कर्णाली करिडोरका लागि सरकारले ६ अर्बभन्दा बढी बजेट सुनिश्चित गर्दै कालोपत्र तथा पुल निर्माणको ठेक्का प्रक्रिया छिट्टै सुरु गर्ने तयारी गरेको छ।
What you should know
कालीकोट — सरकारले बहुचर्चित कर्णाली करिडोर (खुलालु–हिल्सा) सडकका लागि ६ अर्ब ११ करोड १७ लाख बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सडक विभागलाई सहमति दिएको छ ।
यसअघि ठेक्का लागेर काम भइरहेको सडक खण्डबाहेक कालीकोटको खुलालु–कोट, भुक्का खोला–पिलुचौर र हुम्लाको तुम्च–सल्लीसल्लासम्म ४१ किलोमिटरको स्तरोन्नतिका लागि ३ अर्ब १५ करोड १ लाख बजेट सुनिश्चित भएको हो । यस्तै उत्तरदक्षिण हिल्सा–सिमकोट सडक आयोजना अन्तरगत हुम्लाको खार्पुनाथदेखि खरिखेत र खरिखेतदेखि सल्लीसल्लासम्म १९ किलोमिटर लागि २ अर्ब ३३ करोड ७३ लाख बजेटमा ६० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाउन अर्थ मन्त्रालयले सडक विभागलाई सहमति दिएको खुलालु–सल्लीसल्ला सडक योजना प्रमुख बिसुन्दास लामाले बताए ।
कर्णाली करिडोरलाई दुई लेनसहित कालोपत्र गर्नस्रोत सुनिश्चित गरेकोले छिट्टै ठेक्का लगाएर काम सुरु हुने उनले बताए । ‘अर्थले सडक विभागलाई स्रोत सुनिीश्चततासँगै सहमति दिएको हो,’ उनले भने, ‘सडक विभागले सडक कार्यालयलाई स्वीकृति दिएपछि ठेकका आव्हन हुन्छ ।’
उनका अनुसार कालीकोटको खुलालुदेखि हुम्लासम्म विभिन्न खोलामा ६ वटा सडक पुलका लागि ६२ करोड ४३ लाख बजेट छ । पुल नहुँदा खोलाबाट जोखिमपूर्ण रुपमा सवारी र मालबाहक गाडी तार्नुपर्ने बाध्यता छ । करिडोरको रहगाड खुलालु खोला, सान्नीगाड, फूगाड, बाजुराको भुक्का खोला, क्वाडीलगायतका ठाउँमा पुल निर्माण हुने छन् ।
सडक विभागले यसअघि कर्णाली करिडोरको बाजुराको पिलुचौरदेखि हुम्लाको कुवाडी खोलासम्म ५० किलोमिटर स्तरोन्नतिका लागि ४ अर्बको लागतमा ठेक्कामार्फत काम गरिरहेको छ । अर्थ मन्त्रालयले सडक विभागलाई स्रोत सुनिश्चिततासँगै कार्यक्रम कार्यान्वयनको लागि स्रोत सहमति दिएको हो । आगामी असारभित्र सडक विभाग अन्तरगतका सडक योजना कार्यालयले बहुवर्षीय ठेक्का लगाइ सक्नुपर्ने छ । आगामी दुई वर्षभित्र सबै काम सम्पन्न हुने गरी ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख लामाले बताए ।
सुदूरपश्चिमको बाजुरा र कर्णालीका बासिन्दाको लाइफ लाइन मानिएको कर्णाली करिडोर बजेट अभाव र कामको ढिलासुस्तीले ट्रयाक खुल्नै डेढ दशक लागेको थियो । करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला १ सय २३ र त्यसमाथिको चट्टानी भाग ७ गरी १ सय ३० किलोमिटर सडक नेपाली सेनाले ट्रयाक खोलेको हो । त्यसभन्दा माथि हुम्ला हुँदै हिल्सासम्म १ सय ३९ किलोमिटरमा सडक विभागले ठेक्कामार्फत निर्माण गरेको बाजुरास्थित कर्णाली करिडोर सडक योजना कार्यालयले जनाएको छ ।
भारतको जमुनाहादेखि चीनको हिल्सासम्म कूल ५ सय ८ किलोमिटर लम्बाईमध्ये खुलालुदेखि हिल्सासम्म ३ सय ४७ किलोमिटर सडक पर्छ । कर्णाली करिडोरमा पर्ने कालीकोटको फुगाड जलविद्युतको कारण हालको केही सडक डुबानमा पर्ने भएकाले फुगाड हाइड्रोले नयाँ ट्रयाकका लागि सर्वेक्षण सुरु गरेको छ । डुबान हुने ठाउँमा अर्को ट्रयाक नबनेसम्म मर्मत सम्भारको काम मात्र हुनेछ भने डुबान हुने क्षेत्र छाडेर स्तरोन्नतिका लागि ठेक्काको प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ ।
कर्णाली करिडोरका लागि ६ अर्ब बढीको स्रोत सुनिश्चित हुनु कर्णालीवासीका लागि खुसीको खबर भएको हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद जयपति रोकायाले बताए । ‘कर्णाली करिडोर यो क्षेत्रको समृद्धिको ढोका हो । कालोपत्र भएपछि यहाँ चहलपहल बढ्नेछ । भारतीय धार्मिक पर्यटक यही बाटो हुँदै मानसरोवर पुग्नेछन्,’ उनले भने ।
