५४ दिनमा छापिसकिएला पौने १६ लाख लाइसेन्स ?

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच सम्झौता भएको ७ महिनामा छापियो १३ लाख २३ हजार २१ मात्र लाइसेन्स

जेष्ठ ९, २०८३

विमल खतिवडा

1.6 million licenses printed in 54 days?

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पुरानो मितिका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि दुई चरणमा गरेर सम्झौता भएको सात महिना पुग्नै लाग्दा अझै छपाइको काम सकिएको छैन । अहिलेसम्म १३ लाख २३ हजार २१ मात्र स्मार्ट लाइसेन्स छापिएका छन् ।

पुरानो मितिका लाइसेन्सको संख्या २९ लाख थियो । यसअनुसार अझै १५ लाख ७६ हजार ९ सय ७९ लाइसेन्स छाप्न बाँकी छ । २९ लाखमध्ये सुरुमा १२ लाख लाइसेन्स छपाइका लागि विभाग र केन्द्रबीच १२ कात्तिक २०८२ मा सम्झौता भएको थियो । सम्झौताअनुसार केन्द्रले १२ वैशाख २०८३ भित्र छपाइ गरेर दिइसक्नुपर्ने थियो । त्यहीअनुसार केन्द्रले १२ लाख लाइसेन्स छापेर विभागलाई बुझाएको थियो । बाँकी १७ लाख लाइसेन्स ३२ असारभित्र छापिसक्ने गरी ४ वैशाखमा दोस्रो चरणको सम्झौता भएको थियो । त्यसको ३६ दिन बित्दा १ लाख २३ हजार २१ लाइसेन्स मात्र छापिएको छ ।

यहीबीच पुरानो लाइसेन्स छपाइमा जुटेका केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश ल्याएपछि हटेका थिए । केन्द्र अहिले कार्यकारी निर्देशकविहीन छ । त्यसको असर लाइसेन्स छपाइमा पनि परेको छ । सम्झौता भएको मितिले आजसम्म दैनिक ४० हजारका दरले छपाइ हुँदा १४ लाख ४० हजार लाइसेन्स आइसक्नुपर्थ्यो । तर त्यसअनुसार हुन सकेको छैन ।

पहिलो लटमा अत्यावश्यक अवस्थाका ३७ हजार ६ सय ९८ र राजस्व बुझाएको २४ घण्टाभित्र उपलब्ध गराउने भनिएअनुसार ३१ हजार २ सय २७ लाइसेन्स छापिएको थियो । अहिले दोस्रो चरणमा अत्यावश्यक लाइसेन्स २ हजार ५ सय ६२ र राजस्व बुझाएको २४ घण्टाभित्र उपलब्ध गराइने लाइसेन्स ६९ हजार ५ सय ६२ छापिएको छ । विभागसँग दोस्रो चरणको लाइसेन्स छपाइका लागि सम्झौता गर्न ढिलाइ हुँदा पनि केही समय लागेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले बताए ।

‘विभागसँग बजेट पनि थिएन, रकमान्तर गरेर बजेट आउन समय लाग्यो,’ तिमिल्सिनाले भने, ‘बीचमा लाइसेन्स छपाइका लागि चाहिने आवश्यक सामग्री आउन ढिलाइ भयो, जसले गर्दा तत्काल लाइसेन्स छाप्न सकिएन ।’

शुक्रबारबाट छपाइका लागि चाहिने सामान आएपछि त्यहीअनुसार काम भइरहेको तिमिल्सिनाको भनाइ छ । ‘यो बेला सम्झौता भएअनुसार छपाइको काम करिब करिब सकिने चरणमा पुग्थ्यो,’ उनले भने, ‘अहिले समस्या छैन, सम्झौताअनुसार ३२ असारभित्र सबै लाइसेन्स छापेर विभागलाई दिन्छौं ।’

विभागबाट लाइसेन्स छपाइको डेटा आउनमा भने ढिलाइ हुन नहुने तिमिल्सिनाको भनाइ छ । ‘मेसिनको औसत छपाइ क्षमता दैनिक ४० हजार हो, कहिले विद्युत्को समस्याले गर्दा पनि छपाइमा समस्या हुने गरेको छ,’ उनले भने, ‘तर कुनै समस्या नहुँदा ५० हजारसम्म पनि छाप्न सकिन्छ ।’ लाइसेन्स छपाइ भएर सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाइएपछि लिन आउने सेवाग्राहीको भीड लाग्ने गरेको छ । लाइन लागेर सेवाग्राहीले लाइसेन्स बुझ्ने गरेका छन् ।

छापिएर लाइसेन्स आउनासाथ हुलाक सेवा विभागमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने काम भइरहेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । सम्बन्धित व्यक्तिहरूको ठेगानामा घर–घर पठाउने काम भने भएको छैन । ‘अब एकान्तकुना यातायात व्यवस्था कार्यालयको पुरानो मितिको लाइसेन्स मंगलबारदेखि छाप्ने तयारी छ, त्यहाँको साढे चार लाख डेटा पठाउँदै छौं,’ उनले भने, ‘डेटा उपलब्ध गराउन समस्या छैन, एक–एक लाखका दरले दैनिक केन्द्रलाई डेटा दिन्छौं ।’ राजस्व तिर्नासाथ सेवाग्राहीलाई लाइसेन्स छापेर उपलब्ध गराइराखिएको उनले सुनाए ।

नयाँ लाइसेन्स छपाइका लागि औसतमा दैनिक ४ हजारको संख्यामा डेटा आउने गरेको छ । देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट आउने संख्या हो यो । दिनभर सबै यातायात व्यवस्था कार्यालयमा ट्रायल पास गरेर राजस्व बुझाएपछि सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक दिन साँझ ६ बजेभित्र यातायात व्यवस्था विभागले केन्द्रलाई डेटा पठाउने गरेको छ । अहिलेको लाइसेन्स थप फिचरसहित छापिरहेको छ । यसअघि सेवाग्राहीले पाउँदै आएको लाइसेन्समा जम्मा १८ थरी फिचर थिए ।

तर अहिले सेवाग्राहीले पाउने लाइसेन्समा ३९ फिचर छन् । तिनमा इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोन, साधारण आँखाले देखिने, उपकरणको सहायताले देखिने, ल्याबबाट मात्र देखिनेलगायत फिचर थपिएको केन्द्रले जनाएको छ । छापिएर आउने लाइसेन्सको अघिल्लो भाग र पछाडि गरी दुई क्यूआर राखिएको छ, जसमा अघिल्लो भागको क्यूआर केन्द्र र पछाडिको सेवाग्राही तथा ट्राफिक प्रहरीले स्क्यान गरेर हेर्न सक्नेछन् । यसअघिको लाइसेन्समा भने चिप थियो ।

वालेन्द्र शाह प्रधानमन्त्री भएपछि १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स छापेर हुलाकमार्फत घरघर पुर्‍याउने उल्लेख गरेको छ । त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने उल्लेख छ । अहिले त्यहीअनुसार नै काम भइरहेको यातायात व्यवस्था विभागले जनायो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully