कम मिहनेतमा राम्रो आम्दानी हुने देखेपछि खानीखोला गाउँपालिकाका किसान मकै, तोरी जस्ता परम्परागत बाली छोडेर कफी खेतीमा आकर्षित भएका छन् ।
What you should know
काभ्रे — केही वर्षअघिसम्म यतिबेला मकै गोड्ने चटारोमा हुने खानीखोला गाउँपालिका–२ फलामेटारका अधिकांश किसान अचेल कफीका बोट स्याहारिरहेका भेटिन्छन् । कफीका बोटमा मुना पलाइसकेका छन् । किसानहरु फलाउन गोडमेल र स्याहार गर्न खटिएका छन् ।
पहिले यहाँका अधिकांश किसान मकै, कोदो, तोरी र फापर खेतीमै सीमित थिए। जसको उब्जनीले किसानलाई घरव्यवहार गर्न मुस्किल पर्थ्यो । फलामेटारका किसानले अहिले त्यो मुुस्किलबाट बिस्तारै घट्दै गएको छ । अन्न बालीको सट्टामा उनीहरु अहिले कफी खेती (नगदेबाली) तर्फ उन्मुख हुँदैछन् । यहाँका अधिकांशको बारीमा कफीका बोट छन् ।
फलामेटारका ५५ वर्षीय तिलकबहादुर बल अचेल फुर्सदिलो देखिन्छन् । दैनिक रुपमा बालीको स्याहार, खनजोत, गोडमेललगायतका कामले उनलाई भ्याईनभ्याई बनाएको छैन । आफ्नो समय मिलाएर कफी गोडमेल गर्छन् । ‘पहिले यहीँ बारीमा मकै लगाउँदा धेरै दु:ख गर्नुपर्थ्यो,’ उनले भने, ‘अहिले कफी लगाउँदा त्यस्तो दु:ख हुँदैन, बेला–बेला झारपात केलाउने, रोग लागेमा किटनाशक हाले पुग्छ, अरु बालीमा जस्तो यसमा धेरै मिहनेत गरिरहनुपर्दैन ।’
उनका अनुसार अरु बालीको तुलनामा कफीबाट राम्रो फाइदा पनि सकिन्छ । उनले व्यवसायिक रुपमा कफी खेती सुरु गरेको ४ वर्ष भयो । कफीबाट फल लिएर बिक्री गरेको भने दुई वर्ष भयो । ‘अरु बालीमाभन्दा कफीबाट राम्रो फाइदा लिन सकिने रहेछ,’ उनले भने, ‘५ सय बोट कफीबाट पोहोरो ८/९ लाख आम्दानी भएको थियो ।’ उनका अनुसार, मकै, तोरी, फापर लगाउँदा हामीले यति धेरै आम्दानी गर्न सक्दैनौं । कफीमा भने थोरै मिहनेत र कम लगानीमै राम्रो आम्दानी गर्न सकिने उनले बताए ।
रणबहादुर थोकरले २०७२ सालमा महादेवटारमा पहिलो पटक कफी रोपे । त्यो समयमा कफी खेती त्यति प्रख्यात थिएन । नयाँ विरुवा रोप्दा के कस्तो होला, राम्रो होला कि नहोला भन्ने खालका प्रश्न नआएका भने होइनन् । उनले सुरुमा १ रोपनीमा २ सय बोटबाट कफी खेती सुरु गरेका थिए । अहिले उनको बगैंचामा १ हजार कफीका बोट छन् । कफी लगाएको तीन वर्षमै कफीले उत्पादन दिन थाल्यो । उनका अनुसार त्यो समयमा कफीको बजार खासै राम्रो थिएन । त्यतिबेला प्रतिकेजी २५० रुपैयाँमा बेचिन्थ्यो । पछिल्लो वर्षमा भने कफीको मूल्यमा बृद्धि हुँदै गएको उनले बताए । उनका अनुसार कफीको मूल्य बृद्धि हुने क्रममा ५६०, ६४०, ९००, हुँदै अहिले ११ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ भन्ने उदाहरण गाउँका किसानहरुबाट देखेपछि रामटारकी पुण्यकुमारी खुलालले ३ वर्षअघि कफी खेती सुरु गरिन् । मकै, धान, तोरीभन्दा कफीबाट राम्रो फाइदा लिन सकिने कुरा उनी आफैले कफी बिक्री गरेपछि थाहा पाइन् । ‘कफी रोपेको धेरै वर्ष भएको छैन,’ उनले भनिन्, ‘पोहोरबाट बेच्न थालेको हो, पहिलो वर्ष १७ केजी कफी बेचेको थिए, यसपाली ४० केजी बेचेर ४७ हजार पाए, भाउ पनि राम्रै भएकाले अबको वर्ष राम्रै होला ।’ आफू सुरुवाती चरणमा भएकाले कफीबाट फल लिन बाँकी रहेको र यसबाट राम्रो फाइदा लिन सकिन्छ उनलाई विश्वास लागेको छ । उनका अनुसार मकै, तोरी, फापरभन्दा त कफीबाट धेरै आम्दानी लिन सकिने रहेछ ।
गाउँमा कफीको विस्तारसँगै नर्सरी व्यवसाय पनि बढेको छ । नर्सरी सञ्चालन गर्न सुरुका दिन सहज नभएको पदमबहादुर गोलेको अनुभव छ । ‘सुरुमा ३ हजार कफीको विरुवा राखेको बेलामा बिक्री गर्न निकै गाह्रो भयो,’ उनले भने, ‘बोट बेच्न डोकोमा बोकेर गाउँ/गाउँ जाँदा थोरैले किन्थे, अहिले किसान जानकार हुनु भइसकेको छ ।’ उनका अनुसार पहिले डोकोमा बोकेर जाँदा पनि बिक्री हुँदैनथ्यो भने किसान विरुवा खोज्दै नर्सरीसम्म पुग्ने गरेका छन् । ‘अहिले त एक जना किसानले नै ३/४ सय विरुवा लिएर जानुहुन्छ,’ उनले भने, ‘यस वर्षमात्रै १४ हजार विरुवा बिक्री भयो, अहिले त किसानको माग अनुसार विरुवा गर्न नै पुग्दैन ।’
खानीखोला गाउँपालिकाका अधिकांश किसानले मकै, तोरी, फापर छोडेर कफी खेतीलाई रोजेका छन्, जसबाट उनीहरूले राम्रो आम्दानी लिन थालेका छन् ।पाँच वर्षदेखि पाँच रोपनी जमिनमा कफी खेती गरिरहेका अबिरल लोप्चन खेती विस्तार गर्ने योजनामा छन् । उनी कफीको विरुवा पनि बिक्री पनि गर्छन् । ‘मकै बालीभन्दा त कफी खेती कयौं गुणा फाइदा रहेछ,’ उनले भने, ‘गत वर्ष २ लाख र यस वर्ष करिब ४ लाख रुपैयाँ कफीबाट आम्दानी भएको छ, अहिले सुरुवाती चरणमा भएकाले कम उत्पादन भइरहेको छ, राम्रो फल दिन थालेपछि आम्दानी पनि बढ्दै जाला ।’ तुलनात्मक रुपमा फाइदा हुने भएकाले उनले कफी खेतीलाई विस्तार गर्ने सोच बनाएका छन् । अब १० रोपनीमा कफी खेती तथा नर्सरी सञ्चालन गर्ने उनको योजना छ ।
उनका अनुसार कफी खेतीमा धेरै सम्भावना भए पनि खानीखोला गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले पूर्वाधार विकासमा पछि परेको छ । जसकारण यहाँका किसानलाई कृषि कर्म कठिनाई भइरहेको उनले दु:खेसो गरे । ‘बाटो छैन, गाडी चल्दैन, हामीले उत्पादन गरेका सामान बजार पठाउनै गाह्रो छ,’ उनले भने, ‘नर्सरीमा विरुवा छन्, भनेको समयमा त्यो विरुवा किसानलाई पुर्याउन सकिरहेका छैनौं, बाटो मात्रै बनेको भए पनि किसानलाई सामान ढुवानी गर्न सहज हुन्थ्यो, सिचाईंको समस्या पनि उस्तै छ ।’
पछिल्लो समय खानीखोला २ मात्र नभएर पालिकाभर नै कफी खेतीतर्फ किसान आर्कषित भएका छन् । गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई आकर्षित गर्न विभिन्न कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले तीन वर्षयता ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम लागू गर्दै कफी खेतीमा किसानको सक्रिय सहभागिता बढाउने लक्ष्य लिएको छ ।
यस कार्यक्रमअन्तर्गत किसानले आफैं उत्पादन गरेका कफीको आधारमा प्रत्यक्ष रूपमा अनुदान पाउने गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले बताए । उनका अनुसार ‘जसको उत्पादन, उसैलाई अनुदान’ नीति अन्तर्गत कृषकलाई प्रतिकेजी ३५ रुपैयाँ अनुदान दिएपछि कफी खेतीतर्फ कृषकको आकर्षण बढेको हो ।
अनुदान वितरण प्रक्रिया सरल, पारदर्शी र किसानमैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको उनको भनाई छ । खानीखोला गाउँपालिकाले बागमती प्रदेश र जिल्ला कृषि विकास कार्यालयको सहयोग र सहकार्यमा कफी खेतीको सम्भावना भएका क्षेत्रमा बिरुवा वितरण, सिँचाइ सुविधा, प्रविधि हस्तान्तरण, तालिम र उपकरण सहयोगका माध्यमबाट किसानलाई प्रोत्साहन गरिरहेको उनले बताए । ‘फलामेटारमा २६४ मध्ये २६३ घरधुरीले कफी खेती गर्नुभएको छ,’ उनले भने, ‘यहाँको माटो र हावापानी कफी खेतीका लागि सुहाउँदो भएकाले वडा २ फलामेटारलाई पूर्ण कफी पकेट क्षेत्र घोषणा गरिएको छ ।’
उनका अनुसार हाल सातै वडामा व्यावसायिक कफी खेती विस्तार गरिएको छ । करिब दुई लाख बिरुवा रोपिएका छन् । आगामी वर्षदेखि सबै बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक २० देखि ३० करोड रुपैयाँसम्म भित्रिने अनुमान गरिएको उनले बताए । उनका अनुसार कफी खेती केवल बाली होइन, ग्रामीण विकासको माध्यम बनेको छ । उत्पादनमा आधारित अनुदान र प्रविधिमैत्री खेती प्रणालीले कृषकको आत्मविश्वास बढाएको उनको भनाई छ ।
केही वर्षयता काभ्रेमा कफी खेती र उत्पादनमा बृद्धि हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयको तीन वर्षको तथ्यांकमा काभ्रेमा कफी खेती र उत्पादन बृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा २९२ मा हेक्टर क्षेत्रफलमा ४३ मेट्रिक टन कफी उत्पादन भएको थियो । २०८०/८१ मा ३४२ हेक्टर क्षेत्रफलमा ७४.४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
२०८१/८२ मा ३५८ हेक्टर क्षेत्रफलमा ७६ मेट्रिक टन कफी उत्पादन भएको तथ्याङकमा उल्लेख छ । काभ्रेको १३ स्थानीय तहमध्ये महाभारत र खानीखोला गाउँपालिकामा सबैभन्दा बढी कफी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताए । उनका अनुसार बागमती प्रदेश, जिल्ला कृषि विकास कार्यालय र स्थानीय पालिकाको सहयोग र सहकार्यमा यी दुई पालिकामा गत वर्षदेखि कफी प्रर्बद्धन कार्यक्रम सञ्चालन भइरहेको छ ।
बागमती प्रदेशको ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम अन्तर्गत कृषकलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारको ६० प्रतिशत, स्थानीय तहको २० प्रतिशत र कृषकको २० प्रतिशत लगानीमा बिरुवा वितरण, सिँचाइ सुविधा, प्रविधि हस्तान्तरण, तालिम र उपकरण सहयोग जस्ता कार्य भइरहेको उनले जानकारी दिए । यसले यहाँका किसानलाई कफी खेतीतर्फ आर्कषण गर्नुको साथै प्रोत्साहन गरिरहेको उनले बताए । यस प्रकारका कार्यक्रमले काभ्रेको खानीखोला र महाभारत गाउँपालिका अब कफीको हब बन्नेमा उनले विश्वास व्यक्त गरे ।
