वैशाखमा यो पटक तीन वर्षयताकै धेरैले घुमे चितवन निकुञ्ज

यो वर्ष वैशाख महिनामा २९ हजार ७४० जनाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्, जुन संख्या पछिल्ला तीन वर्षमा सबैभन्दा बढी हो ।

जेष्ठ ६, २०८३

रमेशकुमार पौडेल

Chitwan National Park receives the most visitors in three years this April

चितवन — चैतपछि चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेहरूको संख्या घट्न सुरु हुन्छ । तर यो वर्ष चैतमा भन्दा वैशाखमा धेरै जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गएको वैशाखमा स्वदेशी, विदेशी र सार्क देशका गरी कुल २९ हजार ७४० जनाले निकुञ्ज घुमेको जानकारी दिएका छन् । वैशाखमा निकुञ्ज घुम्नेहरूको यो संख्या तीन वर्षयताकै धेरै हो ।

सामान्यतया कात्तिक महिनामा चितवन निकुञ्ज घुम्नेहरूको संख्या अत्यधिक हुन्छ । हिउँदपछि निकुञ्ज घुम्नेहरू चैत महिनामा धेरै हुने गरेको निकुञ्जको विवरणमा देखिन्छ । गएको कात्तिकमा ३२ हजार २५२ जनाले निकुञ्ज घुमेका थिए । त्यसपछि संख्या घट्दै गएर फागुनमा २७ हजार ४०५ पुग्यो । चैतमा झनै घटेर २५ हजार ९८५ पुग्यो । तर वैशाखमा आएर फेरि बढेको छ ।

आर्थिक वर्ष ०८०/८१ मा वैशाखमा निकुञ्ज घुम्ने २६ हजार ६३० थिए । त्यो वर्ष चैतमा ३४ हजार ४१९ जनाले निकुञ्ज घुमेका थिए । त्यसै गरी आर्थिक वर्ष ०८१/८२ मा वैशाखमा २२ हजार ७७७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । त्यसभन्दा अघिल्लो महिना चैतमा निकुञ्ज प्रवेश गर्नेको संख्या २५ हजार ४२२ थियो । यो आर्थिक वर्षमा चैतभन्दा बढी वैशाखमा पर्यटक आएका छन् ।

धेरै घुम्नेमा स्वदेशी छन् । चैतमा भन्दा वैशाखमा निकुञ्ज घुम्ने सार्क देशका पर्यटक केही घटेका छन् । विदेशी भने थोरै बढेका छन् । विदेशी पर्यटक चैतमा ९ हजार ७१७ र वैशाखमा ९ हजार ८८१ आएका थिए । त्यसै गरी सार्क देशका चैतमा २ हजार ३४४ र वैशाखमा योभन्दा पनि घटेर १ हजार ८१३ आएका छन् । चैतमा १३ हजार ९२४ नेपालीले निकुञ्ज घुमेका थिए । वैशाखमा यो संख्या १८ हजार ४६ पुगेको छ ।

नेपालीले कात्तिकपछि सबैभन्दा धेरै वैशाखमा नै निकुञ्ज घुमेका छन् । कात्तिकमा निकुञ्ज घुम्ने नेपाली १९ हजार १०९ रहेको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसपछि घट्दै गएर चैतमा झनै खुम्चिएको थियो । सरकारले हाल शनिबार र आइतबार दुई दिन कार्यालय बिदा दिने निर्णय गरेको छ । इन्धन प्रयोग घटाउन सुरु भएको बिदाले घुमघाममा सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायीको अनुभव छ ।

सौराहाका पर्यटन तथा होटल व्यवसायी जितु तामाङ दुई दिने बिदाको प्रभाव राम्रो परेको बताउँछन् । ‘पहिला शनिबार मात्र बिदा हुँदा शुक्रबार अबेला आउने, शनिबार घुमेर फर्कने चलन थियो । हामीहरू आज शुक्रबार धेरै पाहुना आउँछन् भन्थ्यौँ । यो पटक दुई दिने बिदाले शुक्रबार होइन, शनिबार मान्छे आउँछन्,’ तामाङले भने । शनिबार चाँडै आउने र आइतबार अबेला फर्कने गरेको उनले बताए ।

वैशाखको सुरुमा नयाँ वर्षको प्रभाव पर्ने उनले बताए । यो पटक दिनहुँ जसो पानी परिरहेकाले चर्को गर्मी पनि छैन । ‘नेपालीहरू खास गरेर असोज, कात्तिक, मंसिर र पुस महिनामा धेरै आउँछन् । माघ, फागुन र चैतमा विदेशी धेरै हुन्छन् । वैशाखदेखि भदौसम्म पर्यटक अरू बेलाको भन्दा कमै हुने गर्थे,’ नेचर गाइडसमेत रहेका तामाङले भने । यो पटक जेठमा पनि नेपालीको संख्या राम्रै रहेको उनी बताउँछन् ।

चितवन निकुञ्ज देशको पहिलो राष्ट्रिय निकुञ्ज हो । वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि चितवन देशको मुख्य गन्तव्य हो । निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, पाटेबाघजस्ता अनेकौँ जीवजन्तु छन् । निकुञ्ज आसपासका आदिवासी थारु, बोटे, कुमाल र दरै समुदायको संस्कृतिले पनि पर्यटकलाई आकर्षित गरेको छ । हात्ती सफारी, जंगल जिप सफारी, जंगल वाक र डुंगा सफारी यहाँका मुख्य पर्यटकीय गतिविधि हुन् । निकुञ्ज घुम्न देश–विदेशबाट वर्षमा तीन लाख हाराहारीमा पर्यटक आउने गरेको निकुञ्जको तथ्यांक छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully