संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदासले भनिन् - 'सगरमाथाको अस्तित्वले नेपाललाई जुन स्तरको पहिचान दिएको छ, त्यो कुनै मार्केटिङ अभियानले दिन सकेको छैन'
What you should know
काठमाडौँ — संसारका धेरै देशले आफ्नो पहिचान निर्माण गर्न अर्बौं डलर खर्च गरेर अन्तर्राष्ट्रिय ब्रान्डिङ अभियान सञ्चालन गर्छन् । तर नेपालसँग एउटा यस्तो सम्पत्ति छ, जसले कुनै प्रचार अभियानबिना नै दशकौंदेखि विश्वभर नेपालको परिचय गराइरहेको छ, त्यो हो विश्वको सर्वोच्च शिखर सगरमाथा ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदासले अमेरिकी दूतावासद्वारा आयोजित ‘असेन्ट समिट २०२६’ मा सम्बोधन गर्दै सगरमाथालाई नेपालको सबैभन्दा शक्तिशाली राष्ट्रिय ब्रान्ड, आर्थिक अवसरको स्रोत र विश्वमञ्चमा नेपालको ‘सफ्ट पावर’ को प्रमुख प्रतीकका रूपमा व्याख्या गरेकी छन् ।
उनले आफ्नो व्यक्तिगत जीवन अनुभवबाट सगरमाथाले नेपाललाई विश्वमा कसरी चिनाएको छ भन्ने प्रसंग सुनाइन् । 'मेरो बाल्यकाल पाकिस्तान, इटाली, स्विट्जरल्यान्ड, जोर्डन, म्यानमार र रसियासहित विभिन्न देशमा बित्यो । म जहाँ गए पनि आफूलाई नेपाली भनेर चिनाउँथे । तर १९८० र ९० को दशकमा धेरै मानिसले नेपालबारे सुनेका पनि हुँदैनथे,' उनले भनिन्, ‘मैले भन्थेँ, तपाईंलाई संसारको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट थाहा छ ? र तत्कालै मानिसहरूको अनुहार उज्यालो हुन्थ्यो । उनीहरू नेपाललाई नचिन्ने हुन सक्छन् । तर एभरेस्टलाई चिन्थे । एभरेस्टमार्फत उनीहरूले नेपाललाई चिने र मलाई पनि ।'
उनका अनुसार सगरमाथा केवल एउटा हिमाल मात्र होइन, सम्पूर्ण मानव जातिले चिन्ने सार्वभौमिक प्रतीक हो । 'हाम्रो जस्तो सानो भू-परिवेष्ठित देशका लागि सगरमाथा पृथ्वीको सबैभन्दा प्रभावशाली राष्ट्रिय ब्रान्ड हो । यसको अस्तित्वले मात्र नेपाललाई जुन स्तरको पहिचान दिएको छ, त्यो कुनै मार्केटिङ अभियानले दिन सकेको छैन,' उनले बताइन् ।
सगरमाथाबारे संसारले किन यति धेरै आकर्षण राख्छ भन्ने कुरा बुझ्न उदास स्वयं सन् २००३ मा सगरमाथा आधार शिविरसम्म पदयात्रामा पुगेकी थिइन् । उनले त्यो यात्रालाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा सम्झिइन् । 'हरेक दिन आठ घण्टासम्म उकालो–ओरालो हिँड्यौ । कहिले राताम्मे फुलेका लालीगुराँसका वन, कहिले बादलभित्र हराएको बाटो, अनि बिस्तारै हराउँदै गएको वनस्पति र चारैतिर फैलिएको चट्टान र हिउँको संसार', उनले वर्णन गरिन् ।
सगरमाथाको चुचुरोमा पुग्ने आरोहीहरूलाई सांसद उदासले ‘असाधारण मानिस’ को संज्ञा दिइन् ।
उनले सगरमाथा नेपालको राष्ट्रिय गौरव मात्र नभई ठूलो आर्थिक आधार पनि भएको बताइन् । हरेक वर्ष हजारौँ पदयात्री, पर्वतारोही, चलचित्र निर्माता, अनुसन्धानकर्ता, पत्रकार र साहसिक पर्यटक नेपाल आउने प्रमुख कारण हिमाल नै रहेको उनको भनाइ थियो । 'यसको लाभ आरोहण उद्योगमा मात्र सीमित छैन । यसले वायुसेवा, होटल, रेस्टुरेन्ट, गाइड, भरिया, यातायात व्यवसायी र सम्पूर्ण हिमाली समुदायलाई रोजगारी र आय प्रदान गरिरहेको छ,' उनले भनिन् ।
पछिल्लो समय पश्चिम एसियामा उत्पन्न भू–राजनीतिक तनावका कारण नेपालको समग्र पर्यटन क्षेत्रमा असर परे पनि पर्वतारोहण गतिविधि तुलनात्मक रूपमा स्थिर रहनुले नेपालको हिमाली पर्यटनको विश्वव्यापी आकर्षण अझै बलियो रहेको देखाएको उनले बताइन् ।
तर सगरमाथाले अवसरसँगै चेतावनी पनि दिइरहेको सांसद उदासको भनाइ छ । उनले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको, दशकौँदेखि प्रयोग हुँदै आएका आरोहण मार्गहरू परिवर्तन भइरहेको तथा केही मार्ग हराउने अवस्थामा पुगेको उल्लेख गरिन् । 'नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माण गरेका हिमालहरू आफैं अहिले जलवायु परिवर्तनको प्रत्यक्ष मारमा छन्,' उनले भनिन् । उनका अनुसार फोहोर व्यवस्थापन, अत्यधिक भीड, वातावरणीय दबाब तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण अब नेपालका लागि प्रमुख चुनौती बनेका छन् । 'हिमालले नेपाललाई धेरै दिएको छ । अब तिनको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो,' उनले जोड दिइन् । उनले जलवायु अनुसन्धान, हिमाली उद्धार, वातावरण संरक्षण, पर्वतीय सुरक्षा तथा पर्यटन मापदण्डका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता पनि औंल्याइन् ।
उदासले नेपालले लामो समयदेखि प्रतीक्षा गरेको पर्यटन विधेयक संसद्मा दर्ता भइसकेको जानकारी दिँदै अब त्यसमाथि विस्तृत छलफल हुने बताइन् । उनका अनुसार विधेयकको उद्देश्य केवल पर्यटन नियमन गर्नु मात्र होइन, नेपालको पर्यटनको भविष्यको दिशा तय गर्नु पनि हो । 'पर्यटनले स्थानीय समुदायलाई कसरी समृद्ध बनाउने ? वातावरण संरक्षण गर्दै अवसर कसरी विस्तार गर्ने ? नेपाललाई केवल संसारको सर्वोच्च शिखरको देश होइन, दिगो पर्वतीय पर्यटन र संरक्षणको विश्व नेतृत्वकर्ता राष्ट्र कसरी बनाउने ? अब यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ,' उनले भनिन् ।
नेपालले सगरमाथालाई केवल पर्यटन गन्तव्यका रूपमा होइन, अन्तर्राष्ट्रिय मित्रता, वातावरणीय संरक्षण, आर्थिक अवसर र जनस्तरका सम्बन्ध विस्तार गर्ने साझा मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन् । 'सगरमाथाले नेपाललाई विश्वमा चिनायो । अब त्यसलाई संरक्षण गर्दै विश्वलाई नेतृत्व दिने अवसर नेपालसामु छ,' उनले भनिन् ।
