१३२ केभी क्षमताको भूमिगत प्रसारण लाइनले जोडिँदै बालाजु-महाराजगन्ज–रत्नपार्क

विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षभित्र भूमिगत प्रसारण लाइन निर्माण हुँदै

जेष्ठ १२, २०८३

रासस

Balaju-Maharajgunj-Ratnapark to be connected by 132 kV underground transmission line

What you should know

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

विद्युत् खपत बढाउने र सहरमा सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ भूमिगत प्रसारण लाइन निर्माण हुन लागेको बताइएको छ । 

प्रस्तावबमोजिम बालाजु-महाराजगन्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म उक्त प्रसारण लाइन जोडिनेछ । बालाजु सवस्टसेनदेखि सिंहदरबारसम्म जोडिने उक्त प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ ।

डलब सर्किट उक्त प्रसारण लाइन आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । यस्तै, महाराजगञ्जमा १३२/११ केभी राजदरबारमा एक सय ३२ /११ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ ।

यस्तै, रत्नपार्कमा १३२/११ केभी र सिंहदरबारमा १३२/६६/११ केभी क्षमताको सवस्टेशन समेत निर्माण हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि अनुमति मात्रै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

सो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ । भूमिगत डबल सर्किट रहने सो प्रसारण लाइनमा ३५० मेगावाटसम्मको विद्युत् शक्ति प्रवाह हुनेछ ।

सो प्रसारण लाइन लाइनमा २१ ‘ज्वाइन्ट पिट्स’हरू निर्माण हुनेछ । त्यसको अधिकतम दूरी ५०० मिटरसम्म हुनेछ । आयोजना निर्माणको लागि कूल एक दशमलव ६२ हेक्टर जमिन आवश्यक पर्नेछ । उक्त प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, बाढी, वायुप्रदूषण आदिद्वारा वातावारणमा उल्लेखनीय प्रतिकुल नपर्ने गरी निर्माण गर्नुपर्नेछ ।

विभागले आयोजनाका सम्बन्धमा आवश्यक सुझाव र सल्लाह उपलब्ध गराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ ।

पोखरा र भरतपुरमा समेत भूमिगत प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । सहरी सौन्दर्य बढाउने र सहज रुपमा विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको भूमिगत प्रसारण लाइन निर्माण तोकिएको समयमा पूरा नहुँदा अपेक्षित लक्ष्य हासिल हुन सकेको छैन ।

रासस

Link copied successfully