बचत तथा ऋण सहकारीको नियमनका लागि राष्ट्रिय सहकारी प्राधिकरणको भूमिका प्रभावकारी बनाउन आयोगले सुझाव दिएको छ ।
काठमाडौँ — सहकारीमा भएको बेथिति जाँचबुँझ आयोगले हालको सहकारी विभाग खारेज गर्न सुझाएको छ । बचत तथा ऋण सहकारीको नियमनका लागि राष्ट्रिय सहकारी प्राधिकरणको भूमिका प्रभावकारी बनाउन आयोगले सुझाव दिएको छ । बाँकी सहकारीका लागि सहकारी मन्त्रालयमा नीतिगत र कानुनी कार्यका लागि सानो आकारको ‘सहकारी महाशाखा’ कायम राख्न आयोगले सुझाएको हो ।
‘विद्यमान सहकारी विभागलाई खारेज गरी, मन्त्रालयमा नीतिगत र काननी कार्यका लागि सानो आकारको ’सहकारी महाशाखा’ कायम राखे र बचत तथा ऋणको मुख्य कारोबार गर्नेबाहेकका सहकारीहरूको प्रवर्द्धन र सुपरिवेक्षण को कार्य गर्ने गराउन लगाउने जिम्मेवारी दिनु उपयुक्त हुन्छ,’ आयोगले भनेको छ, ‘यस्ता सहकारी संस्थाहरूको सुपरिवेक्षण र अनुगमन विषय संग सम्बन्धित सरकारी निकायहरूले भौगोलिक कार्यक्षेत्र अनुसार गर्ने कानुनी प्रबन्ध मिलाउनु पर्छ ।’
सहकारी प्रवर्द्धन कोषको रकम राष्ट्रिय सहकारी नियमन प्राधिकरणअन्तर्गत ल्याई सहकारीहरूको निरीक्षण, क्षमता विकास तथा अन्य सहकारी प्रवर्द्धन सम्बन्धी कार्यमा खर्च गर्ने गरी व्यवस्था मिलाउन पनि आयोगले भनेको छ ।
यस्तै, सहकारी प्रशिक्षण केन्हरूलाई प्राधिकरणमातहत ल्याई सञ्चालक, कर्मचारी र सदस्यहरूको वित्तीय साक्षरता, सहकारी व्यवस्थापन, ऋण व्यवस्थापन, वित्तीय विश्लेषणसम्बन्धी क्षमता विकासका तालिमहरू संचालन गर्ने कुरामा जोड दिर्ने आयोगको सुझाव छ ।
