उद्यमी भन्छन्– ‘सबै उपभोक्ताले नेपाली ब्रान्ड प्रयोग गर्ने र तिनको प्रवर्द्धन गर्ने हो भने आन्तरिक बजारसागै विश्व बजारमा पनि प्रभाव पार्न सकिन्छ’
What you should know
काठमाडौँ —
‘बालेन जुत्ता’ यहाँ पाइन्छ !
१५ जेठयता गोल्डस्टारका शोरुम एवं आउटलेटदेखि सामाजिक सञ्जालसम्म एउटा जुत्ताको चर्चा छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गोल्डस्टारको ‘आर्क सिरिज’ को जुत्ता लगाएपछि यसको चासो ह्वात्तै बढेको हो । १ हजार ५ सय रुपैयाँ एमआरपी रहेको उक्त जुत्ता खोज्दै ग्राहक बजेट भाषणको भोलिपल्टै आउटलेट पुगिरहेका भिडियोसमेत सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छन् ।
सामाजिक सञ्जालमा यसको चर्चा चुलिइरहँदा चर्चित भ्लगर तथा डेन्टिस्ट शशांक ताम्राकारले पनि जुत्ता किन्दै स्वदेशी ब्रान्डलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । टिकटकमा राखेको भिडियोमा उनले भनेका छन्, ‘वाटरप्रुफ छ । मैले सोचेको भन्दा अति नै कम्फर्टेबल छ । बालेन सरले लगाइसक्नुभएपछि हामीले पनि ट्रेन्ड फलो गर्नुपर्यो नि । १ हजार ४ सयमा जुत्ता–पाइन्ट । मेड इन नेपालसँगै लोकल बिजनेसलाई पनि सपोर्ट गर्नुपर्छ ।’
गोल्डस्टारका आउटलेटमा ‘बालेनले लगाएको जुत्ता’ भन्दै ग्राहकलाई जानकारी दिने क्रमसमेत बढेको छ ।
केही दिनअघि गोल्डस्टार शोरुम चाबहिलको टिकटक आईडीबाट पोस्ट भएको भिडियोमा ‘कम्पनीसँग स्टक नभए पनि आफूसँग रहेको’ बताइएको छ । भिडियोमा भनिएको छ, ‘कम्पनीले सोल्डआउट गरिसकेको छ । कम्पनीसँग स्टक छैन । तर हामीसँग स्टक छ । १ हजार ४ सय रुपैयाँ मात्रै हो । देशभर डेलिभरी हुन्छ ।’
आगामी आर्थिक वर्षको बजेट भाषणलगत्तै बाहिरिँदै गर्दा प्रधानमन्त्री शाहले आफूले गोल्डस्टारको जुत्ता लगाएको भन्दै देखाएको गोल्डस्टार स्ट्रायड लिमिटेडकी कार्यकारी निर्देशक एवं सांसद विदुषी राणाको भनाइ छ । ‘मैले प्रधानमन्त्रीज्यूलाई लगाउन भनेकी होइन, संयोगवश हो,’ उनले भनिन्, ‘उहाँ आफैंले गोल्डस्टार लगाएको भन्दै देखाउनुभयो । मैले सोचेकी पनि थिइनँ । भावुक पनि भएँ ।’
गोल्डस्टारको जुत्ता लगाएर प्रधानमन्त्रीले आफ्नो कम्पनीलाई मात्र नभई मुलुकका स्वदेशी फुटवेयर उद्योगलाई नै सम्मान गरेको समेत राणाले जनाइन् । ‘प्रधानमन्त्रीज्यू गोल्डस्टार लगाएर सदनमा जानु मेरा लागि गर्वको कुरा हो, सबै स्वदेशी उद्योगलाई सम्मान पनि हो,’ उनले भनिन् ।
चालु आर्थिक वर्षको १० महिनामा निर्यात भयो २ अर्ब ५५ करोड १५ लाख रुपैयाँको जुत्ता–चप्पल।फ्याक्ट्रीमा भएको सबै सेतो स्निकर बजारमा पठाइसकेको राणाले बताइन् । ‘फ्याक्ट्रीमा भएका सबै सेता जुत्ता बजारमा पठाइसक्यौं । बजारबाट बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘प्रतिक्रिया राम्रो पाइरहेका छौं । मागअनुसार उत्पादन बढाउन भनिरहेका छौं ।’
प्रधानमन्त्री शाहले गोल्डस्टारको जुत्ता लगाएपछि उक्त कम्पनी मात्र नभई समग्र फुटवेयर उद्योगी नै उत्साहित देखिएका छन् । सरकारले चोरी पैठारी, न्यून बीजकीकरण र कच्चा पदार्थमा सहुलियत दर लगाउने हो भने केही वर्षमै मुलुक फुटवेयरमा आत्मनिर्भर बन्न सक्ने राणाको भनाइ छ । सबैभन्दा बढी चोरीपैठारी भएका जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्नुपरेको उद्यमीहरूको गुनासो छ ।
चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ५५ करोड १५ लाख २८ हजार रुपैयाँको जुत्ता–चप्पल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड २७ लाख २९ रुपैयाँको निर्यात भएको थियो । केन्द्रका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६९.७९ प्रतिशतले बढेको छ ।
साढे २ अर्ब रुपैयाँको जुत्ता–चप्पल निर्यात हुँदा चालु आर्थिक वर्षको १० महिनामा यस्तो सामग्री ७ अर्ब ९५ करोड रुपैयाँको आयात भएको केन्द्रको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात भने सामान्य घटेको देखिन्छ । गत आर्थिक वर्षको १० महिनामा ८ अर्ब ३ करोड रुपैयाँको जुत्ता–चप्पल आयात भएको थियो ।
‘क्यालिबर’ ब्रान्डको फुटवेयर उत्पादक ‘केडी सुज इन्डस्ट्रिज’ का निर्देशक तथा संस्थापक प्रसन्न गौतमले पनि प्रधानमन्त्रीले नेपाली ब्रान्डको जुत्ता लगाएपछि सकारात्मक प्रभाव बढेको बताए । ‘प्रधानमन्त्रीज्यूले जुत्ता लगाएर गोल्डस्टारको मात्रै विज्ञापन भयो । अरू ब्रान्ड पनि छन्,’ उनले भने, ‘तिनको पनि सेल्समा राम्रो इन्फ्लुएन्स भएको छ ।’
प्रधानमन्त्री शाहले नेपाली ब्रान्ड फुटवेयर लगाएपछि समग्र नेपाली ब्रान्डलाई नै राम्रो भएको गौतमको बुझाइ छ । ‘गोल्डस्टारको जुत्ता बिक्यो, क्यालिबरलगायत नेपाली ब्रान्डको व्यापारमा असर पर्यो होला, व्यापार भएन भन्ने होला,’ उनले भने, ‘तर त्यसले गर्दा समग्र नेपाली ब्रान्डलाई नै राम्रो भएको देखें ।’ ‘फुल ह्वाइट स्निकर नेपालमा म्यानुफ्याक्चरिङ गर्नेमा सायद हामी नै पहिलो हौं,’ उनले भने ।
उद्यमी भन्छन्– ‘सबै उपभोक्ताले नेपाली ब्रान्ड प्रयोग गर्ने र तिनको प्रवर्द्धन गर्ने हो भने आन्तरिक बजारसागै विश्व बजारमा पनि प्रभाव पार्न सकिन्छ’ ।प्रधानमन्त्री शाहले जसरी सबै उपभोक्ताले नेपाली ब्रान्ड नै प्रयोग गर्ने र तिनको प्रवर्द्धन गर्ने हो भने आन्तरिक बजारसँगै विश्व बजारमा पनि प्रभाव पार्न सकिन्छ भन्ने आशा जागेको गौतमले बताए । ‘सुरुमा त अब आफ्नो देशबाटै सपोर्ट आउनुपर्यो । हामी सुरुमा स्वदेशमै आत्मनिर्भर हुनुपर्छ । त्यसपछि विश्व बजारमा लाग्नुपर्छ,’ उनले भने ।
क्यालिबरले दुबईमा मासिक ५ देखि ६ सय जोरसम्म र नेपाली बजारमा दिनको १२ सय जोरसम्म बिक्री गरिरहेको गौतमले जनाए । माग बढ्दो रहे पनि दक्ष जनशक्तिको अभाव रहेको उनको भनाइ छ । देशभर ७२ शोरुममार्फत क्यालिबरका उत्पादन बिक्रीवितरण भइरहेको उनले बताए ।
पछिल्लो केही समयदेखि चोरीपैठारी, रेप्लिकालगायत जुत्ता–चप्पल भित्रिने क्रममा केही कमी आएको गौतमको भनाइ छ । यस्ता जुत्ता–चप्पल कम भित्रने हो भने सहज हुने उनले जनाए ।
क्यालिबरका उपभोक्तालाई उत्पादन बेच्ने मात्र नभई आफ्नो कम्पनी, कच्चा पदार्थलगायतबारे जानकारी गराउने उद्देश्यले शोरुम अवधारणा अघि सारिएको उनले प्रस्ट्याए ।
प्रायः मानिसले नक्कली ब्रान्डका जुत्ता लगाउनुभन्दा नेपाली ब्रान्ड नै प्रयोग गर्ने गरेको गौतमको अनुभव छ । तर २५ वर्षभन्दा कम उमेरका युवाले नक्कली नै भए पनि नाइकी, एडिडासजस्ता ब्रान्डका लोगो अंकित जुत्ता नै लगाउन खोज्ने उनको अनुभव छ । ‘भविष्य भनेकै युवा हुन्, अहिलेदेखि नै उनीहरूलाई नेपाली ब्रान्डका जुत्ता लगाउने वातावरण बनाउनुपर्छ,’ गौतमले भने ।
चोरीपैठारी र ब्रान्डेड कम्पनीका नक्कली लोगो अंकित जुत्ता आयात रोक्न सके मुलुक फुटवेयरमा आत्मनिर्भर बन्ने गौतमको भनाइ छ ।
जुत्ता–चप्पल उद्योगलाई आवश्यक कच्चा पदार्थमा कर घटाउन सके अझै उचित मूल्यमा राम्रो क्वालिटीको सामान बनाउन सकिने गौतम बताउँछन् । ‘त्यसो हुने सके सेल्स अझै बढ्न सक्छ,’ उनले भने, ‘सब्सिडाइज नै गर्नुपर्ने देखिन्छ । फेसनेबल जुत्ता मात्र बनाएर आत्मनिर्भर नहुने र आधारभूत आवश्यकता, गुणस्तर टिकाउलगायतमा ध्यान दिनुपर्ने उनको बुझाइ छ ।
मुलुकमा वार्षिक १० करोड जोडी जुत्ता–चप्पल खपत हुने गरेको जुत्ता उत्पादक संघ नेपालको तथ्यांक छ । त्यसमध्ये साढे ८ करोड जोडी नेपालमै उत्पादित ब्रान्ड रहेको र बाँकी आयातित जुत्ता खपत हुने संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले जनाए । यस वर्ष ८० लाख जोर जुत्ता निर्यात हुने उनको अनुमान छ । ‘विश्व बजारमा चलेका र ग्राहकले चाहने जुत्ता–चप्पल औपचारिक बजारबाट १० प्रतिशतसम्म आयात गर्नैपर्छ । नत्र बजारमा स्वदेशीको एकाधिकार हुन्छ । कार्टेलिङ हुन दिनु हुँदैन । प्रतिस्पर्धी बनाउँछ,’ न्यौपानेले भने, ‘मुलुकको मागको ९० प्रतिशत आन्तरिक रूपमै उत्पादन गरी आत्मनिर्भर बनाउन सक्छौं । त्यो पनि यही वर्ष बन्न सम्भव छ ।’
जुत्ता–चप्पल उद्योगलाई वर्गीकरण गर्न नसकिएको समेत न्यौपानेले स्विकारे । ‘१० जोडी घरमै बनाउनेदेखि अर्बौं लगानी गरी ठूला फ्याक्ट्री नै राख्नेसम्म छन्, दर्जनौं ठूला उद्योग छन् भने साना पनि उस्तै छन्,’ उनले भने, ‘आयातभन्दा बढी निर्यात गर्न सके हामीले आत्मनिर्भर भयौं भनेर घोषणा गरिसक्थ्यौं ।’
