संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिरहेका छन् ।
113 Updates
सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गरिने भएको छ । यस्तै, मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
सरकारले संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा नेपालको भूमिकालाई सशक्त बनाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले क्षेत्रीय सन्ननिकटताका लागि सुदृढ कूटनीति अगाडि बढाइने बताएका छन् । सौम्य शक्ति विस्तारका लागि बौद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योगध्यान, सांस्कृतिक विविधता शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागिता लगायतका विषयहरुको उन्नत प्रसार गरिने उनले बताएका छन् । विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता द्विपक्षीय व्यापार तथा लगानी पर्यटन प्रवर्द्धन गर्न आर्थिक कूटनीतिलाई बढाइने उनले बताएका छन् ।
कृषि तथा पशुपंक्षी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, हुम्लाको हिल्सास्थित सीमा नाकाका पशु क्वारेन्टाइन स्थापना गरिने भएको छ । कृषि बिमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि २ अर्ब १९ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
सरकारले स्वार्थको द्वन्द्व सम्बन्धी कानुन बनाउने भएको छ । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले नीतिगत भ्रष्टाचार अन्त्यका लागि यस्तो कानुन बनाइने अर्थमन्त्री स्वर्णीम वाग्लेले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यस्तो कानुन बनाउने भएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गरिने भएको छ र भरतपुर विमानस्थमा रात्रि उडान सञ्चालन गरिने भएको छ । यस्तै, सुर्खेत विमानस्थल प्रदेश सरकारसFगको सहकार्यमा विस्तार गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
काठमाडौं उपत्यकाको सल्लाघारी, कोड्कु, धोबिघाट, गोकर्ण र हनुमानघाटमा दैनिक ७ करोड २७ लाख लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन । यसका लागि ३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उपत्यका बाहिर खाँदबारी,बेलौरी,टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने पनि अर्थमन्त्री वाग्लेले बताए ।
ग्रेट हिमालय ट्रेललगायत अन्य पदमार्गलाई रणनितिक पदमार्ग बनाइने र खप्तड, रामारोशन, बडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी, मुक्तिनाथ जोडेर उच्च पहाडी पर्या-पर्यटन पदमार्गलाई डाँफे रुटको रुपमा विकास गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
सरकारले ग्रेट हिमालयन ट्रेललगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रुपमा विकास गर्ने उल्लेख गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षको बजेटमा खप्तड, रामारोशन, बडीमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्यापर्यटन पदमार्ग डाँफे रूट विकास गरिने जनाएका छन् ।
खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ । यस्तै, सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित ११ औं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षाबारे समेटिएका मुख्य बुँदाहरु :
• शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन
• वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालयमार्फत अध्ययन गर्ने सुविधा दिइने
• उत्कृष्ट विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गरिने
• विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई नवप्रवर्द्धन र सीपमूलक बनाइने
• सम्पूर्ण शिक्षण संस्थामा सफा शौचालय अभियान सञ्चालन गरिने
सरकारले प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा २ हजार क्षमताको इन्डोर मल्टिप्रपोज स्टेडियम अगामी ३ वर्षभित्र निर्माण गर्ने घोषणा भएको छ ।
सरकारले आगामी बजेटमा जेन-जी आन्दोलनका घाइतेहरूका लागि उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ०८३/८४ को बजेट भाषणका क्रममा भने, ‘जेन-जी आन्दोलनका सहिदको सम्मान गरिनुका साथै सहिद परिवारको लागि सम्मानजनक आर्थिक सहायकत सुनिश्चित गरिसकिएको छ । आन्दोलनका घाइतेको नि:शुल्क उपचार, अवस्थाअनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ ।’
खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै अगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाबारे केही नयाँ योजना अघि सारेका छन् । बजेटमा स्वास्थ्यबारे समेटिएका केही मुख्य बुँदाहरु :
• निःशुल्क वितरण भइरहेका २५ प्रकारका औषधि नेपालमै उत्पादन गरिने
• तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने
• चिकित्सा, नर्सिङ, सूचना प्रविधिलगायत उच्च शिक्षामा लागू कोटा प्रणाली आगामी आर्थिक वर्षसम्म पुनरावलोकन गरिने
• नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउँदै स्वास्थ्य सेवामा सुधार र विस्तार गरिने
सरकारले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको प्रवर्द्धन र नियमनका लागि नयाँ नीति अघि सारेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दे अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको प्रत्यक्ष सुपरिवेक्षणमा रहने गरी ‘फिनटेक मार्केटप्लेस’ स्थापना गर्ने घोषणा गरेका हुन् ।
अति कम विकसित मुलुकको राष्ट्र संघीय दर्जाबाट निस्किन हाल न्यूनतम योग्यता पुगेको भएपनि अर्को २ वर्ष घनिभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय भएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
अर्थमन्त्री स्वर्णीम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटमा प्रस्तुत खानेपानीबारेका केही मुख्य बुँदा :
• तराई–मधेशमा डिप बोरिङ गरिने
• तराई–मधेशका २८० खानेपानी आयोजना सम्पन्न गरिने
• दमक, धरान र इटहरीमा खानेपानी परियोजना सञ्चालन गरिने
• राष्ट्रव्यापी पानी परीक्षण योजना सञ्चालन गरिने
• फोहोर पानी प्रशोधन योजना सञ्चालनमा ल्याइने
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सडक पूर्वाधारबारे गरेका मुख्य घोषणाहरू :
• काठमाडौं–तराई/मधेश द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन
• तीन वर्षभित्र राष्ट्रिय तथा रणनीतिक राजमार्गका पुल निर्माण सम्पन्न गरिने
• आगामी साउनदेखि सुरुङमार्ग सञ्चालनमा ल्याइने
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले ब्रिफकेस नबोक्ने भएका छन् । उनले नेपाली कागजबाट बनेको फाइल बोकेर संसद्मा प्रस्तुत हुनेछन् । यसअघिका अर्थमन्त्री वर्षमान पुन र विष्णु पौडेलले अल्लोबाट बनेको ब्याग बोकेर संसद्मा बजेट प्रस्तुत गरेका थिए । -अंगद ढकाल





