कञ्चनपुरमा चैते धान खेती घट्दै

सिँचाइ समस्याले कृषक अन्य खेतीतर्फ आकर्षित ।

जेष्ठ ५, २०८३

भवानी भट्ट

Chaite paddy cultivation declining in Kanchanpur

What you should know

कञ्चनपुर — भीमदत्त नगरपालिका–१६ का देवसिंह थापाले पाँच वर्षअघि पाँच का खेतमा चैते धान खेती गरेका थिए । त्यतिबेला असारमै बाढी आएर पाकेको धान पूरै पुरियो । भित्र्याउन तयार भएको सबै धान सखाप भयो । 

त्यसयता उनले चैते धान खेती घटाउँदै गएका छन् । अहिले एक/डेढ कामा मात्रै चैते धान रोपेका छन् । ‘मिहिनेत धेरै छ, उत्पादन पनि राम्रो हुन्छ,’ थापाले भने, ‘तर, सिँचाइ र भित्र्याउन भने निकै गाह्रो हुन्छ, भित्र्याउने बेला बर्खा हुने भएकाले समस्या हुन्छ ।’ त्यही भएर अहिले चैते धान खेती घटाएको उनले बताए । 

भीमदत्त नगरपालिका–१६ की जानकीदेवी जोशीले ५ कट्ठामा चैते धान रोपेकी छन् । तर सिँचाइको समस्याले उनको धान बिग्रिन थालेको छ । महाकाली सिँचाइ आयोजनाको कुलामा पानी नआउने र बोरिङमा पनि कम विद्युत् पावरका कारण सिंचँइ गर्न समस्या भएको उनले बताइन् । 

‘रोपाइँ लगाउन धेरै खर्च र मिहिनेत लागेको छ, अहिले रोपो त्यत्तिकै सुक्न लागेको छ,’ जोशीले भनिन्, ‘कुलामा पानी आउँदैन, बिजुलीको पावर नभएर मोटर पनि चल्दैन ।’ उनको धान खेत सिँचाइ अभावमा सुक्न थालेको छ । 

पाँच वर्षअघिसम्म भीमदत्त नगरपालिका क्षेत्रमा चैते धानप्रति कृषकको आकर्षण निकै बढेको थियो । सिंचँइ सुविधासँगै उत्पादन राम्रो हुने भएकाले कृषकहरू यसप्रति आकर्षित भएका थिए । तर, महाकाली सिँचाइ आयोजनाको नहरमा नियमित रुपमा पानी सञ्चालनमा समस्या हुने र सुख्खा यामको समयमा टर्सरी र शाखा नहरमा समेत पानी नआउने भएकाले अहिले कृषकले चैते धान लगाउन छाडेका हुन् । 

सिंचँइ सुविधा भएको क्षेत्रमा भने कृषकले चैते धान लगाउने गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रमा कृषकले भूमिगत सिँचाइको प्रयोग गरेर चैते धान लगाउने गरेका छन् । 

कञ्चनपुरमा करिब ५० हेक्टर हाराहारीमा चैते धान खेती गरिन्छ । पाँच वर्षअघिसम्म यो क्षेत्रफल २ सय हेक्टरभन्दा बढी थियो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका वाली संरक्षण अधिकृत मदन भट्टका अनुसार महाकाली सिंचँइ आयोजना पहिलो र दोस्रोको कमाण्ड क्षेत्रमा सिँचाइ सुविधा नियमित नभएका कारण चैते धान खेती लगाउने कृषकको संख्या घटेको हो । 

‘चैते धान खेतीका लागि सिँचाई धेरै चाहिन्छ, बोरिङबाटै नियमित सिँचाइ गर्न धेरै खर्चिलो हुन्छ,’ वाली संरक्षण अधिकृत भट्टले भने, ‘नहरमा पानी नियमित नआउने समस्या भयो, ठूलो क्षेत्रफलमा बोरिङबाटै सिँचाइ गर्न धेरै खर्चिलो हुन्छ ।’ उनका अनुसार कतिपय किसानले भूमिगत सिंचाइबाटै पनि चैते धान खेती गरेका छन् । 

चैते धानका लागि चैते पाँच र हरदिनाथ लगायतका धानको बीउको प्रयोग गरिन्छ । बर्खे धानभन्दा चैते धानको उत्पादकत्व राम्रो हुन्छ । ज्ञान केन्द्रका अनुसार बर्खे धानको उत्पादनकत्व चार मेट्रिक टन प्रतिहेक्टर हुने गरेको छ भने चैते धान पाँच मेट्रिक टन प्रतिहेक्टर उत्पादन भइरहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully