जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

सरकारले जेन-जी प्रदर्शनका क्रममा अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार/नौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र मध्य घाइतेलाई मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

जेष्ठ ५, २०८३

रासस

Monthly medical expenses for those injured in Gen-G protests

काठमाडौँ — सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जेन-जी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए । 

'हामीले भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएको आधारमा जेन-जी घाइतेको वर्गीकरण गरेका छौँ,' उनले भने, 'सोही अनुसार गृह मन्त्रालयले घाइतेको उपचार खर्चका लागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ ।'

उनका अनुसार सरकारले जेन-जी प्रदर्शनका क्रममा अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार/नौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र मध्य घाइतेलाई मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराउने उल्लेख छ । 

यसैगरी, जेन-जीका सबै घाइतेलाई भने एकमुष्ट ३५ हजार प्रदान गरिएको उनले बताए । 

पाँच सय ३९ घाइतेको वर्गीकरण

यसैगरी, जेन-जी आन्दोलनमा भएका घाइतेलाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ । गृह मन्त्रालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा ती घाइतेको वर्गीकरण गरिएको हो । 

घाइते भएकामध्ये ५३९ जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको हो । 

स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले पाँच पटक गरी ती सबै घाइतेको वर्गीकरणको काम सकिएको बताउनुभयो । उहाँका अनुसार अति गम्भीर घाइते २९, गम्भीर घाइते १३०, मध्यम घाइते ८५ र सामान्य घाइते २९५ जना रहेका छन् । 

रासस

Link copied successfully