राष्ट्रिय गौरवका आयोजनाहरू मध्यपहाडी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग, काठमाडौं–तराई/मधेश द्रुतमार्गलगायतको काम प्रभावित, निर्माण सामग्रीमा अझै भएन मूल्य समायोजन।
What you should know
काठमाडौँ — पश्चिम एसिया द्वन्द्वका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सडक आयोजनाको निर्माण ठप्प भएको छ । बढी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन् ।
पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य प्रभावित बनेको छ । आयोजनाअन्तर्गत १५.८ किलोमिटर सडक खण्डमा चालु आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो । यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ, सूर्यविनायक–साँगा र साँगा–धुलिखेल ।
७.५ किमिको सूर्यविनायक–साँगा खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ५० प्रतिशत छ । यस खण्डमा अहिलेसम्म डेढ किमि मात्र कालोपत्र भएको छ । यस खण्डको म्याद २९ फागुन २०८३ सम्म छ । बिटुमिन अभावमा थप कालोपत्र हुन सकेको छैन ।
कालोपत्र ठप्प बनेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताए । ‘धुलिखेलतर्फ कालोपत्र भइरहेको छ, महँगो मूल्य तिरेरै बिटुमिन ल्याएर निर्माण व्यवसायीले काम गरिरहेका छन् तर सूर्यविनायक–साँगा खण्डमा कालोपत्र हुन सकेको छैन,’ उनले भने, ‘बिटुमिन र पेट्रोलियम पदार्थको मूल्य नबढेको भए दुई तहमध्ये पहिलो तहको कालोपत्र सकिन्थ्यो ।’
८.३ किमि दूरी रहेको साँगा–धुलिखेल खण्डमा अहिलेसम्म ५.५ किमि पहिलो तहको कालोपत्र भएको छ । यस खण्डको निर्माण प्रगति ७० प्रतिशत छ । उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । २३ मंसिर २०८३ सम्म म्याद थप गरिएको छ । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ५६ प्रतिशत छ । साँगा खण्डमा १ किमि दूरीको अन्डरपासको काम ९० प्रतिशत सकिसकेको आयोजनाको भनाइ छ ।
राष्ट्रिय गौरवका आयोजनाहरू मध्यपहाडी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा बिटुमिन नभएर कालोपत्र रोकिएको छ । मदन भण्डारी राजमार्ग, नागढुंगा–मुग्लिन, काँकडभिट्टा–लौकही सडक खण्डमा पनि कालोपत्र प्रभावित बनेको छ । दैनिक १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा कामले गति लिन सकेको छैन । नागढुंगादेखि मुग्लिनसम्म ९४.६६ किमि सडक स्तरोन्नति भइरहेको छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋणमा यसलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । १२.२६ किमिको पहिलो खण्ड नागढुंगा–नौबिसे, ४३.५४ किमिको नौबिसे–मलेखु दोस्रो खण्ड र ३८.८६ किमिको तेस्रो खण्ड मलेखु–मुग्लिन रहेको छ । नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्र सकिएर अन्तिम तहको कालोपत्र सुरु हुँदै थियो । यही बेला बिटुमिनको मूल्यवृद्धिसँगै अभाव भयो, काम रोकियो । स्तरोन्नति थालिएको १२.२६ किमिमध्ये अन्तिम तहको कालोपत्र ६ किमि मात्र भयो ।
बिटुमिन सकिएपछि काम रोकिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘यहीं पाउने निर्माण सामग्रीको समस्या छैन, बिटुमिन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले राम्रोसँग काम गरेका छैनन्,’ उनले भने । अहिले बर्खामा समस्या हुने धार्केको उकालो र बजार क्षेत्रमा कालोपत्र गर्ने तयारी हुँदै छ । सय टन बिटुमिन आउँदै गरेको जानकारी निर्माण व्यवसायीबाट आएको उनले सुनाए ।
राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गमा पनि कालोपत्र हुन सकेको छैन । बिटुमिन अभावले कालोपत्र गर्न नसकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताए । ‘यसको मूल्य पनि बढेको छ, बजारमा सहज रूपमा पाइएको छैन,’ उनले भने, ‘रामेछाप, पर्वत, दैलेख, गोरखा योजना कार्यालयअन्तर्गत निर्माण भइरहेका सडकहरूको काम प्रभावित बनेको हो ।’
चालु आर्थिक वर्षमा ७५ किमि सडक कालोपत्र गर्ने लक्ष्य भए पनि वैशाख मसान्तसम्म ४४.२५ किमि मात्र भएको उनले बताए । अहिलेसम्म निर्माण प्रगति ८३.५८ प्रतिशत छ । यस राजमार्ग आयोजनाअन्तर्गत १ हजार ८ सय ७९ किमि सडक निर्माण गर्नुपर्नेमा ४ सय ६२ किमि अन्य आयोजना, डिभिजनअन्तर्गत निर्माण भएको छ ।
मध्यपहाडी आयोजनाअन्तर्गत अहिलेसम्म १ हजार ६७ दशमलव ६ किमि सडक कालोपत्र भएको छ । १ सय १४ वटा पुलको निर्माण सकिएको छ । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा पनि कालोपत्र प्रभावित बनेको छ । ‘बिटुमिनको समस्या देशभरि नै छ, यसमा प्रयोग गर्ने भीजी–४० बिटुमिन हो, यो नेपालमा कतै पाइँदैन, यो उच्च गुणस्तरको हो,’ आयोजना स्रोतले भन्यो, ‘बाहिरबाट आउने हो, अहिले आउन नसक्दा १० किमि सडक कालोपत्र गर्नुपर्नेमा साढे ३ किमि मात्र भएको छ ।’ लक्ष्यअनुसार कालोपत्र गर्न नपाउँदा यसले समग्र प्रगतिमा पनि असर गर्ने आयोजनाले जनायो । यो आयोजनाको म्याद चैत २०८३ सम्म मात्र छ ।
राष्ट्रिय गौरवकै हुलाकी राजमार्गको निर्माण थालेको १६ वर्ष भयो तर काम सकिएको छैन । अहिलेसम्म निर्माण प्रगति ७४.३५ प्रतिशत मात्र छ । झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा–चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणाअनुसार आर्थिक वर्ष २०६६/६७ बाट राजमार्ग निर्माण अघि बढाइएको हो । तराई–मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने गरी निर्माण थालिएको आयोजना कहिले बजेटका कारण त कहिले नीतिगत निर्णयमा ढिलाइ हुँदा अघि बढेको छैन ।
अहिले बिटुमिनको मूल्यवृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुवेर नेपालीले बताए । ‘चितवनको माडी, सुनसरी, मोरङमा कालोपत्रको काम ठप्प छ,’ उनले भने, ‘धनगढी, दाङमा आंशिक मात्र भएको छ, समग्र आयोजनामा प्रभाव परेको छ ।’
सरकारले निर्माण सामग्रीमा बढेको मूल्यको समायोजन दिने कुरा पटक–पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताए । ‘पूर्वाधार विकासमन्त्रीसँग छलफल र कुराकानी गर्दा छिटो समस्या समाधान होला जस्तो लागेको थियो तर हुन सकेन,’ उनले भने, ‘निर्माण व्यवसायी पीडामा छौं, सरकारले छिटो समस्या समाधान गरेर काम गर्ने वातावरण बनाउनुपर्छ ।’ बिटुमिनमा लगाइएको १५ प्रतिशत भन्सार महसुललाई ५ प्रतिशतमा झारेर अन्य क्षेत्रमा सरकारले कस्ने काम गर्न नहुने उनको भनाइ छ ।
पश्चिम एसियाको द्वन्द्वले बिटुमिन र पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यवृद्धि हुँदा त्यसको असर निर्माण क्षेत्रमा परेको पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए । ‘फागुनदेखि जेठसम्म सडक निर्माण र कालोपत्रको काम गर्ने समय हो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको पूर्वाधारमा बजेट र मूल्य समायोजनको समस्यासम्बन्धी छलफलका क्रममा उनले भने, ‘धेरै काम बन्द भएको छ, यसमा राज्यले नै अपनत्व लिएर अगाडि लग्नुपर्छ भन्ने हो ।’
यसबारे आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पनि राखिएको उनले प्रस्ट पारे । ‘मूल्यवृद्धिबारे सम्बोधन हुन्छ, काम अगाडि बढाउनुस्,’ उनले भने, ‘आजै काम गरेको भुक्तानी नभए पनि यसबारे निर्णय भएपछि त्यहीअनुसार भुक्तानी भइहाल्छ ।’ यसलाई छिट्टै समाधान गर्ने गरी मन्त्रालय लागिरहेको उनले प्रस्ट पारे ।
