किमाथांकामा ट्याक्टर पुग्दा स्थानीयले मनाए उत्सव, जोगवनी–किमाथांका ३ सय ५७ किमी सडक जोडियो

दुर्गम हिमाली बस्ती किमाथांका सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीले वर्षौंको सपना पूरा भएको भन्दै उत्सव मनाएका छन्।

जेष्ठ २, २०८३

दीपेन्द्र शाक्य

Locals celebrate as tractor reaches Kimathanka, 357 km Jogwani-Kimathanka road connected

What you should know

संखुवासभा — जिल्लाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमानजिक किमाथांकासम्म सडक सञ्जाल जोडिएको छ।

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।

खाँदबारी–किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक तयार भएको उत्तर–दक्षिण कोशी सडक योजनाले जनाएको छ। हाल खाँदबारीसम्म २ सय किलोमिटर कालोपत्र सडक सञ्चालनमा छ ।

खाँदबारीदेखि नूमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ। नुमभन्दा माथिल्लो क्षेत्रमा कच्ची सडक निर्माण सम्पन्न भइसकेको योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।

सडक निर्माणको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङदेखि घोङ्गप्पासम्म सडक निर्माण गरेको थियो । वैशाख २८ मा सेनाले उक्त सडक योजनालाई हस्तान्तरण गरेको थियो। प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि भूगोल र एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणमा सडकको कुल लम्बाइ १० दशमलव ८१ किलोमिटर कायम भएको छ।

सडक हस्तान्तरण भएको तीन दिनपछि जेठ १ मा खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथांकासम्म पुगेका हुन्। भोटखोलाको च्याम्ताङदेखि घोङ्गप्पाको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाँदबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथांका गाउँ पुगेको हो।

पहिलो पटक गाउँसम्म ट्याक्टर पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। ट्याक्टर चालक, एक्स्काभेटर चालक तथा किमाथांका सडक अभियानसँग सम्बन्धित टोलीलाई स्थानीयले भव्य स्वागत गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाड्छेदर भोटेले बताए। वर्षौंदेखिको सडक सपना पूरा हुँदा स्थानीयले खुसीयाली मनाएका छन्।

बरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो रहेको छ। उक्त क्षेत्रमा हाल सडक स्तरोन्नतिको काम जारी रहेको छ। वर्षायाममा पहिरो, भीर तथा कठिन भूगोलका कारण सडक सञ्चालन चुनौतीपूर्ण बन्ने भए पनि स्तरोन्नति गर्ने योजनाको लक्ष्य रहेको गुरुङले बताए ।

'सडक निर्माण सम्पन्न भएसँगै भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरेका छौं,' गाउँपालिका अध्यक्ष भोटेले भने, 'स्थानीय उत्पादनले बजार पाउने, दैनिक उपभोग्य वस्तु ढुवानी सहज हुने तथा स्वास्थ्य र शिक्षामा पहुँच विस्तार हुने विश्वास लिएको छु ।'

सडक संचालनले आपतकालीन सेवामा समेत सहजता आउने स्थानीयको अपेक्षा छ । चीन सीमासँग जोडिएको किमाथांका क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना खुल्ने अध्यक्ष भोटेले बताए । 

कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको उनले बताए । 'दशकौंदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथांका अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएको छ। बल्ल गाउँमा विकास आइपुगेको स्थानीयलाई अनुभूति भएको छ,' उनले भने ।  

खाँदबारी हुँदै किमाथांका जोड्ने सडक आर्थिक वर्ष २०६५/२०६६ बाट निर्माण सुरु गरिएको थियो । हालसम्म करिब १६ अर्ब २० करोड खर्च भएको योजना कार्यालयले जनाएको छ । स्थानीय जिप्पा तेन्जिङ भोटेका अनुसार नियमित यातायात सञ्चालन भएमा दैनिक उपभोग्य सामाग्रीको मूल्य सस्तो हुने छ । यसअघिखाँदबारीबाट किमाथांकासम्म सामान ढुवानी गर्दा कम्तीमा ४० रुपैयाँ प्रतिकिलोसम्म लाग्ने गरेको उनले बताए । 

यसअघिखाँदबारीबाट च्याम्ताङसम्म १ सय ३९ किलोमिटर सडक खण्डमा हिउँदका बेला साना सवारी साधन गुड्दै आएको थियो । 'बर्षातको बेला भने बरुण नदीसम्म ८२ किलोमिटर सडक खण्डमा गाडी चल्ने गरेको छ । त्यहाँबाट खच्चड वा चौरीमा बोकाएर  किमाथांकासम्म लैजाने गरिन्थ्यो,' उनले भने, 'अब नियमित यातायातका साधन चल्न थाले साह्रै सजिलो हुन्थ्यो ।'

दीपेन्द्र

Link copied successfully