पहिले सरकारले ठूलो आकारको बजेट ल्याउँदा विरोध गर्दै आएका वाग्लेले अर्थमन्त्रीका रूपमा आफैंले भने पुरानै परम्परालाई निरन्तरता दिए
What you should know
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको संशोधित बजेटको तुलनामा २५ प्रतिशतले आकार बढाई आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । सरकारबाहिर रहँदा ठूलो आकारको बजेटमा विरोध गर्दै आएका उनले अर्थमन्त्रीका रूपमा पहिलो बजेट ल्याउँदा पुरानै परम्परालाई निरन्तरता दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । राजस्व संकलन र वैदेशिक अनुदानमा व्यापक वृद्धि गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको बजेट चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा ४ खर्ब ३६ अर्ब रुपैयाँले बढी हो ।
राजस्व संकलन नपुग्ने र खर्च कम हुने अनुमानपछि चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षाबाट संशोधन गरी १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरिएको छ । यसलाई मध्यनजर गरेर योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत समितिले १९ खर्ब ६४ अर्बको बजेट ल्याउन सुझाव दिएको थियो । यसमा समेत १ खर्ब ६० अर्बले वृद्धि गरी अर्थमन्त्री वाग्लेले बजेट ल्याएका हुन् ।
‘योजना आयोगले तोकेको सिलिङभन्दा डेढ खर्ब बढीको बजेट अस्वाभाविक हो भन्ने अर्थमन्त्रीलाई पनि थाहा छ,’ पूर्वअर्थमन्त्री वर्षमान पुनले भने, ‘विगतमा १८/१९ खर्बको बजेट ल्याउने र पछि त्यसलाई मध्यावधि समीक्षाबाट १६/१७ खर्बतिर झार्ने चलन छ । त्यसकारण साढे २१ खर्बको बजेट वास्तविक होइन भन्ने अर्थमन्त्रीलाई पनि थाहा छ ।’
आगामी आर्थिक वर्षका लागि कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् कुल विनियोजनको ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले बढी हो । चालु वर्षको तुलनामा आगामी वर्षका लागि सरकारले चालु खर्च र वित्तीय व्यवस्थापन शीर्षकमा बजेट बढाएको छ । पुँजीगत खर्च करिब २५ अर्बले मात्र बढाइएको छ । यो सरकारले पनि अनिवार्य दायित्वकै चापमा परेर विकासका लागि गत वर्षभन्दा धेरै बजेट विनियोजन गर्न सकेको देखिँदैन ।
उल्लिखित खर्चका स्रोतका रूपमा सरकारले राजस्वबाट १४ खर्ब ०५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड बेहोर्ने योजना बनाएको छ । राजस्व र अनुदानबाट संकलित रकमबाहेक ६ खर्ब ५७ अर्ब २९ करोड अपुग हुने देखिन्छ । ‘सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ परिचालन गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने, ‘आगामी आर्थिक वर्ष २ खर्ब ४५ अर्ब ८९ करोड आन्तरिक ऋणको साँवा भुक्तानी हुने हुँदा खुद १ खर्ब ६४ अर्ब ११ करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ ।’
चालु आर्थिक वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा १२ जेठसम्म १० खर्ब २६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो वार्षिक लक्ष्यको करिब ७० प्रतिशत हो । यो वर्ष सरकारले चालु खर्च ११ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थामा ३ अर्ब ७५ करोड विनियोजन गरेको छ ।
