पर्यटकका पहिलो रोजाइमा गाउँका रिसोर्ट र ‘होमस्टे’

पाल्पाका गाउँमा खुलेका रिसोर्ट र होमस्टेमा शनिबार र आइतबार बिदा पर्न थालेपछि आन्तरिक तथा भारतीय पर्यटकको उल्लेख्य भीड देखिएको छ ।

जेष्ठ २५, २०८३

माधव अर्याल

Village resorts and homestays are the first choice of tourists

What you should know

पाल्पा — पछिल्लो समय सहरी कोलाहलभन्दा शान्त वातावरणमा खुलेका गाउँका रिसोर्ट र ‘होमस्टे’ खोज्दै पुग्नेको संख्या ह्वात्तै बढेको छ । तराईबाट नजिक रहेको पाल्पाको तानसेन र आसपासका रिसोर्ट तथा ‘होमस्टे’मा गर्मी लाग्नासाथ भिडभाड बढेको हो ।

अझ पछिल्लो समय सरकारले शनिबार र आइतबार बिदा दिएपछि झन् आन्तरिक पर्यटक दुई दिन शान्त वातावरण खोज्दै रिसोर्ट र होमस्टे पुग्ने गरेको पाइएको छ । गाउँको कला, संस्कृति, स्थानीय खानाका परिकार, डाँडाकाँडाको रमाइलो वातावरणले पनि मन लोभ्याउने गरेको छ ।

शान्त वातावरणमा ग्रामीण भेगमा खुलेका रिसोर्टमा पछिल्लो समय भारतीय पर्यटकको समेत रोजाइ परेको सञ्चालकहरू बताउँछन् ।

‘उखरमाउलो गर्मीमा दैनिक काम गर्दा दिक्क लागेपछि नजिकको गन्तव्य खोज्दै आएको हुँ,’ सित्तल फार्म रिसोर्ट, तानसेन–१, ध्रुवघाटमा भेटिएका रुपन्देही भैरहवाका कमलेश यादवले भने, ‘पहाडमा आएर शीतल हावा पाउँदा निकै आनन्द आएको छ ।’

परिवारसहित आएका उनले सहरी कोलाहलमा बस्नुभन्दा केही टाढा शान्त वातावरणमा बस्न मज्जा लागेको बताए । उनले भैरहवाबाट ६० किलोमिटरमै यति शीतल हावापानी पाइन्छ भन्ने धेरैलाई थाहा नभएको पनि सुनाए । धेरैले थाहा नपाएर पनि पहाडका रिसोर्ट तथा ‘होमस्टे’मा नआएका हुन् । सबैको पहुँच इन्टरनेटमा हुँदैन, भए पनि थाहा हुँदैन ।

Village resorts and homestays are the first choice of tourists

हुन त पाल्पामा भारतीय पर्यटकको भीड पनि दुई–तीन वर्षयता निकै बढेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासीका आन्तरिक पर्यटक पनि पाल्पाका गाउँका रिसोर्ट तथा ‘होमस्टे’मा बस्न आउने गरेका छन् ।

‘गर्मी अनि भिडभाडमा बसेकाहरूलाई गाउँघरमा आउँदा छुट्टै आनन्द आएको छ,’ कपिलवस्तुबाट रानीवास सामुदायिक होमस्टे, रम्भा गाउँपालिका–२, फोक्सिङकोट आएकी तारा पौडेलले भनिन्, ‘कला, संस्कृति र स्थानीय स्वादले पनि सबैलाई लोभ्याउने रहेछ ।’ ३५ जनाको समूहमा आएको बताउँदै उनले सबै जना रमाएको बताइन् ।

पाल्पामा होटल तथा रेस्टुरेन्ट सयभन्दा बढी छन् । पाल्पा होटल एसोसिएसन अफ नेपालमा आबद्ध भने १५ वटा मात्र छन् । तर प्रायः सबै होटलमा आन्तरिक तथा भारतीय पर्यटकको भिडभाड नभएको होइन । तैपनि गाउँका रिसोर्ट र ‘होमस्टे’मा नअटेका पाहुना मात्र होटलले पाउने गरेका छन् । ‘घुम्न हिँड्नेहरू पनि फरक–फरक रोजाइका हुन्छन्,’ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले भने, ‘कोही गाउँका रिसोर्ट र कतिपय होमस्टे भन्ने गर्छन्, तर टाढा जान नसक्नेहरूका लागि हिलस्टेसन तानसेन पनि निकै रमाइलो मान्ने गर्छन् ।’

डाँडामा बसेको सहर भएर पनि तानसेनलाई ग्रामीण भेगजस्तै मान्ने गरेको उनको अनुभव छ । घुम्नलायक पर्यटकीय स्थलमध्ये पाल्पाको तानसेन र नजिकका गाउँबस्ती पुग्ने गर्छन् । घुम्न निस्केकाहरूले पहिले होमस्टे र पछि मात्र होटल खोज्ने गरेको पाइएको छ । पछिल्लो समयमा तानसेन बजारका होटलका साथै नजिकमा सञ्चालन भएका रिसोर्टहरूमा अहिले भरिभराउ नै छ । ‘हाम्रोमा प्रायः नेपालीले भरिएको हुन्छ,’ तानसेन–१, ध्रुवघाटस्थित सित्तल फार्मका प्रोप्राइटर रमेश कार्की भन्छन्, ‘२० प्रतिशत भारतीय होलान्, बाँकी बुटवल र भैरहवाबाट आउने नै छन् ।’ उनको रिसोर्ट तानसेन बजारदेखि ४ किलोमिटर टाढा ग्रामीण बस्तीमा छ ।

Village resorts and homestays are the first choice of tourists

गर्मी याममा अन्य दिनभन्दा बिदाका दिनमा ५० बढीलाई राख्न नसकेको अनुभव उनले सुनाए । ‘तराईबाट नजिकै भएर पनि होला, निकै मन पराउनुभएको छ,’ उनले भने, ‘शान्त वातावरण अनि खुला स्थान देखेपछि एकले अर्कोलाई भन्नुहुन्छ अनि आउनेको संख्या पनि बढेको छ ।’ हाम्रो वेबसाइटभन्दा ‘एकले अर्कोलाई’ भनेको आधारमा पाहुना आउने गरेको कार्कीले बताए । समूहमा आउने हो भने १ सय १० जनासम्म आफ्नो रिसोर्टमा राख्न सक्ने क्षमता रहेको उनले बताए । पारिवारिक घुमघामका लागि आउनेहरू भने ६० जना मात्र राख्ने गरेको उनले बताए ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीस्थित सिर्जना फार्म रिसोर्टमा पनि गर्मी सुरु भएपछि अत्यधिक भीड बढ्छ । तर यहाँ अनुसन्धान वा घुमघामका हिसाबले वर्षभरि नै बिदाको समयमा भीड बढ्छ । शुक्रबार, शनिबार र आइतबार बढी भीड लाग्ने फार्म रिसोर्टका प्रबन्धक विष्णु अधिकारीले बताए । उनका अनुसार १४ वटा कटेजसहितका कोठा भए पनि सातामा दुई–तीन दिनका लागि बुक हुने गरेका छन् । नेपाली नागरिक शुक्रबार र शनिबार तथा भारतीयहरू आइतबार आउने गर्छन् । यहाँ शान्त वातावरण र पुरानो घरलाई आधुनिकताअनुसारको कोठामा रूपान्तरण गरिएको छ । कम्तीमा ४० जना राख्न सक्ने क्षमता रहेको छ । भारतीयहरूले मन पराउने भएकाले ५० प्रतिशत उनीहरूले बुक गर्छन् । ‘एक व्यक्तिले अर्का व्यक्तिलाई जानकारी दिएपछि आउने धेरै रहेका छन्,’ उनले भने, ‘यसले गर्दा भिडभाड बढी नै हुन्छ ।’ सदरमुकाम तानसेनदेखि १३ किलोमिटर टाढा भए पनि खोज्दै पुग्ने गर्छन् ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीको हिरापोखरामा रहेको सिर्जना फार्म बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँले परिवेशमा गाउँकै शैलीमा खान बस्न पाइने भएकाले पहिलो रोजाइ पर्ने गरेको अधिकारीले बताए । पहाडका गाउँमा जसरी दाउरा बालेर पकाएको खाना खानेदेखि घरेलु काममा रमाउनसमेत पाइन्छ । भिरालो पाखामा डोको बोकेर घाँस दाउरा गर्न, ढिकी–जाँतोमा कुटानी पिसानी गर्न, तरकारीमा गोडमेलदेखि खेतीपातीका अरू धेरै काम गरेको देख्दा धेरै अचम्मित हुने प्रबन्धक अधिकारीले बताए । ‘युवा पुस्ताको सामूहिक लगानी रहेको छ,’ उनले भने, ‘साथीभाइ मिलेर रहरैरहरमा सञ्चालन गरेको फार्म अहिले सबैको रोजाइ बनेको जस्तो लाग्छ ।’

Village resorts and homestays are the first choice of tourists

२०६८ सालमा सुरु भएको सिर्जना फार्ममा अहिले पनि बाख्रा पालन र तरकारी खेती गरिन्छ । बोयर बाख्राको कृत्रिम गर्भाधान यहीँबाट भित्रिएको हो । अर्ग्यानिक तरकारी, मौसमी फलफूलदेखि लिएर कुखुरा, खसीबोकाको मासु, गाईभैंसीको दूधबाट बन्ने परिकारहरू बनाई आगन्तुक पाहुनालाई खुवाउने गरिन्छ । गाउँले जीवनमा रमाउन चाहनेहरू लामो समय बस्ने गरी आउने उनले बताए । कामको थकानले आजित भएका आन्तरिक पर्यटक फार्म आउने गर्छन् ।

सिद्धार्थ राजमार्गबाट तिनाउ गाउँपालिका–६, डुम्रेबाट तीन किलोमिटर देउरालीमा रहेको गाउँको घर (इको फार्म हाउस) मा पुग्नेको भीड नै लाग्छ । यसका सञ्चालक बुटवल उपमहानगरपालिका–८ का समुन्द्र घिमिरे क्षेत्रीका अनुसार पछिल्लो समयमा दैनिक ३० जनाभन्दा बढी पाहुना फर्काउनु परेको छ । ‘बिदाका दिनमा अझ बढी फर्काउनुपर्छ,’ उनले भने, ‘हाम्रो क्षमता थोरै भयो, तर हामीलाई मन पराएर आउने धेरै हुनुभयो ।’ सुरुमा ५० लाख लगानी गरेर वातावरणमैत्री घर बनाइएको हो । १७ रोपनी क्षेत्रफलमा काठको घर छ । घरमा काठका भाँडा र पुराना उपकरणहरू राखिएका छन् ।

गाउँले परिवेश तयार गरिएकाले एक पटक आउनेहरूलाई आनन्द मिल्ने वातावरण रहेको भन्दै पुनः आउने गरेको उनले बताए । पाखोबारीमा कफी, कागती र तरकारी रोपिएका छन् । वातावरणमैत्री भएकाले धेरैको रोजाइ बन्ने गरेको छ । बास बस्नका लागि नेपाली सत्कार झल्किने नमस्ते डिजाइनका वासस्थान बनाइएको छ । प्याकेजमा ३ हजार ५ सय रुपैयाँमा छुट्टै कोठासहित खाना र खाजाको व्यवस्था छ । प्याकेजबाहेक गाउँले स्वादका लागि मेनुअनुसार परिकार पस्किने गरिन्छ । कोदो, फापर, सिस्नो, लोकल कुखुरा, हाँस, लोकल आलु, हरियो तरकारी, दही, मही, दूध, माछा आदि पाइने भएकाले एकले अर्कोलाई सुनाउने हुँदा पाहुनामा कमी छैन ।

यहाँका हरेक ढुंगा र हरेक काठमा केही न केही सन्देश लेखिएको देखिन्छ । ती ढुंगामा ‘से नो टु ड्रग्स’, ‘शान्ति प्राप्तिका लागि प्रकृति’, ‘कति बस्छौ साथी युरोप अनि खाडीमा, सम्भावना खोजौँ आफ्नै देशको खेत अनि बारीमा’ जस्ता सन्देश लेखिएका छन् । तानसेन बजारदेखि ९ किलोमिटर टाढाको जङ्गी अड्डा रिसोर्ट पनि बुटवल, भैरहवाका युवा मात्र होइन, भारतीय पर्यटकको रोजाइमा परेको छ । तानसेन–तम्घास सडकदेखि करिब डेढ किलोमिटर भित्र रहेको जङ्गी अड्डामा १७ वटा कोठा छन् । धेरै पाहुना हुँदा र रोजाइअनुसार टेन्टको पनि व्यवस्था रहेको यसका सञ्चालक विकास पौडेलले बताए ।

उनका अनुसार शुक्रबार, शनिबार र आइतबार पाहुनालाई राख्न नसकिने अवस्था आउने गरेको छ । तराईको गर्मी र सहर बजारको कोलाहलबाट मुक्त हुन यहाँ आउने गर्छन् । करिब तीन करोड लगानी रहेको यस रिसोर्टमा नेपाली तथा भारतीयहरू दोहोरिएर आउने गर्छन् । ‘हामीलाई माया गर्नेहरूले साथीभाइलाई भन्नुहुने रहेछ,’ उनले भने, ‘वेबसाइटबाट बुक गरेर आउनेभन्दा साथीभाइले लोकेसन दिएर आउने बढी हुन्छन् । यसबाट पनि हामीलाई राम्रै भएको छ ।’ पछिल्लो समयमा गाउँमा खुलेका रिसोर्टमा पुग्ने र शान्त वातावरणमा बस्ने संस्कृति नै बढेको जस्तो लाग्ने उनले बताए । सुरुमा युवाको रोजाइ थियो भने पछिल्लो समयमा सबैका लागि उपयुक्त हुने खालका कोठा र खानाका परिकार उपलब्ध गराउने गरिएको छ ।

गाउँका रिसोर्ट मात्र होइन, नजिकका होमस्टेमा आˆनै मौलिक संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका खाजा–खानाको व्यवस्था, सरसफाइ तथा मौलिक दृश्यावलोकनका लागि पनि पुग्ने गर्छन् । रम्भा गाउँपालिका–२, फोक्सिङकोटको रानीवास तथा पूर्वखोला गाउँपालिका–२, जल्पाको ढोलीमारा होमस्टेमा १५ दिनसम्म अग्रिम बुकिङ हुन थालेका छन् । हुन त पाल्पामा तानसेन नगरपालिकाको बौघागुम्हा र छापगाउँ, तिनाउको जन्तीलुङ, माथागढीको ओलेस र निस्दीको खाँदरमा पनि होमस्टे छन् । तर अन्यत्रभन्दा रानीवास र ढोलीमारा होमस्टेमा आन्तरिक पर्यटकको रोजाइ बढेको छ । एक पटक आउने पर्यटकले खानपिन, सरसफाइ र मौलिक संस्कृति राम्रो रहेको बताएपछि पर्यटकले मन पराएका हुन् ।

पहिलो पटक जल्पाको ढोलीमारा पुगेकाहरू प्रकृति र संस्कृतिमा रमाउने गरेको होमस्टे सञ्चालक चित्रबहादुर कँवरले बताए । गाउँबाट १५ मिनेटको उकालो हिँडेर पुगिने चुलीडाँडाबाट प्राकृतिक दृश्यावलोकनमा भुल्ने गरेको उनले बताए । ‘ढोलीमारा गाउँ अनि चुलीडाँडा साँच्चिकै गज्जबको ठाउँ रहेछ,’ रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बाट आएका जीवन अधिकारीले भने, ‘हिमाल–पहाड जतासुकैबाट देखिने भएकाले निकै रमाइलो लाग्यो ।’

Village resorts and homestays are the first choice of tourists

पहाड मात्र होइन, तल्लो भेगमा तराई र हिमालको लामो भाग देखिने उनले बताए । प्राकृतिक सौन्दर्यतालाई प्रदर्शन गर्न ढोलीमाराको चुलीडाँडालाई पर्यटकीय स्थल बनाइएको होमस्टे सञ्चालक पहलसिंह घर्तीले बताए । वनमाराले ढाकेको डाँडालाई अहिले उनीहरूले कबुलियती वन बनाएर अम्रिसो र तेजपातले ढाकेका छन् । पूर्वतर्फ ठूलो पहाड छ । पश्चिममा तानसेन लगायत डोल्पासम्मको दृश्यावलोकन गर्न सकिने वडाध्यक्ष नीरबहादुर सारुले बताए । यहाँको होमस्टेमा पुग्नेहरू चुलीडाँडामा पुगेर प्राकृतिक दृश्यावलोकनमा रमाउने गर्छन् । ‘पछिल्लो समयमा होमस्टे आकर्षक बनेको छ,’ उनले भने, ‘५० जनाको क्षमता भए पनि सयभन्दा बढीलाई व्यवस्थापन गरेको पाएको छु ।’

जंगली जनावर हरिण, मृग, घोरल लगायतलाई नजिकबाट हेर्न सकिन्छ । जल्पाको ढोलीमारा र साकिनेमा प्राकृतिक रूपमा बनेका दुई गुफा छन् । यहाँभित्र ५० जनाभन्दा बढी अटाउने समथर ठाउँ छ । होमस्टे आउनेलाई गुफा हेर्न सकिने बताउने गरेका छन् । तानसेनबाट ४० किलोमिटर पूर्वमा पर्ने ढोलीमारामा पुग्नेहरूको संख्या बढेको छ ।रम्भा गाउँपालिका–२, फोक्सिङकोटको रानीवास सामुदायिक होमस्टेमा एक साताअघिदेखि नै अकुपेन्सी सतप्रतिशत हुने गरेको छ ।

होमस्टे सञ्चालनको छोटो समयमै पर्यटकहरूको लर्को लाग्न थालेपछि स्थानीय अचम्म परेका छन् । स्थानीय कोदोको रोटी र ढिँडो, भटमास, मकैको रोटी, लोकल कुखुराको मासुसहितको खाना, झाम्रे, सालैजो, मारुनी नाच लगायतको स्थानीय संस्कृति, आत्मीय सम्मान र आदर तथा प्राकृतिक सौन्दर्यताले पर्यटकलाई तान्ने गरेको होमस्टे सञ्चालक भोवीसरा सारुले बताइन् ।

उनका अनुसार प्राकृतिक सौन्दर्य र यहाँको हावापानीले सबैको मन जितेको छ । वर्षैभर पर्यटक आउन थालेपछि स्थानीयको दैनिकी फेरिएको छ । ‘पाहुना स्वागत र सत्कार, कोठा व्यवस्थापन र सरसफाइ, फूलमाला उन्ने र सिंगार गर्ने काममा व्यस्त हुनुपरेको छ,’ स्थानीय होमस्टे सञ्चालक देउकुमारी सारुले भनिन्, ‘होमस्टेमा बेलुकीको खाजा, मासुसहितको खाना, सुताइ र बिहानको खाजाका लागि एक हजार रुपैयाँको प्याकेज भएकाले पनि आकर्षण बढेको छ ।’

१५ जनाभन्दा बढीको समूहलाई पञ्चेबाजा र झाम्रे गीतबाट स्वागत गरिने तथा अर्डरअनुसार थप मासुको व्यवस्था गरिने होमस्टे सञ्चालक वीरबहादुर गुरुङले बताए । उत्तर फर्किएको रानीवास गाउँ समुद्रीसतहदेखि करिब १ हजार ३०० मिटर उचाइमा छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully