सरकारले ल्याउन लागेको ‘सनसेट’ कानुन के हो?

एक साताभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने गरी कानुनको मस्यौदा तयार गरिँदै।

जेष्ठ १९, २०८३

विमल खतिवडा

What is the 'sunset' law that the government is going to introduce?

What you should know

काठमाडौँ — सरकारले आयोजना निर्माणमा रुख कटान, मुआब्जा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेको ढिलाइबाट छुटकारा दिलाउन भन्दै ‘सनसेट’ कानुन ल्याउने भएको छ । अहिले कानुनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको संयोजकत्वमा सनसेट कानुनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत चालु आर्थिक वर्षभित्रै विकास आयोजनासम्बन्धी ‘सनसेट– कानुन संसद्मा पेस गर्ने बताएका थिए । एक साताभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको राष्ट्रिय योजना आयोगका सदस्य थापाले बताए । मुआब्जा विवाद, समयमै रुख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषतः राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका सडक, सिँचाइ, जलविद्युत् आयोजनाको निर्माण प्रभावित बन्दै आएको छ । 

४ पुस २०८० मा तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा काठमाडौं/तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा सबै प्रक्रिया पूरा गर्दा पनि चार वटा रुख काट्न ९ महिना लागेको प्रसंग सुनाएका थिए । उक्त आयोजनामा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिए पनि रुख काट्न सम्बन्धित डिभिजन वन कार्यालयहरूबाट ढिलाइ गरिदिँदा काममा ढिलाइ भएको थियो । त्यसको असर समग्र आयोजना निर्माणमा पर्न गएको भन्दै समितिमा शर्माले आक्रोश पोखेका थिए । 

अन्तरमन्त्रालय समन्वय अभावमा पनि आयोजना निर्माणमा ढिलाइ हुँदै आएको छ । सनसेट कानुनले यी समस्या समाधान गर्ने थापाको दाबी छ । ‘जग्गा अधिग्रहण समयमै नहुने, समयमै ईआईए स्वीकृत नहुने, स्वीकृत भएको ईआईएअनुसार रुख काट्न नपाइने जस्ता समस्या अझै छन्, यिनै विषयलाई सहजीकरण गर्न सनसेट कानुन ल्याउन लागिएको हो,’ थापाले भने । १० वर्षका लागि यो कानुन ल्याउने सरकारको तयारी छ । 

‘कानुन लागू भएपछि भविष्यमा कुनै निकायले कानुनअनुसार छिटो काम गर्न नमाने प्रधानमन्त्रीकै अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति हुन्छ, त्यो समितिले सिधै काम गर्न आदेश दिन्छ,’ थापाले भने । ढुंगा, गिटी, बालुवाका सन्दर्भमा सम्बन्धित आयोजनाले नै ईआईए रिपोर्टमा कति झिक्ने, कहाँबाट झिक्ने उल्लेख गर्नुपर्नेछ । ‘निर्माण सामग्री पालिकाहरूको अधिकार क्षेत्रभित्र पर्ने भए पनि यसबारे सम्बन्धित आयोजनाले सार्वजनिक सुनुवाइ गर्नुपर्छ, यो सुनुवाइमा कुन ठाउँबाट कति झिक्ने भन्ने स्पष्ट खुलाउनुपर्छ,’ थापाले भने । विभिन्न जिल्लामा सरुवा भएर जाने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूको पहिलो चासो प्रायः नदीनालाका ढुंगा, गिटी र बालुवामा हुने बताइन्छ । 

त्यस्ता निकायबाट समन्वय गरेर विकास निर्माण छिटो गराउनुको साटो रोक्ने काम पनि हुने गरेकाले सनसेट कानुन लागू भएपछि रोकतोक गर्न नपाउने र समन्वय गर्दै छिटो गराउन सहजीकरण गर्ने व्यवस्था गरिने थापाले जनाए ।

पूर्वाधार निर्माण छिटो सम्पन्न गराउन निश्चित समय तोकेर तयार पारिएको कानुन नै सनसेट कानुन रहेको थापाले प्रस्ट्याए । अहिलेको अवस्थामा सनसेट कानुन अत्यावश्यक भएको र यो लागू भएपछि निर्माणको काम छिटो हुने अपेक्षा रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले बताए । ‘लामो समयसम्म रुग्ण भएर बसेका ठेक्का सम्पन्न गर्न यो कानुनले सघाउँछ,’ उनले भने, ‘ढिलो भइरहेका र प्राथमिकताप्राप्त आयोजनालाई लक्ष्य गरेर ल्याउन कानुन ल्याउन लागे जस्तो देखिन्छ ।’ अहिले ठूला लगानीका आयोजनामा जग्गा प्राप्तिदेखि रुख कटानको समस्या बढी छ । 

लामो समयदेखि कचल्टिएर बसेका आयोजना छिटो निर्माण गराउन ‘सनसेट’ कानुन उपयुक्त हुने वरिष्ठ अधिवक्ता बाबुराम दाहालको भनाइ छ । ‘निश्चित अवधि तोकेर यो कानुन ल्याउने गरिएको छ,’ उनले भने, ‘त्यति बेलासम्म के–के गर्ने भनेर कानुनमै लेखिएको हुन्छ ।’ त्यस अवधिमा सनसेट कानुन लागू हुने उनले जनाए । ‘सनसेट’ कानुन सधैं राख्न नमिल्ने भएकाले कानुन लागू भएर आयोजनामा फटाफट काम हुँदा राष्ट्रलाई ठूलो फाइदा हुने दाहालको बुझाइ छ । 

आफू सचिव हुँदै ‘सनसेट’ कानुन बनाएर केही समयका लागि विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने गरी छलफल गरे पनि नसकिएको पूर्वसचिव तुलसी सिटौलाले बताए । ‘२०६९/७० सालतिर छोटो समयका लागि यो कानुन बनाएर लागू गर्ने कि भनेर छलफल भएको थियो, तर पछि ल्याउन सकिएन,’ उनले भने, ‘एक पटकका लागि यो कानुन ल्याउन आवश्यक छ, यसले रुग्ण ठेक्कालाई व्यवस्थापन गर्न सहज गर्छ । विकास निर्माणको कामलाई छिटो गराउँछ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully