राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा(एसडीएफ) सम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गरेर बैंक तथा वित्तीय संस्थाले दैनिक रुपमा पैसा राष्ट्र बैंकमा राख्न पाउने व्यवस्था गरेका हुन् ।
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको आवश्यकताभन्दा बढी रकम (अधिक तरलता) अब दैनिक रुपमा राष्ट्र बैंकमा राख्न पाउने भएका छन् ।
राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा(एसडीएफ) सम्बन्धी विद्यमान व्यवस्था परिमार्जन गरेर बैंक तथा वित्तीय संस्थाले दैनिक रुपमा पैसा राष्ट्र बैंकमा राख्न पाउने व्यवस्था गरेका हुन् । यसअघि सातामा २ दिन मात्र बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा पाउँदै आएका थिए । अब राष्ट्र बैंक खुलेको सबै दिन बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा पाउनेछन् ।
मुख्यगरी ब्याजदर करिडोरको तल्लो सीमा धेरै घट्न नदिन र बैंक तथा वित्तीय संस्थालाई आफूसँग धेरै भएको निक्षेप व्यवस्थापनमा सहजिकरण गर्नका लागि राष्ट्र बैंकले एसडीएफसम्बन्धी व्यवस्था परिमार्जन गरेको हो र
‘स्थायी निक्षेप सुविधा उपलब्ध गराइने व्यवस्था पुनरावलोकन गरिएको सम्बन्धी सूचना २०८३ जेठ १२ को निर्णयानुसार राष्ट्र बैंकबाट ‘क’ ,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइँदै आएको स्थायी निक्षेप सुविधा जेठ १३ (बुधबार)देखि लागू हुनेगरी प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र उपलब्ध गराइने छ,’ राष्ट्र बैंकले भनेको छ । यसरी उपलब्ध गराइएको सुविधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपराह्न ३ बजेपश्चात् सम्बन्धित संस्थाको खातामा जम्मा गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले पछिल्लो तीन वर्षदेखि नियमित रुपमा निक्षेप संकलन र एसडीएफमार्फत नियमित रुपमा पैसा झिक्दै आएको छ । सोही क्रममा हरेक दिन राष्ट्र बैंकले एसडीएफ सुविधा दिन लागेको हो ।
