ल्होत्से आरोहणको ७०औँ वर्ष मनाइयो

स्विस पर्वतारोही अर्न्स्ट राइसले सन् १९५६ मे १८ मा ८,५१६ मिटर अग्लो ल्होत्से हिमालको पश्चिमी मोहडा (वेस्ट फेस) मार्ग हुँदै सफल आरोहण गरेका थिए।

जेष्ठ ७, २०८३

कान्तिपुर संवाददाता

70th anniversary of Lhotse ascent celebrated

काठमाडौं — नेपाल पर्वतारोहण संघ (एनएमए) र नेपालस्थित स्विट्जरल्याण्ड दूतावासले ल्होत्से हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सव (प्लाटिनम जुबिली) को अवसरमा बिहीबार काठमाडौंमा स्मरणात्मक कार्यक्रम आयोजना गरेको छ ।

पर्वतारोहण संघका अनुसार पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको पहिलो सफल आरोहणको सम्झना गरिएको थियो । 

स्विस पर्वतारोही अर्न्स्ट राइसले सन् १९५६ मे १८ मा ८,५१६ मिटर अग्लो ल्होत्से हिमालको पश्चिमी मोहडा (वेस्ट फेस) मार्ग हुँदै सफल आरोहण गरेका थिए। त्यसैगरी, उर्कियन छिरिङ शेर्पा सन् १९७७ मे ८ मा ल्होत्से शिखरमा पुग्ने पहिलो नेपाली आरोही बनेका थिए ।

समारोहका क्रममा ल्होत्से अभियानको इतिहास र विरासत झल्काउने फोटो प्रदर्शनी तथा प्यानल छलफल कार्यक्रम आयोजना गरिएको थियो । 

१४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली मिङ्मा शेर्पा तथा सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला दावा याङ्जुम शेर्पाले ल्होत्सेसहित आफ्ना पर्वतारोहण अनुभवहरू सुनाएका थिए ।

कार्यक्रममा एनएमएका अध्यक्ष फुर्गेल्जे शेर्पाले नेपालको पर्वतीय पर्यटनले विश्वका विभिन्न देशहरूसँग कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । शेर्पाले पर्वतारोहण तालिम, पर्यटन प्रवर्द्धन अभियान तथा स्मरणात्मक कार्यक्रममार्फत संघले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा निरन्तर काम गरिरहेको बताए । 

छलफलका क्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हिमालय क्षेत्रमा जलवायु परिवर्तन र वातावरणीय क्षयका बढ्दो असरबारे चिन्ता व्यक्त गरे । 'जलवायु परिवर्तनका कारण हाम्रो हिमाल र पर्वतीय पर्यटन दिनप्रतिदिन जोखिममा पर्दै गइरहेका छन्,' उनले भने, 'वातावरण संरक्षण र हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनका लागि सबैको सामूहिक प्रयास आवश्यक छ ।'

नेपालका लागि स्विस राजदूत ड्यानिएल मेउलीले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा विशिष्ट व्यक्तित्वप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा ल्होत्सेको पहिलो सफल आरोहणसँग सम्बन्धित ऐतिहासिक तस्बिरहरू पनि प्रदर्शन गरिएको थियो । प्रदर्शनी बुधबारसम्म नेपाल पर्यटन बोर्ड परिसरमा जारी रहनेछ ।

कान्तिपुर

Link copied successfully