सिँचाइ सुविधा पुगेको र बिस्तारै पानी पनि पर्न थालेसँगै किसानले धान रोपाइँ सुरु गरेका हुन् ।
What you should know
लमजुङ — लमजुङका ग्रामीण भेगमा धान रोपाइँ सुरु भएको छ । क्व्होलासोथार गाउँपालिका–४, भुजुङको घिम्चेफाँट, वडा नं ५, सिङ्दीको तम्रखेतका साथै मर्स्याङ्दी गाउँपालिका–५, घेर्मुफाँटमा किसानले धान रोपाइँ थालेका हुन् ।
सिँचाइ सुविधा पुगेको र पानी पनि पर्न थालेसँगै किसानले धान रोपाइँ सुरु गरेका हुन् । भुजुङका यमबहादुर गुरुङले घिम्चेफाँटमा शनिबारदेखि धान रोपाइँ सुरु भएको बताए । उनका अनुसार गाउँलेले तामरे (ताक्मरे) प्रजातिको धान रोप्न थालेका छन् । स्थानीय जातको ताक्मरे धान भुजुङमा मात्र खेती गर्ने गरिएको गाउँलेको दाबी छ । स्थानीय तुलबहादुर गुरुङका अनुसार घिम्चे खेतमा सिँचाइको व्यवस्था रहेकाले जेठ अन्तिमसम्म आधाभन्दा बढी खेतमा धान रोपिसकिन्छ ।
क्व्होलासोथार गाउँपालिका–५ का वडाध्यक्ष गीतबहादुर गुरुङले सिङ्दीमा आइतबारदेखि रोपाइँ सुरु भएको बताए । सोमबारदेखि धमाधम रोपाइँ भइरहेको छ । स्थानीय वर्तमाया गुरुङले गाउँमा रोपाइँ सुरु भएको र सामूहिक रूपमा धान रोपाइँ थालिएको बताइन् ।
घेर्मुफाँटकी धनकुमारी गुरुङका अनुसार सोमबारदेखि घेर्मुफाँटमा धान रोपाइँ सुरु भएको छ । गाउँले किसान सबै जना जुटेर धान रोप्न थालेको उनले बताइन् । स्थानीय बिर्ख गुरुङले घेर्मुफाँटका लागि सिँचाइको व्यवस्था रहेको र पछिल्ला दिनमा पानी पनि पर्न थालेकाले पानीको अभाव नभएको बताए ।
उनका अनुसार घेर्मुफाँटमा मार्सी र केही हाइब्रिड धान रोप्न थालिएको छ । यहाँ जौधान, गोरीलगायत स्थानीय जातको धान पनि खेती गरिँदै आएको छ । पछिल्ला वर्षमा हाइब्रिड धान रोप्ने क्रम बढेको मर्स्याङ्दी गाउँपालिका–५ का वडाध्यक्ष घनश्याम घलेले बताए ।
लमजुङको भुजुङभन्दा माथि यस क्षेत्रमा बस्ती छैन । घेर्मुभन्दा माथि गाउँ र खेत भए पनि धानबाली नहुने स्थानीय किसान बताउँछन् । घेर्मुफाँटमा धान रोप्न थालेपछि तल्लो क्षेत्रका बाहुनडाँडा, भुलभुलेलगायत स्थानमा पनि धान रोपाइँ सुरु हुने गर्छ । पश्चिमोत्तर क्षेत्रमा भुजुङ र उत्तरी क्षेत्रमा घेर्मुमा धान रोपाइँ सुरु भएपछि लमजुङका तल्लो क्षेत्रमा रोपाइँको चहलपहल बढ्छ ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार घिम्चेफाँटमा धान रोपिसकेपछि तल्ह्यु, राम्चे, कौंदी, किज्गुँलगायत स्थानमा धान रोप्ने गरिन्छ । मकै खेती नगरिने घिम्चे फाँटमा सुरुमै धान रोप्ने चलन रहेको उनले बताए । यहाँका अन्य फाँटमा भने असारमा मकै भाँचेर धान रोपाइँ गरिन्छ ।
‘भुजुङको घिम्चेमा लगाएको धान असोजमै भित्र्याइन्छ । त्यसपछि उक्त स्थानमा गाईभैंसीका गोठ ल्याएर राखिन्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गोठहरू बिस्तारै अन्य फाँट तथा स्वाँरातर्फ सरेपछि गहुँ, जौलगायत बाली लगाइन्छ ।’
कृषि विकास कार्यालय लमजुङका कृषिविज्ञ मदन रेग्मीका अनुसार लमजुङका लेकाली क्षेत्रमा, जहाँ पर्याप्त चिस्यान छ, त्यहाँ धान रोपाइँ सुरु भइसकेको छ । चिस्यान र सिँचाइ पुगेका स्थानमा रोपाइँ सुरु भएको र बिस्तारै तल्लो क्षेत्रमा पनि रोपाइँ हुने उनले बताए ।
कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८ सय १९ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यसमध्ये ४५ हजार ५० हेक्टरमा खेती गरिन्छ । गत आर्थिक वर्षमा ९ हजार २ सय ९९ हेक्टरमा धान रोपाइँ हुँदा ३५ हजार ३ सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष ८२ हेक्टरमा चैते धान रोपिएको र त्यसको उत्पादनबारे तथ्यांक आउन बाँकी रहेको रेग्मीले बताए ।
लमजुङका राइनासटार, धमिलिकुवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेंसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायतका ठूला फाँटमा बढी धान खेती हुने गरेको छ ।
ग्रामीण भेगमा स्थानीय जातका धान रोपिँदै आए पनि तल्लो क्षेत्रका फाँटमा रामधान, सुनौलो सुगन्ध, सुख्खा–२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायत उन्नत जातका धान लगाइँदै आएको छ । यस्तै लोकनाथ, गोरखनाथ, यूएस–३१२, मकवानपुर, वर्षे–३००४, मनसुलीलगायतका हाइब्रिड जातका धान पनि खेती गरिन्छ । पानी कम हुने क्षेत्रमा किसानले सुख्खा–१, सुख्खा–२ र सुख्खा–३ जातका धान लगाउने गरेका छन् ।
