उद्योग क्षेत्रमा एक वर्षमै झन्डै ५ खर्ब लगानी स्वीकृति

२०८२ को फागुनसम्म उद्योग र लगानी बोर्डबाट ४ खर्ब ९२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ । योसँगै २०८२ फागुनसम्म कुल स्वीकृत लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

जेष्ठ १४, २०८३

होम कार्की

Nearly 5 trillion rupees investment approvals in the industrial sector in one year

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षमा उद्योग क्षेत्रमा लगानी बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म उद्योग दर्तामा ११.८ प्रतिशतले बढेको छ । यसले आन्तरिक श्रम बजारमा रोजगारी सिर्जना बढ्ने देखिएको छ ।

अर्थमन्त्री स्वर्णीम वाग्लेले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८२ को फागुनसम्म ११ सय १७ उद्योग दर्ता भएको छ । अघिल्लो फागुनसम्म ९ हजार ९ सय ६३ वटा थियो । जसमा ठूला उद्योग १३.९ प्रतिशत, मझौला २० प्रतिशत उद्योग र साना उद्योग ६६.१ प्रतिशत रहेको छ । यी उद्योग सञ्चालनबाट ७ लाख ८५ हजार ५ सय २० जना प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

स्वदेशमा गुणस्तरीय रोजगारीको सुनिश्चित नहुँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढिरहेको छ । गत फागुन मसान्तसम्म नयाँ र पुरानो गरी श्रम स्वीकृति लिनेको संख्या ५ लाख २५ हजार जना रहेको छ । रोजगार सेवा केन्द्रमा ७ लाख ४५ हजार ४ सय ३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । ‘नेपालको युवा जनशक्तिको आधारमा अझै लगानी आएको छैन । जसले ठूलो दबाब अझै वैदेशिक रोजगारमै निर्भर छ,’ रोजगार विज्ञ युवराज बस्नेतले भने,‘आन्तरिक बजारमा अपेक्षाकृत आधारमा लगानी बढेको छैन ।’

२०८२ को फागुनसम्म उद्योग र लगानी बोर्डबाट ४ खर्ब ९२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ । योसँगै २०८२ फागुनसम्म कुल स्वीकृत लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । स्वीकृत लगानीमध्ये ठूला उद्योगको हिस्सा ८२.२ प्रतिशत, मझौला उद्योगको ९.४ प्रतिशत र साना उद्योगको ८.५ प्रतिशत रहेको छ ।

दर्ता भएकामध्ये सवैभन्दा बढी हिस्सा उत्पादनमूलक उद्योग ३३.३ प्रतिशत, सेवामूलक उद्योग २३.९ प्रतिशत, पर्यटन उद्योग २३.५ प्रतिशत र अन्य उद्योगको हिस्सा १९.३ प्रतिशत छ । लगानीका आधारमा सबैभन्दा बढी ऊर्जामूलक उद्योगमा ५५.१ प्रतिशत छ । चालु आवमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगको हिस्सा ४५.१ प्रतिशत छ ।

चालु आवको फागुन मसान्तसम्म विदेशी लगानी भने कम छ । ५५४ परियोजनामा ४० अर्ब ७० करोड विदेशी लगानी स्वीकृति भएको छ । सोही अवधिमा गत आर्थिक वर्षमा चारसय २७ वटा परियोजनामा ४४ अर्ब ६६ करोडबराबरको विदेशी लगानी स्वीकृति भएको छ ।

हालसम्म ७ हजार ९ सय ५१ वटा परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृति भइसकेको छ । यसबाट ३ लाख ६२ हजार रोजगारी सिर्जना हुने अनुमान छ । कुल लागनीका आधारमा सबैभन्दा बढी चीनको ४८ प्रतिशत, भारतको १७.९ प्रतिशत, हङकङको ५ प्रतिशत, दक्षिण कोरियाको ४.२ प्रतिशत छ ।

सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र उद्योग तथा लगानी सहजीकरण/अभिवृद्धि गर्न औद्योगिक व्यवसाय ऐन–२०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ कम्पनी ऐन–२०६३ र विशेष आर्थिक क्षेत्र ऐन–२०७३ लाई शंशोधन भएको छ ।

यता औद्योगिक वातावरण बनाउन भन्दै ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षामा अझै निजी क्षेत्रको रोजगारदाता सहभागी भएको छैन । हालसम्म २३ हजार २ सय १० जना रोजगारदाता सामाजिक सुरक्षामा आबद्ध भएका छन् ।

चालु आवमा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार र स्वरोजगार क्षेत्रबाट थप ४ लाख ७१ हजार ८ सय तीन जना मात्रै सामाजिक सुरक्षामा आबद्ध भएका छन् । जसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने रहेका छन् । उनीहरूले कोषमा नियमीत योगदान गर्ने गरेको छैन । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताबाट १ खर्ब ४ अर्ब २२ करोड रकम संकलन भइसकेको छ । जसमा १९ अर्ब २४ करोड दाबी भुक्तानी भइसकेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully