कुलेखानीको जलविद्युत् प्रणाली पूर्णत: डिजिटल र स्वचालित

४३ वर्षपछि आयोजनाका सबै उपकरण प्रतिस्थापन गर्दै अत्याधुनिक स्काडा प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको छ ।

जेष्ठ १२, २०८३

प्रताप विष्ट

Kulekhani's hydroelectric system is fully digital and automated.

What you should know

हेटौंडा — नेपालको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी प्रथम जलविद्युत ६० र दोस्रो ३२ मेगावाटको सञ्चालन प्रणालीमा प्राविधिक रुपान्तरण गरिएको छ । स्थापनाको ४३ वर्षपछि  आयोजनाका पुराना र प्रणालीगत रुपमा कमजोर उपकरणलाई पूर्ण रूपमा विस्थापित गरी अत्याधुनिक स्काडा प्रणाली जडान गरिएको हो । 

यस प्राविधिक उपलब्धिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कुलेखानीमा नै आएर सोमबार जानकारी लिएका थिए । यसअघि कुलेखानीका टर्बाइन र मेसिन चलाउन, बन्द गर्न र विद्युत् उत्पादनको मात्रा थपघट गर्न कर्मचारीहरूले म्यानुअल (हाते) विधिबाटै कमाण्ड दिनुपर्ने अवस्था थियो । तर, नयाँ स्काडा प्रणाली जडान भएसँगै अब सिंगो जलविद्युत केन्द्र कम्प्युटर सफ्टवेयरको कमान्डबाट चल्ने नेपाल विद्युत् प्राधिकरण अटोमेसन आयोजना प्रमुख उमंग कार्कीले बताए । 'तोकिएकै समयमा कुलेखानी आयोजनाको पहिलो र दोस्रो युनिटका सबै उपकरणमा नयाँ स्काडा जडान गरिएको छ,' उनले भने, 'अब कम्प्युटरबाट नै कुलेखानी पहिलो र दोस्रोका उपकरण सञ्चालन हुनेछन्, अब म्यानपावर चाहिँदैन ।’

करिब २५ करोडको लागतमा स्काडा जडान सकिएको आयोजना प्रमुख कार्कीले बताए । ‘दक्ष जनशक्ति २४सै घण्टा खटिएर तोकिएकै समयमा काम सकिएको हो,' उनले भने ।

कुलेखानी प्रथम र दोस्रो इकाइका सबै टर्बाइन तथा मेसिन अब कुनै मानवीय त्रुटिबिना सिधै कन्ट्रोल रुमको कम्प्युटर स्क्रिनबाटै पूर्ण रूपमा स्वचालित रुपमा सञ्चालन र नियन्त्रण हुनेछन् ।

कुलेखानी पहिलो र दोस्रो पूर्ण रुपमा डिजिटल र अटोमेटेड भएसँगै यसले भविष्यमा निर्माण हुने भनिएको १०० मेगावाटको कुलेखानी पम्प–स्टोरेज आयोजना र कुलेखानी तेस्रोको अटोमेसनका लागि बलियो प्राविधिक जग खडा गरेको कुलेखानी प्रथमका प्रमुख प्रल्हाद राउतले बताए ।

नयाँ प्रणालीले पानीको बहाव र इन्द्रसरोवर जलाशयको सतहलाई सटिक रुपमा मापन गर्ने हुँदा वर्षायाममा आउने आकस्मिक बाढी व्यवस्थापन र सुक्खा यामका लागि पानीको सञ्चिति रणनीति बनाउन ऊर्जा मन्त्रालयलाई थप सहज हुने प्रमुख कार्कीको भनाइ छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully