पर्वातारोही शेर्पाका अनुसार, तीव्र हावाहुरी र प्रतिकूल मौसमका कारण अन्तिम 'समिट पुस' (शिखरतर्फको निर्णायक यात्रा)रोकिएको छ भने केही अन्तर्राष्ट्रिय टोलीहरूले अभियान नै स्थगित गरेर काठमाडौं फर्किने निर्णय गरेका हुन् ।
काठमाडौँ — विश्वको तेस्रो अग्लो हिमाल कंचनजंघामा वसन्तकालीन आरोहणका क्रममा खराब मौसमका कारण रोप फिक्सिङ (डोरीको सहायताले बाटो बनाउने) अभियान प्रभावित बनेको छ ।
पर्वातारोही तथा सेभेन समिट ट्रेक्सका प्रालिका अध्यक्ष मिङमा शेर्पाका अनुसार, यसपटकको आरोहण सिजनका लागि अन्य सबै हिमालमा बाटो बनाउने काम सकिसकेको छ । आरोहीका लागि बाटो बनाउन बाँकी यो मात्रै एउटा हिमाल हो ।
पर्वातारोही शेर्पाका अनुसार, तीव्र हावाहुरी र प्रतिकूल मौसमका कारण अन्तिम 'समिट पुस' (शिखरतर्फको निर्णायक यात्रा)रोकिएको छ भने केही अन्तर्राष्ट्रिय टोलीहरूले अभियान नै स्थगित गरेर काठमाडौं फर्किने निर्णय गरेका हुन् ।
अभियान आयोजक सेभेन समिट ट्रेक्सका अनुसार कञ्चनजंघामा ८२ सय मिटर उचाईसम्म सफलतापूर्वक डोरी टाँग्ने काम सम्पन्न भइसकेको छ । तर शिखरतर्फ अन्तिम चरणको रोप फिक्सिङका लागि अघि बढिरहेको टोलीलाई अत्यधिक हावाहुरीका कारण सुरक्षित रूपमा आधार शिविर फर्किनुपरेको छ । केही विदेशी टोलीहरूले मौसममा सुधारको सम्भावना कम देखिएपछि आफ्नो अभियान रद्द गर्दै काठमाडौं फर्किएका छन् ।
यद्यपि आफूहरू भने उपयुक्त मौसम वेदर विन्डो (अनुकूल मौसमको मौका)को पर्खेर पुनः शिखरतर्फ अघि बढ्ने तयारीमा रहेको जनाएको छ । 'हामी मौसमको निरन्तर निगरानी गरिरहेका छौं । मौसम अनुकूल हुनेबित्तिकै फिक्सिङ टोली फेरि माथि जानेछ र आरोहीहरूलाई समिट प्रयासमा सहयोग गरिनेछ,' कम्पनीले जनाएको छ।
यस वर्षको कञ्चनजंघा अभियानको समग्र नेतृत्व अनुभवी आरोही नुरी शेर्पाले गरिरहेका छन् भने रोप फिक्सिङ टोलीको नेतृत्व दावा शेर्पाले सम्हालिरहेका छन् ।
पर्यटन विभागको तथ्यांकअनुसार सन् २०२६ को वसन्त ऋतुमा कञ्चनजंघा आरोहणका लागि चार वटा टोलीलाई अनुमति दिइएको छ । ती टोलीमार्फत ३६ जना आरोहीले अनुमति लिएका छन्, जसमध्ये १३ जना महिला र २३ जना पुरुष रहेका छन् । कञ्चनजंघाबाट मात्रै हालसम्म १ करोड ६० लाख ८१ हजार ६५० रुपैयाँ सलामी दस्तूर संकलन भएको विभागले जनाएको छ ।
त्यसैगरी, जेठ १ सम्म नेपालका ३० वटा हिमालमा आरोहणका लागि १४२ वटा टोलीलाई अनुमति दिइएको छ । ती अभियानमा ७८ देशका १ हजार १ सय ८१ जना आरोही सहभागी भएका छन् । हाल कञ्चनजंघा क्षेत्रमा निरन्तर खराब मौसम र तीव्र हावाहुरी कायम रहेकाले अधिकांश आरोही आधार शिविरमै मौसम सुधारको प्रतीक्षामा रहेका छन् । मौसम खुले आगामी केही दिनभित्र अन्तिम समिट पुश (आरोहण)को प्रयास हुने अपेक्षा गरिएको छ।
