उबरले सुरु गर्‍यो नेपाल यात्रा

उबरले नेपालमा आफ्नो व्यवसाय दर्ताका लागि बुधबार नै उद्योग विभागमा औपचारिक आवेदनसमेत दिएको छ ।

जेष्ठ ८, २०८३

सजना बराल

Uber launches Nepal tour

What you should know

काठमाडौँ —  

चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा सुरु गरेको हो । उबरले नेपालमा आफ्नो व्यवसाय दर्ताका लागि बुधबार नै उद्योग विभागमा औपचारिक आवेदनसमेत दिएको छ । उबरको एपमार्फत काठमाडौंका प्रयोगकर्ताले मोटरसाइकल र कारका सुविधा छनोट गरी यात्रा गर्न थालिसकेका छन् ।

उबरका तर्फबाट दर्ताका लागि आवेदन प्राप्त भएको उद्योग विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराले पुष्टि गरे । ‘विभागमा उबरको आवेदन परेको छ,’ उनले भने, ‘उक्त आवेदनलाई विभागले अध्ययन र पुनरावलोकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।’ उबरले पछिल्लो केही महिनायता नेपाली बजारमा आफ्नो प्रविधि परीक्षण (टेक्नोलोजी टेस्टिङ) गर्दै आएको छ । यसका लागि स्थानीय ‘भेन्डर’ सँग रणनीतिक साझेदारी गरेको पाइएको छ । 

उबरले ट्याक्सीमान्डु, बुक क्याब नाउलगायत स्थानीय अनलाइन ट्याक्सी बुकिङ तथा राइड–सेयरिङ प्लाटफर्मसँग रणनीतिक साझेदारी गरेको छ । उबरको नेपाल प्रवेश नेपाली यातायात क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि रहेको ट्याक्सीमान्डुका संस्थापक अर्जुन केसीले बताए । ‘हामी नेपालका लागि उबरको रणनीतिक साझेदारका रूपमा रहेका छौं । र, नेपालको भूगोल तथा स्थानीय आवश्यकताअनुसार उबरको प्रविधि चिनाउन सहयोग गरिरहेका छौं,’ उनले भने । 

केसीका अनुसार बुधबार दिउँसोदेखि नै एप लाइभ गरिएको छ । अहिले काठमाडौंमा प्रविधि परीक्षणसँगै रियल टाइम राइड सफलतापूर्वक भइरहेका छन् । यो साझेदारी लामो समयसम्म रहने र उबरले नेपालको बजारमा पूर्ण विश्वास नपाउँदासम्म यो मोडेलमा काम भइरहने केसीले उल्लेख गरे । ‘नेपालमा पनि उबर चल्ने भएपछि विदेशी पर्यटकलाई सहज भएको छ,’ उनले भने, ‘विभिन्न देशमा उबर चलाएको अनुभव भएका चालकमा पनि ठूलो आकर्षण देखिएको छ ।’ 

उबरको नेपाल आगमनका क्रममा चालकहरूको दर्ता र अनबोर्डिङ प्रक्रियालाई तीव्रता दिइएको बुक क्याब नाउका संस्थापक अशोक धमलाले जनाए । हाल करिब १ हजार चालक उबरको प्रणालीमा आबद्ध भइसकेको उनको भनाइ छ । उबरको इन्डिया टिमसँग समन्वय गरेर प्रविधि परीक्षणको काम भइरहेको र सामाजिक सञ्जालमा देखिएका दर्ताका सूचना आधिकारिक उबरकै सहमति र स्वीकृतिमा गरिएको उनले बताए । हालका लागि काठमाडौं उपत्यकालाई केन्द्रित गरी मोटरसाइकल र कार दुवै सुविधा उबर एपमा उपलब्ध गराइएको छ । दुवै रणनीतिक साझेदारका अनुसार अर्को साता उबरको बिजनेस टिम काठमाडौं आउने र थप औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी भइरहेको छ । स्थानीय सरकारको नियम र करको दायराभित्र रहेर पारदर्शी ढंगले सेवा सञ्चालन गर्ने र भविष्यमा नेपालका प्रमुख पर्यटकीय सहर पोखरा र चितवनमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ । 

उबरले विभिन्न देशमा निजी कारलाई समेत व्यावसायिक राइड–हेलिङमा प्रयोग गर्न दिने गरेको छ । तर नेपालमा निजी सवारीसाधन (रातो प्लेट) लाई भाडामा प्रयोग गर्न पाइने कि नपाइने भन्ने विषय लामो समयदेखि बहसमा रहँदै आएको छ । यो अन्योललाई सम्बोधन गर्ने गरी सरकारले ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन मापदण्ड २०२६’ को मस्यौदा तयार पारी नियमनको प्रक्रिया अघि बढाएको छ । 

नेपालमा उबर मात्र नभई अन्य ठूला अमेरिकी प्रविधि कम्पनीहरूले पनि व्यवसाय विस्तार र लगानीमा चासो देखाएको अमेरिकी कूटनीतिज्ञ र प्रविधि क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । अमेरिकी कार्यवाहक राजदूत स्कट अब्रामले सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँगको भेटमा नेपालको सूचना प्रविधि क्षेत्रमा अमेरिकी निजी क्षेत्रका लगानीकर्ताको गहिरो रुचि रहेको जनाएका थिए । सरकारले पनि सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको न्यूनतम सीमा (थ्रेसहोल्ड) हटाएर लगानीको वातावरण सहज बनाउने प्रयास गरिरहेको छ ।

हाल नेपालमा प्रत्यक्ष र संयुक्त लगानी (जेभी) वा फ्रेन्चाइजका रूपका केही अमेरिकी कम्पनी सञ्चालनमा छन् । सूचना प्रविधि सेवा निर्यात गर्ने कोटिभिटी, लिपफ्रग टेक्नोलोजीदेखि अमेरिकी स्टक एक्सचेन्ज नासडाकमा सूचीकृत फ्युजमसिन्सका मुख्य कार्यालय नेपालमा छन् । कोकाकोला, पेप्सिको जस्ता पेय पदार्थ पनि लामो समयदेखि नेपाली बजारमा छन् । अमेरिकी ब्रान्ड केएफसी र पिज्जा हट देवयानी इन्टरनेसनलमार्फत नेपालमा सञ्चालनमा छन् । डीएचएल कुरिअर सेवा, वेस्टर्न युनियनलगायत अमेरिकी सेवा प्रदायकको नेपालमा उपस्थिति छ । पछिल्लो समय अमेरिकी लगानीकर्ताले नेपालको सूचना प्रविधि क्षेत्रमा बढी चासो देखाएको पाइन्छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully