९ महिनामा केन्द्रीय कृषि प्रयोगशालाले गरेको परीक्षणमा शून्य दशमलव ५ प्रतिशत फलफूल तथा तरकारीमा खान अयोग्य विषादी फेला परेको छ ।
What you should know
काठमाडौं — फलफूल तथा तरकारी व्यापारीहरूले बजारमा हेर्दै खाउँ खाउँ लाग्ने गरी सजाएर राखेको त हामी सबैले देखेकै छौं । तपाईं हामी पनि यही देखेर किन्ने गर्छौं । तर, यस्ता फलफूल तथा तरकारी विषादीयुक्त पनि हुन सक्छन्, जसले मानव स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारिरहेका हुन सक्छ ।
९ महिनामा केन्द्रीय कृषि प्रयोगशालाले गरेको परीक्षणमा शून्य दशमलव ५ प्रतिशत फलफूल तथा तरकारीमा खान अयोग्य विषादी फेला पारेको छ । देशभर विषादी जाँच गर्ने आधुनिक प्रयोगशाला नहुँदा र बजार तथा सीमा नाकामा गरिने परीक्षण प्रभावकारी नहुँदा यस्ता विषादीयुक्त फलफूल तथा तरकारी सिधैं उपभोक्ताको भान्सामा पुग्ने गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता बालकुमारी शर्माका अनुसार विभागमा १८५ प्रकारका विषादी मात्रै अनुसन्धान गर्ने क्षमता छ । सबै प्रकारका विषादी परीक्षण गर्न सक्दैन । उनले भनिन्, 'पहिलो कुरा त हामीसँग जनशक्ति पनि अभाव छ । उपत्यकाभित्र जम्मा ३७७ जनाको मात्रै दरबन्दी छ । यसमा पनि खाद्य निरीक्षणका लागि त ३-४ जना मात्रै छन् । अन्तर्राष्टिय मापदण्डअनुसार प्रत्येक ३०-४० हजार जनसंख्यामा एउटा खाद्य निरीक्षक हुनुपर्छ । हामी आफैं अनुमान गर्न सक्छौं काठमाडौंको जनसंख्या कति छ र हामीले कति काम गर्न सक्छौं होला ? अर्को कुरा हाम्रो ल्याबको क्षमता पनि हेर्नुपर्छ । हामीसँग काठमाडौं र विराटनगरमा मात्रै ल्याब छ ।'
विशेषगरी सिमानाका र ठूला बजारहरूमा कृषि उपजको निगरानी गर्न 'द्रुत जैविक परीक्षण' विधि त छ तर यो विधिले बजारमा प्रयोग भइरहेका अनगिन्ती आधुनिक रसायनहरूमध्ये केवल 'अर्गानोफस्फेट' र 'कार्बामेट' नामक दुई वटा विषादी समूह मात्र पहिचान गर्न सक्छ । केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख शान्ता कार्कीका अनुसार अहिलेसम्म दुईटा समूहको मात्रै विषादी परीक्षण हुँदै आएको छ । एउटा 'अर्गानोफस्फेट' र अर्को 'कार्बामेट' । उनले भनिन्, 'हामीसँग भएका किटले यिनै दुईवटा विषादी मात्रै पहिचान गर्ने गर्छन् ।'
सबै प्रकारका विषादीको विस्तृत जाँच गर्न आधुनिक प्रयोगशाला चाहिन्छ । यस्तो प्रयोगशाला काठमाडौंसहित देश केही सीमित स्थानमा मात्र छ । त्यसमाथि सीमित जनशक्तिको अभावले परीक्षणको दायरा बढ्न सकेको छैन । 'द्रुत जैविक परीक्षण' मा फलफूल वा तरकारीको रस निकालेर विषादीको अवरोध दर हेरिन्छ ।
यदि विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भेटियो भने त्यसलाई सुरक्षित मानिन्छ । ३५ देखि ४५ प्रतिशतको बीचमा भेटियो भने त्यसलाई केही दिन रोकेर राखिन्छ भने ४५ प्रतिशतभन्दा बढी फेला परेमा मानव स्वास्थ्यका लागि पूर्ण रूपमा असुरक्षित ठहर गर्दै बजारमा बेच्न प्रतिबन्ध लगाई तुरुन्तै नष्ट गरिन्छ ।
द्रुत जैविक परीक्षणमा प्राविधिक ढिलासुस्तीका कारण प्रभावकारी नभएको व्यवसायीहरू बताउँछन् । प्रयोगशालाका प्राविधिकहरू बिहान ७ बजेतिर आएर नमूना संकलन गरेर लैजाने र दिउँसो मात्रै रिपोर्ट दिने गर्छन् । रिपोर्ट आउने बेलासम्म बजारका तरकारी फलफूल उपभोक्ताको भान्सामा पुगिसक्ने व्यापारीहरू बताउँछन् ।
व्यापारीहरूको यो बाध्यताले के देखाउँछ भने, बजारमा आउने धेरैजसो फलफूल तथा तरकारी सिधैं उपभोक्ताको भान्छामा पुगिरहेका छन् । तर, कतिपय उपभोक्तामा यसबारे पर्याप्त सचेतना छैन । प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपालका सिनियर रिसर्चर डा. गोविन्द भण्डारीको नेतृत्वमा काठमाडौं उपत्यका, रुपन्देही र मुस्ताङका बजार तथा व्यावसायिक फार्महरूबाट स्याउ र केराका ८५ वटा नमुना संकलन गरेर भारतको प्रयोगशालामा परीक्षण गरिएको थियो । अनुसन्धानले परीक्षण गरिएका सबै केरामा निकै बढी मात्रामा विषादीको अवशेष फेला परेको देखाएको थियो । एउटै स्याउमा ७ प्रकारसम्मका फरक-फरक विषादीका अवशेष भेटिएका थिए ।
उपभोक्ता संरक्षण ऐनले विषादीयुक्त तथा दूषित खालका खाद्यवस्तु बेच्नुलाई उपभोक्ता हितविरुद्ध भनेको छ । अधिवक्ता विष्णुप्रसाद तिमल्सिना विष बेच्नु भनेको मानवताविरुद्धको अपराध भएको बताउँछन् । उनी यसलाई उपभोक्ता अधिकारविरुद्धको अधिकार र मानव अधिकारविरुद्धको अपराध ठान्छन् । उनी भन्छन्- कम गुणस्तरका र विषादीयुक्त फलफूल तरकारी बेच्छ भने खाद्य स्वच्छता एनबमोजिम कारबाहीको दायरमा आउनसक्छ ।
त्यसबाट हानीनोक्सानी पुगेमा क्षतिपूर्ति प्राप्त गर्ने अधिकार पनि उपभोक्तालाई दिएको छ । यी खतरनाक विषादी जब हाम्रो शरीरमा प्रवेश गर्छन्, यिनले सिधैं स्नायु प्रणालीमा आक्रमण गर्छन् । सुरुमा सामान्य टाउको दुख्ने वा चक्कर लाग्ने भए पनि लामो समयसम्म यस्तो खाइरहँदा स्मरणशक्ति कमजोर हुने, हर्मोन असन्तुलन हुने, बालबालिकाको शारीरिक तथा मानसिक विकास रोकिने र अन्ततः क्यान्सर जस्ता निकै घातक रोगहरूको रूप लिन सक्छ ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा बर्सेनी ७०० टनभन्दा बढी घातक रासायनिक विषादी आयात हुने गर्छ जसमध्ये अधिकांश कृषि क्षेत्रमा प्रयोग गइरहेका छन् । त्यसैले अब सरकारले जनशक्ति अभावको बहाना बनाउन छाडेर प्रतिबन्धित रासायनिक विषादीको बिक्रीमा पूर्ण रोक लगाउने, किसानहरूलाई प्राङ्गारिक विधिको तालिम दिने र बजार तथा सीमा नाकामा तत्कालै छिटो नतिजा दिने आधुनिक प्रयोगशाला स्थापना गरी कडा निगरानी गर्न ढिला गर्नु हुँदैन ।
