बजेटले बढाएन सेयर बजारमा उत्साह, सातामै २६ अंकको गिरावट

तीन दिनमा ५१.५५ अंकले बढ्यो नेप्से, दुई दिनमा २४.८७ अंकले घट्यो, ६७ कम्पनीले कमाए, २ सय १ कम्पनीले गुमाए।

जेष्ठ २४, २०८३

यज्ञ बञ्जाडे

Budget fails to boost stock market sentiment, drops 26 points in a week

What you should know

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट घोषणा गरेपछिको साप्ताहिक सेयर बजारमा उत्साह देखिएन । यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले सेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ । यसअनुसार गत साता समग्र नेप्से साढे २६ अंकले घटेको छ । 

सातामा नेप्से तीन दिन बढेको छ भने दुई दिन घटेको छ । तीन दिनमा नेप्से ५१.५५ अंकले बढ्यो भने दुई दिनमा २४.८७ अंकले घट्यो । साप्ताहिक कारोबारमा भने नेप्से २६.६९ अंकले घटेको तथ्यांक छ । 

दुईतिहाइ निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो साता सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेटमार्फत सरकारले सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ । यससँगै लाभकर अन्तिम हुने/नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि सेयर बजार बढ्न सकेन । जानकारहरूले बजार बढ्न नसक्नुका दुई कारण औंल्याएका छन् । पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन । दोस्रो, पुँजीगत लाभकरको दर बढाइयो ।

पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्ता पनि त्रासमा रहेको र यसको असर सेयर बजारमा परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले बताए । ‘आम लगानीकर्ताको मनोबल घटेको अवस्थामा बजेटमार्फत करको दर पनि बढ्नुले मनोबल खस्कन थप सघाएको छ,’ उनले भने, ‘यद्यपि सरकारले बजेटमार्फत पुँजीगत लाभकर अन्तिम हुने/नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिएकाले दीर्घकालमा सेयर बजारमा यसको सकारात्मक प्रभाव पर्छ ।’

बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको कुनै कार्यक्रम नआएको र लगानीकर्तामा बजेट आउनुअघिकै त्रास कायम रहँदा उनीहरू उत्साहित नदेखिएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘बजेटमा पुँजीगत लाभकरलाई नै अन्तिम कर भनेर प्रस्ट्याइएको छ । तर लगानीकर्ताका लागि करभन्दा ठूलो मनोबल हो,’ उनले भने, ‘मनोबल उच्च भएका बेला करको दर धेरै भए पनि फरक पर्दैन । अहिले मनोबल बढ्न नसकेकाले सेयर बजार घटेको हो ।’ बजारको घटबढ सामान्य भएको र आज घटेको बजार भोलि बढ्न पनि सक्छ । तर अहिलेको अवस्थामा सेयर बजार दिगो रूपमा बढ्ने सम्भावना नरहेको सिजापतिले बताए । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले भने लगानीकर्ताकै हितअनुसार पुँजीगत लाभकरबारे लामो समयदेखिको अन्योल हटाइदिएको दाबी गरेका छन् । ‘सेयर लगानीकर्ताहरूको समूह नै आएर बरु करको दर बढाएर १५/२० प्रतिशत पुर्‍याउनुस् हामी तिर्छौं,’ गत साता एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘तर पुँजीगत लाभकर नै अन्तिम हो भनेर प्रस्ट्याइदिनुपर्‍यो भनेकै आधारमा सरकारले यो निर्णय गरेको हो ।’ यो निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अर्थमन्त्री वाग्लेको दाबी छ । यसरी लगानीकर्ताको मागअनुसार पुँजीगत लाभकरको व्यवस्था परिमार्जन गरे पनि सेयर बजार बढ्न नसक्नुलाई चासोका रूपमा हेरिएको छ ।

गत साता सेयर बजारमा कुल ५ करोड ११ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा २५ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । यस अवधिमा ६७ कम्पनीका सेयरधनीले कमाउँदा २ सय १ कम्पनीका सेयरधनीले नोक्सान बेहोरेका छन् । 

गत साता व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.९८ प्रतिशतले घट्यो । वित्त कम्पनीको परिसूचक सबैभन्दा बढी ६.९१ प्रतिशतले बढ्यो । यस अवधिमा निर्जीवन बिमा, अन्य र जीवन बिमा उपसमूहको परिसूचक बढे । तर विकास बैंक, लघुवित्त, बैंकिङ, लगानी, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र जलविद्युत् उपसमूहको परिसूचक घटेको नेप्सेको तथ्यांक छ । 

बजेटले नेपाली बिमा क्षेत्रको विकास र विस्तारका लागि विभिन्न घोषणा गरेको छ । यसअनुसार दीर्घकालीन प्रकृतिका बिमाको सामूहिक बिमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बिमा कम्पनीबाट हुने व्यवस्था गर्ने, जोखिम न्यूनीकरणका लागि पुनर्बिमाको निश्चित हिस्सा विदेशी पुनर्बिमा कम्पनीसँग गराउने घोषणा सरकारले गरेको छ ।

लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बिमांक १० लाख पुर्‍याइने, सवारी दुर्घटना कम गर्न सवारीसाधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्ने, दुर्घटना, घातक रोग, ढुवानीलगायत बिमा अनिवार्य गर्ने घोषणा बजेटमा गरिएको छ । यी व्यवस्थाले बिमा कम्पनीको सेयर मूल्यमा सुधार हुने लगानीकर्ताको अपेक्षा छ । गत साता जीवन र निर्जीवन बिमाको परिसूचक बढ्नुलाई लगानीकर्ताले बजेटकै प्रभावका रूपमा विश्लेषण गरेका छन् । 

नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि साढे ४५ अर्बले खुम्चिएको छ । यसअनुसार अघिल्लो साताको शुक्रबार ४७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत शुक्रबार ४७ खर्ब १ अर्ब रुपैयाँ कायम भएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully