कच्चा तेलको बढ्दो मूल्यका कारण भारतमा ८ दिनमा तेस्रो पटक इन्धनको मूल्य वृद्धि

नेपालमा पनि इरान-इजरायल युद्धअघि प्रतिलिटर १५७ रुपैयाँमा पाइने पेट्रोलको मूल्य अहिले २१७ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १४२ बाट बढेर २२५ रुपैयाँ भएको छ ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Fuel prices in India rise for third time in 8 days due to rising crude oil prices

What you should know

काठमाडौँ — कच्चा तेलको मूल्य वृद्धि भएपछि भारतमा ८ दिनमा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । शनिबार तेल मार्केटिङ कम्पनीहरुले पेट्रोलमा प्रति लिटर शून्य दशमलव ८७ भारु र डिजेलमा शून्य दशमलव ९१ भारुले बढाएको हो । मे महिनामा तेस्रो पटक वा ८ दिनभित्रै तेस्रो पटक मूल्यवृद्धि भएको हो । 

साताको सुरूवातमा पेट्रोल र डिजलमा प्रति लिटर ९० पैसाले बढाएको थियो । केही दिनअघि मात्रै फेरि प्रतिलिटर ३ भारु बढाएको थियो । मूल्यवृद्धि गर्नुअघि  सरकारी स्वामित्वका कम्पनीहरूले मासिक १ हजार करोड भारु घाटा व्यहोरिरहेको दाबी गर्दै आएको केन्द्रीय सरकारले जनाएको छ । 

इन्द्रप्रस्थ ग्यास लिमिटेडले कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) को मूल्य प्रति किलो १ भारुले बढाएको थियो । यो १० दिनमा तेस्रो पटक वृद्धि गरिएको थियो । नयाँ दिल्लीमा प्रतिकेजी ८१.०९ भारु पुगेको छ भने नोइडा र गाजियावादमा प्रति किलो ८९.७० भारु पुगेको छ । 

सरकारी स्वामित्वका भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडले मंगलबार डिजेलमा प्रतिलिटर २५-३० भारु र पेट्रोलमा १०-१४ भारुमा घाटा रहेको जनाएको थियो । यसको विपरीत, निजी इन्धन खुद्रा कम्पनी सेल इन्डियाले पेट्रोल प्रति लिटर ११५ रुपैयाँभन्दा बढी र डिजेल प्रति लिटर १२६ रुपैयाँभन्दा बढीमा बिक्री गरिरहेको ब्लुमबर्गमा उल्लेख छ ।

भारतको पेट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयले पेट्रोल र डिजेलको पर्याप्त मौज्दात रहेको भन्दै  सर्वसाधारणलाई आत्तिएर अत्यधिक खरिद नगर्न आग्रह गरेको छ । 'जिम्मेवार उपभोग र सर्वसाधारणको सहकार्यले हाल जारी उच्च मागको अवधिमा सबैका लागि इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न मद्दत गर्नेछ,' शनिबार सामाजिक सञ्‍जाल 'एक्स' मा मन्त्रालयले भनेको छ । 

मूल्यवृद्धिपछि दिल्लीमा डिजेलको मूल्य प्रति लिटर ९२.४९ भारु र पेट्रोलको मूल्य ९९.५१ भारु पुगेको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भइरहेका बेला पेट्रोल र डिजेलको मूल्यमा पछिल्लो वृद्धि गरिएको हो । भारतले आफ्नो कच्चा तेलको आवश्यकताको करिब ८५ प्रतिशत आयात गर्दै आएको छ ।

शुक्रबार  ब्रेन्ट क्रुड फ्युचर्स  १.६६ डलरले बढेर प्रतिबारेल १०४.२४ डलर पुगेको थियो भने अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट फ्युचर्स १.२ प्रतिशत अर्थात् १.११ डलरले बढेर ९७.४६ डलर पुगेको थियो । साप्ताहिक आधारमा भने ब्रेन्ट ४.६ प्रतिशत र वेस्ट टेक्सास इन्टरमेडियट ७.६ प्रतिशतले घटेको हो । तर इरानसँगको सम्भावित शान्ति सम्झौताबारे बदलिँदो अपेक्षाका कारण तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ।

पछिल्ला दुई वर्षमा भारतले आयात लागत नियन्त्रणमा राख्न छुट दरमा उपलब्ध रुसी कच्चा तेलमा ठूलो मात्रामा निर्भरता राखेको थियो । तर विश्वव्यापी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेपछि सरकारी स्वामित्वका तेल कम्पनीहरूले लामो समयसम्म लगभग स्थिर राखिएको घरेलु इन्धन मूल्य बढाउन सुरु गरेका हुन् । तर नेपालमा भने २८ फेब्रुअरीमा इरान-इजरायल युद्ध सुरु भएयता नै भारतको इन्डियन आयल कर्पोरेसनले बढेको मूल्य पठाउँदै आएको छ । सोही अनुरुप नेपाल आयल निगमले मूल्य संशोधन गर्दै आएको छ । 

इरान-इजरायल युद्धअघि प्रतिलिटर १५७ रुपैयाँमा पाइने पेट्रोलको मूल्य अहिले २१७ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १४२ बाट बढेर २२५ रुपैयाँ भएको छ । पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढेको छ ।

कान्तिपुर

Link copied successfully