बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीतिमार्फत नतिजामुखी आर्थिक विकासमा जोड ।
What you should know
काठमाडौँ — बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीतिमार्फत नतिजामुखी आर्थिक विकासमा जोड दिनुपर्ने विज्ञहरूले औंल्याएका छन् ।
नेपाल व्यवस्थापन संघ (म्यान)को आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको समीक्षा तथा आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले ‘बजेटपछिको विश्लेषण तथा आगामी मौद्रिक नीतिबारे छलफल’ विशेष अन्तर्क्रियामा उनीहरूले यस्तो बताएका हुन् । दुई सत्रमा छलफल गरिएको उक्त कार्यक्रममा आर्थिक नीति, संरचनागत सुधार र स्रोत परिचालन विषयमा छलफल भएको थियो ।
छलफलमा बजेटको आकार, राजस्वको लक्ष्य र पुँजीगत खर्च बढाउनका लागि चालिनुपर्ने संरचनागत सुधारका उपायहरूमाथि विस्तृत समीक्षा गरिएको थियो । नीतिगत निरन्तरता र उद्योगमैत्री वातावरण निर्माणका लागि संसद् र सरकारले खेल्नुपर्ने भूमिकामाथि पनि जोड दिइएको छ ।
सहभागीहरूले बजेटको कार्यान्वयन प्रक्रिया र यसले निजी क्षेत्रमा पार्ने प्रभावबारे जिज्ञासा तथा नीतिगत सुझाव प्रस्तुत गरेका थिए ।
दोस्रो सेसन ‘आगामी मौद्रिक नीतिको दिशा र दृष्टिकोण’ विषयक अन्तरक्रियामा वित्तीय क्षेत्रको स्थायित्व र आर्थिक वृद्धिलाई सघाउने मौद्रिक नीति अत्यावश्यक रहेको बताएका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान आर्थिक परिसूचक र आगामी मौद्रिक नीतिले लिनुपर्ने कार्यदिशाबारे प्राविधिक विश्लेषण प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रमाथि टिप्पणीकारका रूपमा आर्थिक विज्ञ एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा र वरिष्ठ बैंकर तथा वित्तीय विश्लेषक अनलराज भट्टराईले टिप्पणी गर्दै बजारको तरलता व्यवस्थापन, कर्जा प्रवाह र ब्याजदरको सन्तुलनबारे आफ्ना धारणा राखेका थिए ।
विज्ञहरूले देशको अर्थतन्त्रमा लक्ष्यहरू जतिसुकै राम्रा राखिए पनि मुख्य समस्या ‘कार्यसम्पादन’ रहेको औंल्याए । हाम्रा लक्ष्य र समयसीमा स्पष्ट छन् तर तोकिएको समयमा कार्यसम्पादन हुन नसक्दा सोचेको नतिजा आउन सकेको छैन । तसर्थ, अब कुराभन्दा पनि काम र नतिजामा ध्यान दिनुपर्नेमा वक्ताहरूको जोड थियो ।
शुक्रबार सम्पन्न कार्यक्रमका मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले मौद्रिक नीति बजेटको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने र वित्तीय स्थायित्व कायम राख्ने गरी नै आउने आश्वासन दिए । विज्ञहरूबाट आएका प्राविधिक तथा व्यावहारिक सुझावलाई राष्ट्र बैंकले गम्भीरतापूर्वक मनन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
