२७.३ किमिमा ठेक्का गरिएको करिब एक वर्षपछि ३.२ किमि सडक खण्डमा काम गर्दै जाइका।
What you should know
काठमाडौँ —
बीपी राजमार्गअन्तर्गत पिप्ले–बर्खेखोला खण्डको ३.२ किमि सडक दुई लेनको बनाउने गरी शिलान्यास गरिएको छ । राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा क्षति गरेको थियो ।
क्षतिग्रस्त राजमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउने खण्ड ३.२ किमिबाहेक २७.३ किमिमा मात्र ठेक्का भई काम अघि बढाइएको थियो । त्यही खण्डको निर्माण अघि बढाउने गरी २७.३ खण्डमा ठेक्का लागेको करिब एक वर्षपछि पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले सोमबार ३.२ किमि खण्डको शिलान्यास संयुक्त रूपमा गरेका हुन् । शिलान्यासमा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुकी पनि सहभागी थिए । बाढीले क्षति गरेको खण्डमा जापान सरकारको अनुदानमा बनाउने गरी सडकको शिलान्यास गरिएको सचिव सिग्देलले बताए ।
२ अर्ब ६० करोड रुपैयाँ अनुदानमा सडक निर्माण गर्न लागिएको हो । डिसेम्बर २०२७ सम्म यसको निर्माण सकिसक्नुपर्नेछ । निर्माणको ठेक्का जापानी कम्पनी सिमिजु कर्पोरेसनले लिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाए । ‘निर्माण कम्पनीले सडक निर्माण गर्ने ठाउँमा ७ मिटर गहिरो मेसिनले खनेर माटो निकाली परीक्षण गरिरहेको छ,’ उनले भने, ‘यसमा केही समस्या आए डिजाइनमा थप गरी पेस गर्न मिल्ने प्रावधान छ, यो काम बर्खाअघिसम्म टुंगिन्छ, निर्माण भने बर्खापछि मात्र सुरु हुन्छ ।’ अहिले २७.३ किमि खण्डमा बर्खामा चलाउन मात्र ठेक्का भई काम अघि बढाइएको छ ।
जाइकाले निर्माणको जिम्मा लिएको खण्डमा आउने बर्खाका लागि तयारी केही छैन । ‘यो ठाउँमा स्थायी निर्माणको काम सुरु भइसकेको छैन, बर्खाका लागि अस्थायी रूपमा खोला किनारमा ५ मिटर उचाइ बनाएर ठूला ढुंगा राखी सवारी चलाउने व्यवस्था गर्छौं,’ योगेशले भने, ‘चार ठाउँमा बाढीको जोखिम बढी छ, तत्काल केही समस्या आए समाधान गर्न प्राविधिकसहित मेसिनको व्यवस्था गर्छौं ।’
राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको हो । काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता असार २०८२ मा भएका हुन् ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक २०८२ मा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । ‘अहिले हामीले निर्माण गरिरहेको खण्डमा खोलामा डाइभर्सन बनाएर सवारी साधन चलाइरहेका छौं, बेला–बेलामा पानी पर्नासाथ आउने बाढीले डाइभर्सन बगाउने गरेको छ,’ योगेशले भने, ‘यस्तो अवस्थामा सवारी साधन सञ्चालनमा रोक लगाउने गरेका छौं, बाढी घटेपछि फेरि डाइभर्सन बनाएर चलाउने गरेका छौं ।’ बर्खालाई ध्यानमा राखेर १५ असारबाट अहिले बनाइरहेको ट्र्याकबाट सवारी चलाउने व्यवस्था गरिने उनको भनाइ छ ।
‘अहिले कालोपत्र हुँदैन, ग्राभेल तहको सडक बनाएर सवारी साधन चलाउने व्यवस्था गर्छौं, अर्को आर्थिक वर्षमा कालोपत्र गर्छौंर्,’ योगेशले भने, ‘१० मिटर उचाइसम्म यो सडक बनाउने हो, बर्खाअघि ७ मिटरसम्म मात्र ग्राभेल राखेर सवारीसाधन चलाउँछौं ।’ बर्खामा खोलाबाट गाडी चलाउनु नपर्ने उनको दाबी छ । ‘बर्खामा समस्या हुँदैन, डाइभर्सन खोलाले बगाउँदा जुनजुन खण्डमा ठेक्का भएर काम भइरहेको छ, त्यही खण्डको ठेक्का लिने निर्माण व्यवसायीले काम गर्नुपर्छ, थप खर्च लाग्दैन,’ उनले भने ।
बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ । सबै खण्डको काम सम्झौता भएका मितिले दुई वर्षभित्र सक्नुपर्ने सडक विभागले जनाएको छ । बर्खाअघि नै सिन्धुली खण्डमा सवारी चलाउने व्यवस्था गरिने सडक डिभिजन, खाल्टे, सिन्धुलीका प्रमुख पारशमणि हमालले जनाए ।
‘कालढुंगा र नेपालथोक खण्डमा बर्खामा चलाउन मिल्ने गरी सडक तयार छ, कालढुंगा नजिकैको खण्डमा माथि विद्यालय रहेको र त्यसको तलको सडक बाढीले बगाएर समस्या भएको हो,’ हमालले भने, ‘त्यहाँ एक महिनाभित्र काम सक्छौं । यसबीचमा पानी परेर समस्या आइरहे उक्त ठाउँमा ड्याम बनाएर गाडी चलाउने व्यवस्था गर्छौं ।’ मनसुन सुरु हुनासाथ नयाँ बनेको सडक ट्र्याकमा सवारी साधनलाई खुला गर्ने र ठाउँ–ठाउँमा मेसिन राखिने हमालले बताए ।
सडकको काम भए पनि राजमार्गमा पर्ने पक्की पुल निर्माणको सुरसार गरिएको छैन । यस खण्डमा सबैभन्दा बढी ट्राफिक जाम पुलमा हुने गरेको छ । दिनको ४ हजारभन्दा बढी सवारी यो सडक भएर ओहोरदोहोर गर्छन् । साँघुरा र सिंगल लेनका पुलका कारण सवारीसाधन वारपार गर्न लाइन लाग्नुपर्ने अवस्था छ ।
