बुटवल–नारायणगढ सडक खण्ड विस्तार अन्तिम चरणमा

सबैभन्दा बढी यात्रुले सास्ती भोग्नुपर्ने दाउन्ने खण्ड सहज भएसँगै यात्रुले लामो जाममा बस्नुपर्ने बाध्यता हटेको छ । दाउन्ने बाहेकका स्थानमा सडक कालोपत्र गर्ने, सडक पेटी बनाउने र डिभाइडर राख्ने काम भइरहेको छ ।

जेष्ठ २०, २०८३

नवीन पौडेल

Butwal-Narayangadh road section expansion in final phase

What you should know

परासी — महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार आयोजनाका अनुसार अहिलेसम्म ९२ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत पूर्वी र पश्चिम खण्डमा अहिले विस्तारको काम सकिन लागेको हो । 

पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण पूरा भएको छ । पश्चिम खण्डअन्तर्गत दाउन्नेमा एउटा कल्भर्ट निर्माण  गर्न बाँकी छ । सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा ९२ प्रतिशत काम सकिएको छ ।  अहिले सडक सुरक्षाका काम धमाधम भइरहेको खनालले बताए । कालोपत्र र ढलान पूरा भएको सडकमा अहिले ट्राफिक चिह्न राख्ने, रोड मार्किङ गर्ने काम भइरहेको छ । 

सबैभन्दा बढी यात्रुले सास्ती भोग्नुपर्ने दाउन्ने खण्ड सहज भएसँगै यात्रुले लामो जाममा बस्नुपर्ने बाध्यता हटेको छ । दाउन्ने बाहेकका स्थानमा सडक कालोपत्र गर्ने, सडक पेटी बनाउने र डिभाइडर राख्ने काम भइरहेको छ । पूर्वी खण्डको साउन ७ र पश्चिम खण्डको साउन ५ गते म्याद सकिँदै छ । 

भौतिक पूर्वाधार निर्माणको काम थप भएको म्यादभित्र पूरा गर्ने लक्ष्य आयोजनाले राखेको छ । तर, सडक सुरक्षा लगायतका प्राविधिक कामका लागि भने थप केही महिना लाग्ने र सोही अनुसारको तयारीमा आयोजना लागेको छ । 

२०७५ चैतबाट काम सुरु भएर ४४ महिनामा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुई खण्डको १ सय १४ किलोमिटर सडक विस्तारका लागि १७ अर्बमा ठेक्का लिएको थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully