झिम्रुक जलविद्युत्‌को एउटा ट्रान्सफर्मर बिग्रिँदा ३ जिल्ला अन्धकार

ट्रान्सफर्मर बिग्रिएपछि प्युठान, रोल्पा र अर्घाखाँची जिल्लाको अधिकांश क्षेत्रमा विद्युत् सेवा ठप्प जस्तै छ ।

जेष्ठ १४, २०८३

काशीराम डाँगी

Three districts plunged into darkness after a transformer at Jhimruk Hydropower Plant breaks down

What you should know

प्युठान — माण्डवी गाउँपालिका–३ दारीचौरस्थित झिम्रुक जलविद्युत् केन्द्रको मुख्य पावर ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि रोल्पा, प्युठान र अर्घाखाँची गरी तीन जिल्ला ५ दिनदेखि अन्धकार बनेका छन् । विद्युत् प्राधिकरण वितरण केन्द्रहरूले अस्थायी रुपमा लाइन जडान गरे पनि निरन्तर हुन नसक्दा सर्वसाधारण मारमा परेका छन् ।

बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी)को पूर्ण स्वामित्वमा रहेको १२ मेगावाट क्षमताको उक्त केन्द्रमा जडित १५ एमभीए क्षमताको ट्रान्सफर्मरमा जेठ १० गते राति समस्या आएको थियो । ट्रान्सफर्मर बिग्रिएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका अधिकांश क्षेत्रमा ५ दिनदेखि विद्युत् सेवा ठप्पजस्तै छ ।

विद्युत् भवाले ती जिल्लाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार टावर र खानेपानीका लिफ्टिङ सिस्टमहरू नराम्ररी प्रभावित भएका छन् । साथै स्थानीय बासिन्दाको दैनिक जनजीवन कष्टकर बनेको छ भने उद्योगधन्दा तथा व्यापारिक प्रतिष्ठानहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

करिब एक सातादेखि बत्ती नहुँदा उत्पन्न संकट टार्न नेपाल विद्युत् प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्था त गरिएको छ तर पर्याप्त र स्थिर छैन । प्राविधिकहरूले अर्घाखाँची र भालुवाङ क्षेत्रको वैकल्पिक केन्द्रीय प्रसारण लाइनबाट बिजुली डाइभर्ट गरेर रोल्पाको सदरमुकाम लिवाङ र प्युठानका केही क्षेत्रमा आपत्‌कालीन लाइन जडान गरेका छन् । बुधबार राति र बिहीबार बिहान मात्रै लाइन सञ्चालनमा आएको थियो । समस्या समाधान नहुँदासम्म वैकल्पिक व्यवस्था गरिएको रोल्पास्थित प्राधिकरण कार्यालय प्रमुख ईश्वर विष्टले बताए ।

वैकल्पिक लाइनको क्षमता कम र रोल्पा–प्युठानमा विद्युत्‌को माग (लोड) अत्यधिक भएका कारण प्रणालीले धान्न सकेको छैन । माग र आपूर्तिबीच सन्तुलन नमिल्दा छिनछिनमै लाइन काटिने (ट्रिपिङ हुने) र आउने–जाने समस्याबाट उपभोक्ता आजित भएका छन् । प्राविधिकहरूका अनुसार सबै क्षेत्रमा एकैपटक बत्ती दिन नसकिने भएकाले आलोपालो (फिडर रोटेसन) गरेर बिजुली वितरण भइरहेको छ । विशेषगरी विहान र बेलुकाको पिक आवर (उपभोग बढी हुने समय) मा लोड धान्न नसकेर बत्ती निभ्ने गरेको छ ।

तीन जिल्ला सञ्चार र विद्युत्‌विहीन भएपछि यसबारे संघीय संसद्, लुम्बिनी प्रदेश सभा र मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण गराइएको छ । स्थानीय जनप्रतिनिधि र दलका नेताहरूले नागरिकलाई तत्काल राहत दिन र वैकल्पिक लाइन व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । बुटवल पावर कम्पनी (बीपीसी)का अनुसार बिग्रेको १५ एमभीए ट्रान्सफर्मर निकै ठूलो र जटिल उपकरण भएकाले यसको स्थलगत मर्मत वा नयाँ प्रतिस्थापनका लागि केही दिन वा हप्ता लाग्न सक्छ ।

कम्पनीले प्राविधिक समस्याका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमा मागेको छ । सन् १९९० को दशकमा करिब २ करोड अमेरिकी डलरको वैदेशिक सहायता (नोराड र यूएमएन)मा निर्मित यो रन–अफ–रिभर आयोजनाको आफ्नै ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नभएसम्म यस क्षेत्रमा पहिले जस्तो २४सैं घण्टा स्थिर रुपमा बत्ती पाउन अझै केही समय कुर्नुपर्ने छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully