मोरङका उद्योगी व्यवसायी भन्छन्– निजी क्षेत्र मैत्री बजेट

उत्पादन, निर्यात, कर छुट र अन्तःशुल्क सहुलियतजस्ता व्यवस्थाले निजी क्षेत्रलाई राहत र उत्साह दिएको उद्योगी व्यवसायीहरूको प्रतिक्रिया छ ।

जेष्ठ १५, २०८३

पर्वत पोर्तेल

Morang industrialists say private sector-friendly budget

What you should know

विराटनगर — सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक २०८३/०८४ को बजेटलाई मोरङका उद्योगी–व्यवसायीहरूले निजी क्षेत्र मैत्री भन्दै स्वागत गरेका छन् । 

उत्पादन, निर्यात, कर छुट र अन्तःशुल्क सहुलियतजस्ता व्यवस्थाले निजी क्षेत्रलाई राहत र उत्साह दिएको उनीहरूको प्रतिक्रिया छ ।

उद्योगीहरूले लामो समयदेखि उठाउँदै आएका धेरै माग बजेटमार्फत सम्बोधन भएको बताएका छन् । विशेषगरी उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, निर्यात व्यापारमा अनुदान, केही वस्तुमा अन्तःशुल्क हटाउने व्यवस्था तथा आयकर सहुलियतका कारण आर्थिक गतिविधि चलायमान हुने आशा पलाएको उद्योगीहरूको भनाइ छ । 

एसियन थाइ फुडका सञ्चालक तथा विराटनगरका उद्योगी महेश जाजुले यसपटक सरकारले निजी क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएको बताए । विगतका बजेटमा निजी क्षेत्रलाई अघि बढाउने विषयमा पर्याप्त प्राथमिकता नदिइएको उल्लेख गर्दै उनले यसपटकको बजेटले आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । ‘यो बजेटले उद्योग–व्यवसायलाई चलायमान बनाउने देखिन्छ,’ उनले भने ।Morang industrialists say private sector-friendly budget

उनका अनुसार सरकारले ३६० वस्तुमा अन्तःशुल्क हटाउने निर्णयले उद्योगीहरू उत्साहित बनेका छन् । निर्यात व्यापारमा दिइएको अनुदान र उत्पादन क्षेत्रलाई सहुलियत दिने नीतिले स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उनले बताए । ‘समग्रमा बजेट राम्रो छ, अब यसको प्रभावकारी कार्यान्वयनको खाँचो छ,’ उनले भने ।

जाजुले सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रण नगरी सरकारले राखेको राजस्व लक्ष्य पूरा गर्न कठिन हुने टिप्पणी गरे । ‘गत वर्ष करिब १० खर्ब राजस्व उठेको थियो, यसपटक १४ खर्बको लक्ष्य छ,’ उनले भने, ‘तस्करी नियन्त्रण र बजार व्यवस्थापन प्रभावकारी नभए लक्ष्य भेट्टाउन चुनौती हुन्छ ।’

उद्योग संगठन मोरङकी कार्यकारी सदस्य तथा महिला समितिकी अध्यक्ष किरण व्यासले विगतको तुलनामा यसपटकको बजेट धेरै सकारात्मक रहेको बताइन् । ‘यो बजेट निजी क्षेत्रको पक्षमा आएको छ । उद्योगी–व्यवसायीलाई यसले उत्साहित बनाएको छ,’ उनले भनिन् ।Morang industrialists say private sector-friendly budget

उनले निर्यात व्यापारमा अनुदान, आयकर छुट, अन्तःशुल्क मिनाह तथा उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिने नीतिलाई महत्वपूर्ण मानेकी छन् । ‘सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको देखिन्छ,’ उनले भनिन्, ‘विशेषगरी उद्योग र व्यवसायलाई राहत दिने संकेत बजेटले गरेको छ ।’

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषय बजेटमार्फत सम्बोधन भएको बताए । ‘सरकारले निजी क्षेत्रले अपेक्षा गरेअनुसारको बजेट ल्याएको छ,’ उनले भने, ‘यसपटकको बजेटले लगानीकर्तामा विश्वास जगाउने काम गरेको छ ।’Morang industrialists say private sector-friendly budget

उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा बजेट केन्द्रित देखिएको बताए । यद्यपि, बजेटको आकार ठूलो भएकाले कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहने उनको भनाइ छ । ‘नीति राम्रो भए पनि कार्यान्वयन प्रभावकारी हुन सके मात्रै यसको परिणाम देखिन्छ,’ उनले थपे । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully