नेपालमा उबरको औपचारिक प्रवेश

२ हजार ५ सय चालक आबद्ध भइसकेको कम्पनीका अधिकारीको भनाइ, ट्याक्सीमान्डुसाग सहकार्य

जेष्ठ २३, २०८३

कृष्णा प्रसाईं

Uber's official entry into Nepal

What you should know

काठमाडौँ — विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरले शुक्रबार नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ । यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लाटफर्महरूको संख्या चार पुगेको छ । कम्पनीले ट्याक्सीमान्डुसँग सहकार्य गरेर सेवा सुरु गरेको हो । नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्यांकन गर्न कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको जनाएको छ ।

उबरका अधिकारीहरूका अनुसार कम्पनीले सदस्यता (सब्स्क्रिप्सन) तथा कमिसन दुवैमा आधारित मोडलको परीक्षण गरिरहेको छ । भारतमा उबरले सदस्यता मोडलअन्तर्गत चालकहरूबाट निश्चित शुल्क लिएर सेवा सञ्चालन गर्छ, जहाँ चालकहरूले यात्राबाट प्राप्त सम्पूर्ण भाडा आफैं राख्न पाउँछन् र कम्पनीले कमिसन लिँदैन । नेपालमा भने दुवै मोडलको परीक्षण भइरहेको छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू उबरको रणनीतिको महत्त्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ ।

उबरकी दक्षिण एसियाका लागि अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले हाल नेपालमा कम्पनीको प्रतिनिधि कार्यालय नभए पनि यस वर्षको अन्त्यसम्म स्थापना गर्ने योजना रहेको बताइन् । उनका अनुसार भारत, अमेरिकालगायत उबर सञ्चालन भइरहेका देशहरूबाट नेपाल आउने प्रयोगकर्ताले छुट्टै एप डाउनलोड नगरी आफ्नो पुरानै उबर एपमार्फत सेवा लिन सक्नेछन् । 

सिंहले राइड–हेलिङभन्दा बाहिरका क्षेत्रमा पनि विस्तारको ठूलो सम्भावना रहेको बताइन् । ‘कुरियर, खाना डेलिभरी र अन्तरसहर यात्रा महत्त्वपूर्ण अवसरहरू हुन् । यी सबै सम्भावनाहरू अहिले मूल्यांकनकै चरणमा छन्,’ उनले भनिन् । कम्पनीले चालकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ । ‘एक साताभन्दा कम अवधिमा झन्डै २ हजार ५ सय चालक हामीसँग आबद्ध भइसकेका छन्, जसमा दुईपांग्रे र चारपांग्रे सवारी 

चालक दुवै छन् । २० हजारभन्दा बढी चालकले एप डाउनलोड गर्ने प्रयास गरेका थिए,’ सिंहले भनिन् । उनले उबरले नेपालमा उल्लेखनीय लगानी गरिरहेको र स्थानीय सञ्चालन दर्ताको प्रक्रिया पनि सुरु गरिसकेको जानकारी दिइन् ।

काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा उबरका एसिया–प्रशान्त क्षेत्रका राइड्स विभागका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपालको बढ्दो पर्यटन उद्योग उबरको प्रवेशको प्रमुख कारणमध्ये एक भएको जानकारी दिए ।

‘हामी दीर्घकालीन प्रतिबद्धतासहित नेपाल आएका हौं र आगामी दशक तथा त्यसपछिसम्म यहाँ रहने योजना छ,’ उनले भने । नेपाल पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले उबरको आगमनलाई स्वागत गर्दै पर्यटन विकासका लागि सहज यातायात अत्यावश्यक रहेको बताए । नेपालस्थित अमेरिकी दूतावासको कन्सुलर मामिला प्रमुख चेलन जे ब्लिसले अमेरिकी लगानीले नेपालको डिजिटल रूपान्तरणलाई समर्थन गरिरहेको धारणा राखिन् ।

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Link copied successfully