनि परिवर्तन भएको छैन ।'
संसद्मा विधेयक दर्ता भएपछि त्यसमा कुनै अनधिकृत परिवर्तन नगरिएको दाबी गर्दै उनले यो विवादलाई 'चियाको कपमा तुफान' ल्याउने प्रयासको संज्ञा दिए।
