किसानका लागि बजेटमा के छ ? 

सरकारले कृषि क्षेत्रका लागि मात्रै ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याएको छ । बजेटमा किसानलाई सिधै राहत दिने, खेतीलाई व्यावसायिक बनाउने र अनुदानको दुरुपयोग रोक्ने योजना समावेश गरिएको छ ।

जेष्ठ १५, २०८३

सुरज कुँवर

What's in the budget for farmers?

What you should know

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पशुपालन, किसान सहायता, मल, बीमा, भूमि व्यवस्थापन र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेका छन् । 

सरकारले कृषि क्षेत्रका लागि मात्रै ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याएको छ । बजेटमा किसानलाई सिधै राहत दिने, खेतीलाई व्यावसायिक बनाउने र अनुदानको दुरुपयोग रोक्ने योजना समावेश गरिएको छ ।

सरकारले नयाँ कृषि वा पशुपालन व्यवसाय सुरु गर्ने किसानलाई प्रोत्साहन दिन नयाँ योजना ल्याएको छ । कम्तीमा २ करोड रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गर्ने किसानले ४० प्रतिशतसम्म सरकारी अनुदान पाउनेछन् । यो रकम चार वर्षसम्म किस्ताबन्दीमा फिर्ता दिइने व्यवस्था गरिएको छ ।

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारले ३२ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ । धान, गहुँलगायत मुख्य बाली लगाउने समयमा मल अभाव हुन नदिन ‘मल आपूर्ति क्यालेन्डर’ बनाइने सरकारको योजना छ ।

खेतीपाती र पशुपालनमा हुने क्षति कम गर्न कृषि तथा पशु बीमामा किसानले तिर्नुपर्ने शुल्कको ८० प्रतिशतसम्म सरकारले बेहोर्ने भएको छ। यसका लागि २ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नेपालमै रासायनिक मल उत्पादन गर्ने योजना पनि बजेटमा पुन: समेटिएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा ‘ग्रीन युरिया’ उद्योग स्थापना गरिनेछ । सरकारले उत्पादित मल खरिद गरिदिने ग्यारेन्टी र सस्तो बिजुली दिने घोषणा गरेको छ।

अब किसानले गाउँमै प्राविधिक सेवा पाउने भएका छन्। प्रत्येक स्थानीय तहमा कृषि प्राविधिक खटाइने र किसानलाई डिजिटल माध्यमबाट खेतीसम्बन्धी जानकारी उपलब्ध गराइनेछ। आगामी वर्षभित्र ‘किसान परिचयपत्र’ वितरण सुरु गर्ने लक्ष्य सरकारले लिएको छ।

खेती नभएको बाझो जमिन र नदी उकास जग्गालाई उपयोगमा ल्याउन स्थानीय तहमा ‘भूमि बैंक’ स्थापना गरिने भएको छ। निजी क्षेत्रलाई धेरै जग्गा एकै ठाउँमा समेटेर व्यावसायिक खेती गर्न प्रोत्साहन गरिनेछ । बाँझो जग्गा कृषि कम्पनीलाई दिएर त्यसबापत शेयर पाउने व्यवस्था पनि मिलाइने भएको छ ।

फलफूल र तरकारी प्रशोधन उद्योग विस्तारलाई पनि बजेटले प्राथमिकता दिएको छ। सिरहा र सप्तरीमा आँप तथा अमिलो फल प्रशोधन केन्द्र र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिनेछ। कर्णालीमा स्याउ र ओखर खेतीका लागि विशेष ‘जोन’ बनाइने र कोल्ड स्टोर निर्माण गरिने भएको छ।

सरकारले किसानलाई सस्तो ऋण दिने र कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था पनि अघि सारेको छ । किसान र व्यापारीबीच करार खेतीलाई कानुनी व्यवस्था गर्न नयाँ ‘कृषि विधेयक’ संसद्‌मा लैजाने घोषणा गरिएको छ । गोदाममा राखिएको कृषि उपजको कागज देखाएर बैंकबाट ऋण लिन सकिने व्यवस्था पनि गरिनेछ ।

पशु रोग नियन्त्रणका लागि नेपालमै खोप उत्पादन गरिने भएको छ। खोरेतलगायत रोग नियन्त्रणका लागि २४ करोड रुपैयाँ छुट्याइएको छ भने हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन केन्द्र स्थापना गरिनेछ।

त्यस्तै, घरजग्गा कारोबारलाई डिजिटल बनाउने योजना पनि बजेटमा समावेश गरिएको छ। ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी सेवा अनलाइनमार्फत सुरु गरिनेछ। अब जग्गा रोक्का, फुकुवा, किनबेच र राजस्व तिर्ने काम अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइने भएको छ।

सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्यसमेत राखेको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully