विश्व बैंक समूहको प्रतिवेदनअनुसार हर्मुज जलमार्ग बन्द र आपूर्ति संकटले रासायनिक मलको मूल्य १२ प्रतिशतले वृद्धि भएको हो ।
What you should know
काठमाडौँ — विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचकांकले सन् २०२६ को पहिलो त्रैमासमा रासायनिक मलको मूल्य १२ प्रतिशले वृद्धि भएको देखाएको छ । पछिल्ला सातौं त्रैमासमध्ये छैटौं पटक वृद्धि भएको समेत जनाएको छ । यो अक्टोबर २०२२ को तुलनामा उच्च हो ।
इरान -इजरायलको यु्द्धका कारण 'स्ट्रेट अफ हर्मुज' बन्द हुँदा आपूर्तिमा आएको अवरोध नै मूख्य कारण रहेको विश्व बैंकको हालै सार्वजनिक 'अप्रिल २०२६ कमोडिटी मार्केट्स आउटलुक' प्रतिवेदनमा उल्लेख छ । अन्य मलको मूल्य वृद्धि तुलनात्मक रुपमा मध्यम रहे पनि सबैभन्दा बढी युरियाको मूल्य वृद्धि भएको छ ।
अहिलेको मूल्य वृद्धि सन् २०२१ र २०२२ मा देखिएको तीव्र उछालको तुलनामा उक्त वृद्धि निकै कम रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२१-२०२२ को जस्तो मूल्यको दबाब नभए पनि किसानहरूका लागि मलको क्रयशक्ति भने तीव्र रूपमा कमजोर भएकाले खाद्य उत्पादन, कृषि उत्थानशीलता र खाद्य सुरक्षामा चिन्ता बढाएको छ।
उत्तरी गोलार्धका किसानहरूले आफ्नो धेरैजसो मल आपूर्ति पहिले नै सुरक्षित गरिसकेका, प्राकृतिक ग्यासको मूल्य (नाइट्रोजन-आधारित मल उत्पादनको मुख्य लागत) रूसले युक्रेनमाथि आक्रमण गरेपछिको अवस्थाजस्तो तीव्र रूपमा नबढेको र पश्चिम एसियाबाट हुने व्यापारिक ढुवानीहरू क्रमशः स्थलमार्गमार्फत मोडिएकाले पनि अपेक्षाकृत भन्दा कम प्रभाव देखिएको हो ।
नाइट्रोजन र फस्फेटमा आधारित मलको उत्पादन लागतमा भएको वृद्धि र विश्वव्यापी रूपमा कायम रहेको बलियो मागका कारण सन् २०२६ मा मलको मूल्य सूचकांक ३० प्रतिशतभन्दा बढीले बढ्ने प्रक्षेपण गरिएको छ। निर्यातमा सुधार र नयाँ आपूर्तिको उपलब्धतासँगै सन् २०२७ मा मूल्यहरू घट्ने अपेक्षा गरिएको छ। यद्यपि, ऊर्जाको उच्च मूल्य कायम रहेमा र हर्मुज जलमार्गसँग जोडिएका ढुवानी तथा उत्पादन अवरोधहरूका कारण सन् २०२६ भरि मलको मूल्य उच्च नै रहने प्रक्षेपण गरिएको छ। विश्वव्यापी रासायनिक मलको मूल्य पुनः बढिरहेका कारण यसको प्रत्यक्ष असर विश्वभरका लाखौँ किसानहरूमा पर्न सक्ने औल्याएको छ ।
युरियाको मूल्य गत फेब्रुअरीदेखि ८० प्रतिशतले बढेर प्रति टन ८५० डलर भन्दा माथि पुगेको छ । यो मूल्य वृद्धि अप्रिल २०२२ पछिकै उच्च स्तर हो । सल्फरको लागत दोब्बर भएको र निर्यात प्रतिबन्धले आपूर्ति कडा पारेका कारण डिएपीको मूल्य बढेको छ । पोटासको मूल्य बढे पनि बजार तुलनात्मक रूपमा राम्रो आपूर्ति अवस्थामा रहेको जनाएको छ ।
पश्चिम एसियामा उत्पादित नाइट्रोजनमा आधारित मलका लागि हर्मुज महत्त्वपूर्ण ढुवानी मार्ग हो । हर्मुज मार्ग ठप्प भएसँगै पश्चिम एसियाबाट हुने मलको निर्यात लगभग ठप्प भएको छ । जसको प्रत्यक्ष असर विश्वव्यापी आपूर्ति र मूल्यमा देखिएको हो।
विश्वव्यापी बजारमा देखिएको निरन्तरको उतारचढावबीच कृषकहरूलाई जोगाउन र विश्वव्यापी खाद्य प्रणालीको रक्षा गर्न तत्काल कदम चाल्नुपर्ने देखिएको छ। यसका लागि आपूर्ति श्रृंखलालाई सुदृढ बनाउनु, व्यापार मार्गहरूलाई सहयोग पुर्याउनु र कृषि उत्पादकत्वमा लगानी बढाउनु अत्यन्त महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्टरनेशनल फर्टिलाइजर एसोसिएसनको तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी प्रयोग हुने युरियाको कुल विश्वव्यापी निर्यातमा पश्चिम एसियाको हिस्सा करिब २५ प्रतिशत छ । युरिया उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ 'अमोनिया' को विश्वव्यापी निर्यातमा पनि पश्चिम एसियाको १५ प्रतिशतभन्दा बढी हिस्सा छ। मुख्य आपूर्तिकर्ता क्षेत्रकै निर्यात रोकिँदा विश्वभर कृषि लागत महँगो हुने जोखिम बढेको समेत बताइएको छ।
द्वन्द्वका बीच इरानले आफ्नो अमोनिया उत्पादन पूर्ण रूपमा बन्द गरेको छ भने कतारका मुख्य औद्योगिक संरचनाहरूमा क्षति पुगेपछि त्यहाँबाट हुने युरिया, अमोनिया र सल्फरको उत्पादन स्थगित गरिएको छ । तरल प्राकृतिक ग्यासको आपूर्तिमा आएको गिरावटका कारण भारतले पनि युरिया र अमोनियाको उत्पादन कटौती गरेको छ । विश्वकै प्रमुख उत्पादक चीनबाट निर्यातमा कडाई र संकुचित आपूर्तिका कारण बजारमा थप चिन्ता चुलिएको छ।
चौतर्फी संकटका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्यधिक बढेको छ । त्यस कारण किसानहरूका लागि मलको क्रयशक्ति सन् २०२२ को मध्ययताकै सबैभन्दा कमजोर स्तरमा पुगेको छ। अर्थात रासायनिक मल महँगो भएको छ । सन् २०२६ को सुरुवातमा स्थिर रहेको डीएपी मलको मूल्य अप्रिल महिनामा आएर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बजारमा मलको संकुचित आपूर्ति र उत्पादन लागतमा भएको भारी वृद्धिका कारण यसको मूल्य बढेको हो।
मल उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ (सल्फर) को मूल्यमा गत जनवरी महिनायता दोब्बर वृद्धि भएको छ । यसरी कच्चा पदार्थको लागत ह्वात्तै बढेपछि त्यसको प्रत्यक्ष असर डीएपी मलको उपभोक्ता मूल्यमा पर्न गएको प्रतिवेदनहरूले देखाएका छन् । रासायनिक मलको मूल्य वृद्धिले आगामी सिजनमा विश्वभरकै कृषकहरूका लागि कृषि उत्पादन लागत थप खर्चिलो बनाउने देखिएको छ ।
