सगरमाथामा नयाँ इतिहास: एकै दिन २७० भन्दा बढीद्वारा आरोहण

पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक हो ।

जेष्ठ ७, २०८३

सुरज कुँवर

New history on Everest: More than 270 people climb in a single day

काठमाडौँ — वसन्त ऋतुको जारी आरोहण अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा बुधबार एकै दिन २७० जना भन्दा बढी आरोहीहरूले सफलतापूर्वक पाइला टेकेका छन् । 

पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक हो ।

संघका महासचिव ऋषि राम भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण र उत्साहजनक क्षण हो ।

यसपटक नेपालका कामिरिता शेर्पाको ३२औं र महिला तर्फ संखुवासभाकी लाक्पा शेर्पाको ११औं पटक सगरमाथा आरोहण लगायतका थुप्रै नयाँ कीर्तिमानहरू कायम भएका छन् ।

New history on Everest: More than 270 people climb in a single day

यसवर्ष (वसन्त ऋतु २०२६) नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरूले अनुमति पत्र (पर्मिट) लिएका छन्, जुन आफैंमा एउटा नयाँ कीर्तिमान हो ।

गत १३ मे २०२६ मा पर्वतारोहण सञ्चालक संघ नेपालको बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीले सफलतापूर्वक मार्ग निर्माण गरेपछि आरोहीहरूका लागि सगरमाथाको ढोका खुलेको थियो । त्यसयता मौसमले साथ दिएसँगै आरोहीहरू निरन्तर चुचुरोमा पुगिरहेको संघले जनाएको छ । 

‘सम्पूर्ण सरोकारवाला निकाय, आरोही, शेर्पा गाइड र सहयोगी कर्मचारीहरूको अनुशासन र सहकार्यका कारण हाल सगरमाथालगायत विभिन्न हिमाली क्षेत्रमा आरोहण गतिविधिहरू सुरक्षित, व्यवस्थित तथा सफल रूपमा सञ्चालन भइरहेका छन्,’ महासचिव  भण्डारीले भने ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully