सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन पेस गरिसक्नु पर्नेछ ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा रिक्त रहेका ५ जना सदस्य पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयद्वारा जारी गरिएको सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट बायोडाटा माग गरिएको छ । सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन पेस गरिसक्नु पर्नेछ । आवेदन दिने अन्तिम जेठ २६ गते तोकिएको छ ।
आवेदन नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको सचिवालय, भृकुटीमण्डपमा वा इमेलमार्फत मन्त्रालयको आधिकारिक इमेल ठेगानामा पठाउनु पर्ने छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यसअघि नै मन्त्रालयको रोस्टर सूचीमा सूचीकृत भइसकेका व्यक्तिहरू यस पदका लागि स्वतः उम्मेदवार कायम हुनेछन् । त्यस्ता व्यक्तिहरूले पुनः आफ्नो बायोडाटा पेस गरिरहनु नपर्ने व्यवस्था मिलाइएको छ।
पर्यटन क्षेत्रको नीति निर्माण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्डको कार्यकारी समितिका रिक्त पदहरू लामो समयदेखि खाली रहँदा बोर्डका कतिपय आन्तरिक निर्णय प्रक्रियाहरू प्रभावित हुँदै आएका थिए ।
