दराजले किन क्षेत्रीय रूपमै कर्मचारी कटौती गर्दै छ ?

सञ्चालन खर्च घटाउन र कम्पनीलाई चुस्त बनाउन एआईमा लगानी बढाएर ठूलो संख्यामा कर्मचारी कटौती गर्दै विश्वका ठूला प्रविधि कम्पनी।

जेष्ठ २४, २०८३

सजना बराल

Why is Daraz laying off staff regionally?

What you should know

काठमाडौँ — ई–कमर्स प्लाटफर्म दराज नेपालले दर्जनौं कर्मचारी कटौती गरेको छ । पछिल्लो दुई सातामा ३० जना कर्मचारी ‘लेअफ’ (कटौती) मा परेका छन् । कम्पनीले यसलाई ‘नेतृत्व हस्तान्तरण योजना’ भने पनि यो क्षेत्रीय कर्मचारी कटौतीको हिस्सा भएको बुझिएको छ ।

दराज समूहले समग्र दक्षिण एसियाली बजारमा आफ्नो संरचना छरितो बनाउन यो कदम चालेको बताउँदै आएको छ । पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीले आफ्नो सञ्चालन खर्च घटाउन र कम्पनीलाई चुस्त बनाउन भन्दै एआईमा लगानी बढाएर ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेका छन् ।

दराज नेपालले कर्मचारी घटाएसँगै कम्पनीकी प्रबन्ध निर्देशक आँचल कुँवरले पदबाट राजीनामा दिएकी छन् । उनी आगामी १७ असारदेखि पदबाट बाहिरिनेछिन् । त्यसपछि उनले १६ पुससम्म सल्लाहकारका रूपमा काम गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुँवरको स्थानमा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीले कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । रतिश लुइँटेललाई मुख्य व्यावसायिक अधिकृत (सीसीओ) मा नियुक्त गरिएको छ ।

कुँवरको साढे चारवर्षे कार्यकालमा व्यवसाय दोब्बर भएको र ग्राहक संख्या ३० लाख नाघेको विज्ञप्तिमा उल्लेख छ । ‘जब म नेपाल फर्किएँ । मेरो उद्देश्य एउटा व्यवसाय विस्तार गर्नु मात्र थिएन,’ आफ्नो कार्यकालका विषयमा आँचलले भनेकी छन्, ‘सक्षम संस्था, सबल नेतृत्व र नेपालका लागि बलियो डिजिटल इकोसिस्टम बनाउनु थियो । दराजमा रहेर मैले सहकर्मीहरूसँगको साथमा हासिल गरेका उपलब्धिप्रति गर्व लागेको छ ।’

पछिल्लो दुई सातामा दराज नेपालबाट २५ देखि ३० जना कर्मचारी हटाइएको छ । सन् २०२६ को सुरुतिर ‘हायरिङ फ्रिज’ अर्थात् नयाँ भर्ती रोक्का गरिएदेखि नै कटौतीको सुरुवात भएको हालै निष्कासनमा परेका कम्पनीका एक उच्च अधिकारीले बताए । कम्पनीबाट निकालिएका अन्य दुई कर्मचारी छुट्टाछुट्टै रूपमा कान्तिपुरको सम्पर्कमा आएका छन् । कम्पनीसँग उनीहरूको ‘नन डिस्क्लोजर अग्रिमेन्ट’ वा गोप्य सम्झौता भएका कारण उनीहरूको नाम यहाँ उल्लेख गरिएको छैन ।

कम्पनीबाट बाहिरिएकी एक कर्मचारीका अनुसार उनलाई ‘पर्फमेन्स रिभ्यु’ वा कार्यसम्पादन समीक्षाका लागि मिटिङमा बोलाएर राजीनामा दिन लगाइएको थियो । ‘मलाई तत्कालै हातले राजीनामा लेख्न भनियो, साथीहरूलाई गएँ है सम्म भन्न पाइनँ,’ उनले भनिन्, ‘मिटिङ रुमबाट बाहिर निस्कनुअघि नै ल्यापटप बुझाउनुपर्‍यो, सिस्टमका एक्सेसहरू काटियो ।’ उनका अनुसार नयाँ संरचनामा आफ्नो पद आवश्यक नभएको भन्दै उनलाई कार्यालय छाड्न भनिएको थियो । 

निष्कासनमै परेका अर्का कर्मचारीले भने कम्पनी घाटामा गएर ‘कोल्याप्स’ हुनुभन्दा खर्च कटौती गरेर संस्था जोगाउनु सही कदम भएको धारणा राखे । ‘म आफू पनि यस प्रक्रियामा परें भन्दैमा धेरै पूर्वाग्राही भएर यो गलत हो भन्न चाहन्नँ । किनभने कम्पनी बचाउन जनशक्ति घटाउनु एउटा विकल्प हुन सक्छ,’ उनले भने, ‘तर कुनै कर्मचारीलाई एक महिनाअघि भर्ना गर्ने र अर्को महिना संरचना परिवर्तनको नाममा निकाल्नु न्यायसंगत देखिँदैन । हुँदाखाँदाको जागिर छाडेर दराजमा आएको थिएँ, अघिल्लो सातासम्म कामको तारिफ गर्दै थिए, यो साता निस्किनुस् भने !’

कर्मचारीलाई सूचना दिएकै दिन बिदा गर्नु र तत्काल ल्यापटप फिर्ता लिनु सुरक्षाका हिसाबले सूचना प्रविधि कम्पनीहरूमा सामान्य र व्यावहारिक अभ्यास भएको ती कर्मचारीको टिप्पणी छ । तर कर्मचारी व्यवस्थापनको शैलीमा भने दराजले सुधार गर्नुपर्ने खाँचो रहेको उनको बुझाइ छ । ‘दुई महिनाअघि ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने र अर्को महिना निष्कासन गर्ने यस्तो हायर एन्ड फायर शैली न्यायसंगत हुँदैन,’ उनले भने, ‘कम्पनीको दीर्घकालीन योजना के हो ? यसमा त स्पष्ट हुनुपर्‍यो ।’

दराज नेपालले लेअफमा परेका कर्मचारीहरूलाई आर्थिक क्षतिपूर्तिसहितको ‘सेवा सुविधा प्याकेज’ दिएको छ । कम्पनी छाडेका कर्मचारीहरूका अनुसार यो सुविधा–प्याकेज मुख्यतया कर्मचारीले काम गरेको अवधिका आधारमा निर्धारण गरिएको छ । लेअफमा परेका प्रत्येक कर्मचारीले न्यूनतम ३ महिनाको पूरा तलब बराबर रकम आधारभूत सुविधाका रूपमा पाएका छन् ।

कर्मचारीले काम गरेको प्रत्येक एक वर्षबापत थप एक महिनाको तलब पाउने व्यवस्था गरिएको छ । कसैले कम्पनीमा ७ वर्ष काम गरेका छन् भने तिनले महिनाको पारिश्रमिक र ७ वर्षको थप ७ महिना गरी कुल १० महिनाको तलब बराबरको प्याकेज पाएका छन् । हालै नियुक्त भएका वा छोटो समय मात्र काम गरेका कर्मचारीले पनि कार्य अवधिको अनुपातमा सुविधा पाएका छन् । ६ महिना काम गरेका कर्मचारीलाई साढे ३ महिनाको अतिरिक्त तलब दिएर पठाइएको कर्मचारीहरूले जनाए । 

नेपालमा दराजका ग्राहक संख्या ३० लाखभन्दा बढी पुगेको कम्पनीले बताएको छ । कर्मचारीहरूको औपचारिक संख्या स्पष्ट रूपमा सार्वजनिक नगरिए पनि बाहिरिएका एक कर्मचारीका अनुसार १ सय ५० देखि २ सय जना पूर्णकालीन कर्मचारी छन् । थसिखेल र थापाथलीका कार्यालयमा धेरै कर्मचारी छन् । दैनिक ज्यालादारीमा काम गर्ने डेलिभरी र लजिस्टिक टिममा भने १ हजार ३ सयदेखि १ हजार ५ सय रहेको अनुमान छ ।

दराजले नेपालमा मात्र नभई दक्षिण एसियाका अन्य देशमा पनि कर्मचारी कटौती गरिरहेको छ । बंगलादेशमा ८० देखि ९० कर्मचारीलाई बिदा गरिएको छ । श्रीलंकामा पनि करिब ३० जना कर्मचारी निकालिएका छन् । पाकिस्तान र म्यानमारमा यस्तै अवस्था छ । सन् २०२४ को सुरुमा पनि दराज समूहले क्षेत्रीय रूपमै कर्मचारी कटौती गरेको थियो । त्यो बेला कम्पनीका कार्यवाहक सीईओ जेम्स जी डोङले बजारको चुनौती र वित्तीय लक्ष्य पूरा गर्न ‘छरितो र फूर्तिलो संरचना’ बनाउनु आवश्यक भएकाले यो अन्तिम विकल्प रोजिएको प्रस्ट्याएका थिए । 

अहिले विश्वव्यापी रूपमै ठूला प्रविधि कम्पनीमा कर्मचारी निष्कासनको लहर छ । सन् २०२६ को पहिलो पाँच महिनामा ३ सय ६७ कम्पनीले १ लाख ४९ हजार ९ सय ३७ भन्दा बढी कर्मचारी हटाइसकेको लेअफ ट्र्याकर ‘ट्रुपअप डट आईओ’ को तथ्यांक छ । यसअनुसार ओराकलले ५० हजार ३ सय ३२, इन्टेलले ४६ हजार ५ सय ९१ र मेटाले ३४ हजार ५ सय ७१ कर्मचारी कटौती गरेका छन् । अमेजनले २७ हजार ५ सय २३ र एचपीले पनि २८ हजार ८ सय २६ कर्मचारी निकालेका छन् ।

लेफअफ्स डट एफवाईआईका अनुसार सन् २०२६ को मे र जुनमा मेटाले ८ हजार कर्मचारी निकालेको छ । सिस्कोले पनि ४ हजार कर्मचारी निष्कासन गरेको छ । कम्पनीहरूले आर्थिक संकटमा परेर भन्दा पनि ‘कम खर्चमा धेरै काम गर्ने’ र एआई युग सुहाउँदो गरी कम्पनीको ढाँचा परिवर्तन गर्न कर्मचारी संख्या घटाइरहेका हुन् । दराजको प्यारेन्ट कम्पनी अलिबाबा समूहले सन् २०२५ मा एआईमा लगानी बढाउँदा कर्मचारी संख्या ३४ प्रतिशतले घटेको सीएनबीसीका पत्रकार डाइलन बट्सले उल्लेख गरेका छन् ।

दराज नेपालको वित्तीय अवस्थाबारे आधिकारिक र भित्री स्रोतहरूबाट प्राप्त जानकारीअनुसार कम्पनी अहिले नाफा कमाउने दिशामा प्रयासरत छ । ‘दराज नेपालको ‘इबिट्टा’ अहिले ‘पोजेटिभ’ रहेको कम्पनीबाट बाहिरिएका एक कर्मचारी बताउँछन् । कर्जाको ब्याज, कर र अन्य प्राविधिक खर्च कटाउनुअघि कम्पनीले सञ्चालन मुनाफा गरिरहेको छ । ‘इबिट्टा सकारात्मक भए पनि कम्पनीले अहिलेसम्म खुद मुनाफा कमाउन भने सकेको छैन,’ उनले भने, ‘कम्पनीले नाफा कमाउने लक्ष्य राखेर नै कर्मचारी कटौती र पुनःसंरचना गरेको होला ।’

दराज नेपालको खण्डन :

  • दराज नेपालले पछिल्लो समय बाहिरिएका कर्मचारीहरूको विषयको यो समाचारमा स्पष्टीकरण दिँदै उनीहरूलाई ‘लेअफ’ गरिएको भन्ने विवरणको खण्डन गरेको छ । कम्पनीका अनुसार गएको केही सातामा दिइएका अवकाश नियमित कार्यसम्पादन समीक्षा (पर्फमेन्स रिभ्यु) को हिस्सा हुन् । सार्वजनिक भएको करिब ३० जना कर्मचारीको संख्या गलत रहेको दराज नेपालको दाबी छ ।  ‘यो अघिल्ला वर्षहरूमा पनि गरिँदै आएको संस्थागत प्रक्रिया हो र यसलाई कर्मचारी निकालेको वा पुनःसंरचनाक‍ो रूपमा बुझिनु हुँदैन,’ कम्पनीका सञ्चार व्यवस्थापकले पठाएको प्रतिक्रियामा उल्लेख छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully