वाग्लेले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई ७० खर्ब रुपैयाँबाट १५० खर्ब रुपैयाँसम्म पुर्याउने सरकारको लक्ष्य रहेको जानकारी दिए ।
What you should know
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले ल्याएको २० खर्ब रुपैयाँको बजेटले मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताएका छन् ।
अर्थ मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा वाग्लेले नेपालको अर्थतन्त्र झन्डै ७० खर्ब रुपैयाँको रहेको उल्लेख गर्दै सरकारको ध्यान २० खर्बको बजेटभन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए । उनकाअनुसार २० खर्ब खर्च गरेर ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्ने भ्रमबाट देशलाई निकाल्ने ध्यानमा सरकार रहेको छ ।
‘हामी देशलाई भ्रमबाट पनि बाहिर निकाल्न चाहन्छौँ । सरकारको २० खर्ब रुपैयाँको बजेटले अर्थतन्त्रलाई सहजीकरण गर्ने हो, अर्थतन्त्र झन्डै ७० खर्ब रुपैयाँको छ । बजेट निर्माणका क्रममा हामीले सधैं २० खर्बको बजेटलाई होइन, ७० खर्बको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेका थियौं,' उनले भने, 'यो बुझ्न आवश्यक छ कि २० खर्ब रुपैयाँले एक्लै अर्थतन्त्र चलाउने होइन, बरु ७० खर्बको अर्थतन्त्रलाई गतिशील बनाउने काम गर्ने हो ।'
सरकारले निर्माण गर्ने सडक, विद्युत्, शान्ति–सुरक्षा तथा न्याय प्रणालीजस्ता आधारभूत संरचना र सेवाले निजी क्षेत्रको आत्मविश्वास बढाउने र त्यसबाट निजी लगानी आकर्षित भई आर्थिक गतिविधि विस्तार हुने सरकारको अपेक्षा रहेको उनले बताए । वाग्लेले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई ७० खर्ब रुपैयाँबाट १०० खर्ब हुँदै १५० खर्ब रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
केही नेताहरूमा बजेट खर्च नै आर्थिक वृद्धिको मुख्य आधार हो भन्ने भ्रम देखिएको भन्दै उनले वास्तविकता त्यस्तो नभएको दाबी गरे । सरकारले बनाएको सडक, उत्पादन गरेको विद्युत्, सुनिश्चित गरेको शान्ति–सुरक्षा र प्रभावकारी न्याय प्रणालीका कारण निजी क्षेत्रको आत्मविश्वास बढ्ने र त्यसले निजी लगानीलाई आकर्षित र निजी क्षेत्रको सक्रियता विस्तार हुने उनको भनाइ छ ।
