पर्सामा गहुँ उत्पादन घट्यो, भारतबाट आयात बढ्यो

यस वर्ष २३ हजार २ सय हेक्टरमा खेती विस्तार भए पनि प्रतिहेक्टर उत्पादन २.६ मेट्रिक टनमा झरेपछि कुल उत्पादन ६० हजार ३२० मेट्रिक टनमा सीमित भएको छ ।

जेष्ठ १२, २०८३

शंकर आचार्य

Wheat production in Parsa decreases, imports from India increase

What you should know

पर्सा — पर्सामा यस वर्ष गहुँ उत्पादन घटेको छ । खेतीयोग्य क्षेत्र बढे पनि प्रतिहेक्टर उत्पादन घट्दा कुल उत्पादनमा उल्लेख्य कमी आएको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकले देखाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा २३ हजार २० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । प्रतिहेक्टर ३‍.७३ मेट्रिक टन उत्पादन दरका आधारमा ८५ हजार ८ सय ६५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर, यस वर्ष २३ हजार २ सय हेक्टरमा खेती विस्तार भए पनि प्रतिहेक्टर उत्पादन २.६ मेट्रिक टनमा झरेपछि कुल उत्पादन ६० हजार ३२० मेट्रिक टनमा सीमित भएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले सिँचाइ अभाव र बालीमा गाज लाग्ने समयमा परेको वर्षाले उत्पादनमा असर परेको बताए । 'यस वर्ष हिउँदे वर्षा नहुँदा गहुँबालीले आवश्यक प्राकृतिक सिँचाइ पाएन,' उनले भने, 'पछि गाज लाग्ने बेलामा परेको पानीले उल्टै बाली ढल्ने र बिग्रिने समस्या भयो ।'

स्थानीय उत्पादन घटेसँगै भारतबाट गहुँ आयात भने बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म वीरगन्ज नाकाबाट भारतबाट ठूलो परिमाणमा गहुँ आयात भएको छ । भन्सार तथ्यांकअनुसार चालु आवको वैशाखसम्म २८ करोड रुपैयाँ बराबरको ६५ लाख १९ हजार किलो गहुँ आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १७ करोड रुपैयाँ बराबरको ३५ लाख ३८ हजार किलो मात्र गहुँ आयात भएको थियो ।

स्थानीय उत्पादन घटेपछि उद्योग तथा खाद्य प्रयोजनका लागि भारतबाट गहुँ आयात बढेको हो । वीरगन्ज नाका मुलुककै प्रमुख खाद्यान्न तथा कृषि उपज आयात हुने नाकामध्ये एक मानिन्छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully