एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै पादावा शेर्पाको ३१औं आरोहण पूरा

यससँगै उनले एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै आफ्नो कीर्तिमान यात्रा अझ अगाडि बढाएका छन्।

जेष्ठ ८, २०८३

सुरज कुँवर

Padawa Sherpa completes 31st ascent, summiting for the second time in a single season

What you should know

काठमाडौँ — सगरमाथा आरोहण इतिहासमा अर्को उल्लेखनीय उपलब्धि थप्दै अनुभवी पर्वतारोहण गाइड पादावा (पासाङदावा) शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ३१औं पटक सफलतापूर्वक आरोहण गरेका छन्। 

यससँगै उनले एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै आफ्नो कीर्तिमान यात्रा अझ अगाडि बढाएका छन्।

ट्याग नेपाल एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक सागरकुमार पौडेलका अनुसार शेर्पा शुक्रबार बिहान ४:२० बजे शिखरमा पुगेका थिए। उनी यसअघि यही सिजनमा ३०औं पटक सगरमाथा आरोहण पूरा गरी आधार शिविर झरेका थिए। तर पुनः आरोहणमा फर्किँदै उनले अर्को ऐतिहासिक सफलता हात पारेका हुन्।

Padawa Sherpa completes 31st ascent, summiting for the second time in a single season

यसअघि ४ जेठमा उनले ३०औं पटक सगरमाथा आरोहण गरेका थिए। त्यससँगै उनी सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा रहेका छन्।

हाल सर्वाधिक आरोहणको विश्व कीर्तिमान सोलुखुम्बुका कामीरिता शेर्पाको नाममा छ, जसले ३२ पटक सगरमाथा आरोहण गरिसकेका छन्। पादावा शेर्पा भने उक्त कीर्तिमानको अत्यन्त नजिक पुगेका छन्, र पछिल्ला सिजनहरूमा उनी र कामीरिता शेर्पाबीच सर्वाधिक आरोहणको प्रतिस्पर्धा पनि चर्किँदै गएको देखिन्छ।

४९ वर्षीय पादावा शेर्पा सोलुखुम्बुको पाङ्बोचे निवासी हुन्। उनले सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी निरन्तर उच्च हिमाली गाइडका रूपमा सक्रिय रहँदै आएका छन् र विश्वका अनुभवी शेर्पा गाइडमध्ये एकका रूपमा परिचित छन्।

एकै सिजनमा पुनः आरोहण गर्दै ३१औं पटकको उपलब्धि हासिल गरेपछि उनको कीर्तिमान यात्राले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। 

विशेषगरी निरन्तर उच्च जोखिमपूर्ण हिमाली काम गर्दै आएका गाइडहरूको सन्दर्भमा सगरमाथा आरोहणको प्रतिस्पर्धात्मक इतिहासमा यो उपलब्धिलाई आरोहीहरुले महत्वपूर्ण मानेका छन ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully