पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भोपाल पठाइएको हो ।
What you should know
काठमाडौं — पोखरास्थित अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलोपटक भारतको भोपाल लागि मेडिकल रेस्क्यू चार्टर उडान गरिएको छ । उक्त उडान भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भोपाल पठाइएको हो ।
भोपालबाट तीर्थयात्राका लागि नेपाल आएका श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किदा बिरामी भएपछि उनलाई जोमसोमबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा ५ दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको विमानस्थलले जनाएको छ ।
चार्टर उडानमा बिरामीका दुई छोरा, चरक अस्पतालका चिकित्सक र नर्ससहित तीनजना स्वास्थ्यकर्मी सहभागी रहेका छन् । उक्त विमान मंगलबार काठमाडौंबाट पोखरा आएको थियो । बिरामीलाई भोपाल पुर्याएपछि विमान पुनः पोखरा फर्किने छ ।
'पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान हो,' महाप्रबन्धक निरौलाले भने, 'यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो, तर फर्किने उडान बंगलादेश गएको थियो ।' उनका अनुसार यसअघि पोखराबाट चीनको ल्हासा/छेन्दू , भुटान र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन् ।
मुक्तिनाथ दर्शनका लागि हरेक वर्ष ठूलो संख्यामा भारतीय तीर्थयात्री नेपाल आउने गर्छन् । अधिकांश भारतीय पर्यटक स्थलमार्ग हुँदै मुक्तिनाथ पुग्ने र फर्किने क्रममा पोखरा-काठमाडौं हुँदै भारतका विभिन्न सहर जाने गर्छन् ।
पर्यटन व्यवसायीहरूले पोखराबाट भारतका प्रमुख सहरमा नियमित अन्तर्राष्ट्रिय उडानको पर्याप्त सम्भावना भए पनि त्यसअनुसार पहल हुन नसकेकोमा गुनासो गर्दै आएका छन् ।
