कारोबारमा आएका मध्ये २४८ कम्पनीको सेयर मूल्य बढ्यो भने २१ कम्पनीको मूल्य घट्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३०.०८ अंकले बढेको छ । गत सोमबार र मंगलबार नेप्से एकल अंकले भए पनि ऋणात्मक रहेको थियो । तर, बुधबार भने ओरालो यात्रा छोडेर ३० अंकले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ७ सय ५४.४८ अंकमा उक्लेर बन्द भएको हो ।
कारोबारमा आएका मध्ये २४८ कम्पनीको सेयर मूल्य बढ्यो भने २१ कम्पनीको मूल्य घट्यो । तर, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार कुल ५२ हजार ३ सय ३६ पटकको कारोबारमा १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो ।
मंगलबार कुल ४५ हजार ५ सय १९ पटकको कारोबारमा ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढ्न टेवा पुगेको हो ।
