राज्यकोष खर्चिएर करोडौंको डिजिटल फोहोर, खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्ति

सफ्टवेयर, ल्यापटप, ट्याब्लेटजस्ता महँगा उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्यकोषमा व्ययभार थपिएको महालेखाको टिप्पणी

जेष्ठ २, २०८३

सजना बराल

Digital waste worth crores at the expense of state coffers, tendency to buy but not use

What you should know

काठमाडौँ — महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरबाही उजागर गरेको छ । ठूलो मुद्रा खर्च गरेर सफ्टवेयर, ल्यापटप, ट्याब्लेटजस्ता उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्यकोषमा व्ययभार थपिएको आशय प्रतिवेदनमा छ । विशेषगरी स्थानीय तहहरूले सफ्टवेयर खरिद, मर्मत–सम्भार र नवीकरणका नाममा करोडौं खर्च गरे पनि कतिपय निकायमा ती प्रणाली प्रयोगमै नआएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार यो वर्ष १४८ स्थानीय तहले सफ्टवेयरका लागि ११ करोड ५३ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए । तीमध्ये १५ वटा स्थानीय तहले ७७ लाख ९ हजार रुपैयाँ बराबरको सफ्टवेयर प्रयोगमै ल्याएनन् । सरकारी निकायले विद्युतीय माध्यमबाट कार्य सञ्चालन गर्न सफ्टवेयर निर्माण गर्दा सूचना प्रविधि विभागबाट स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ । यसको पालना नगर्दा मानकविहीन प्रणालीहरू थुप्रिने क्रम बढेको देखिने प्रतिवेदनको बुँदा नम्बर ९५ मा उल्लेख छ ।

उपकरणहरूको प्रयोगमा पनि उस्तै बेथिति देखिएको छ । सरकारी कार्यालयहरूमा ल्यापटप र ट्याब्लेट जस्ता उपकरण प्रयोगकर्ता परिवर्तन हुनासाथ नयाँ खरिद गर्ने प्रवृत्ति रहेको प्रतिवेदनले औंल्याएको छ । पुराना उपकरणहरूलाई पुनः उपयोगमा ल्याउनुको साटो थन्क्याएर राख्ने र नयाँ खरिद गर्ने प्रवृत्तिले गर्दा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको छ । महालेखाले यस्तो प्रवृत्ति रोक्न सम्पत्तिको उपयोगी आयु तोक्नुपर्ने र सो अवधिभित्र एकै प्रयोगकर्तालाई उपलब्ध गराउने व्यवस्था गर्न सुझाएको छ ।

‘स्थानीय तहहरूले सफ्टवेयर खरिद गरेर पनि प्रयोग नगर्नुमा मुख्य गरी दक्ष जनशक्तिको अभाव र पूर्वाधारको कमी हो,’ ‍तत्कालीन सूचना प्रविधि विभागका सूचना प्रविधि अधिकृत प्रकाश दवाडी भन्छन्, ‘विभागले बनाएको मापदण्ड पूरा नगर्दा र कार्यालयहरूबीच इन्टरनेट वा अन्य प्रविधिको कनेक्टिभिटी नहुँदा पनि सफ्टवेयर प्रयोगमा आउन नसकेका हुन सक्छन् ।’ कतिपय ठाउँमा सर्भरको साइज सानो हुनु, मेमोरी वा स्टोरेज क्षमता कम हुनु र बिजुलीको नियमित आपूर्ति नहुनु जस्ता प्राविधिक समस्याले पनि खरिद गरिएका सफ्टवेयर उपयोगी हुन नसकेको दवाडीको आकलन छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कतिपय जानकारहरूका अनुसार पछिल्लो १० वर्षमा नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा झन्डै तीनदेखि चार खर्ब रुपैयाँ खर्च गरिसकेको तथ्यांक छ । र, वार्षिक अर्बौं रुपैयाँ वार्षिक मर्मत करार र सहयोगमा खर्च हुँदा पनि अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । देश अहिले ‘डिजिटल गार्बेज’ अर्थात् डिजिटल फोहोरको थुप्रोमा परिणत हुन थालेको र यसको उचित व्यवस्थापन नगरे दुर्घटना निम्तिन सक्ने उनीहरूको चेतावनी छ ।

सरकारी निकायहरूले सफ्टवेयर खरिदमा ठूलो रकम खर्च गरेपछि त्यसलाई अनिवार्य रूपमा प्रयोगमा ल्याउनुपर्ने कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) की अध्यक्ष सुनैना पाण्डे घिमिरेको भनाइ छ । ‘करदाताको पैसाबाट त्यत्रो लगानी गरिसकेपछि त्यसबाट प्राप्त हुने लाभ लिनुपर्छ, प्रयोग नगरी थन्काएर राख्नु त सिधै गलत हो,’ उनले भनिन्, ‘सफ्टवेयर खरिद गर्दा सम्भव भएसम्म ‘मेड इन नेपाल’ उत्पादनहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । नेपाली सफ्टवेयर प्रयोग गर्दा देशको पैसा देशमै रहने त भइगयो, मर्मत–सम्भार सहज हुन्छ, हामी बोलाएका बेला पुग्छौं, विदेशी सफ्टवेयर लिँदा मर्मत–सम्भार झन्झटिलो भएर कैयौं दिन प्रणाली नै ठप्प भएको प्रशस्तै उदाहरण छन् ।’

सूचना प्रविधिको सुरक्षा र गोपनीयताको अवस्था पनि कमजोर रहेको प्रतिवेदनले देखाएको छ । उदाहरणका लागि एसियाली विकास बैंकको सहायतामा सञ्चालित विद्युतीय खरिद प्रणालीको सुरक्षा र सोको कमजोरीबारे परीक्षण गर्दा विभिन्न समस्या औंल्याइएको छ । प्रणालीमा सुधार नभएसम्म सो प्रणालीको प्रयोगसमेत स्थगित गरिएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रममा प्रयोग भइरहेको सूचना प्रणालीको पनि नियमित मर्मत–सम्भार र स्तरोन्नति नभएकामा महालेखाले प्रश्न गरेको छ । स्थानीय तहहरूले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत राजस्व संकलन गर्न सक्ने व्यवस्था भए पनि अधिकांशले यसको पूर्ण कार्यान्वयन नगरेको प्रतिवेदनमा भनिएको छ ।

‘सूचनाको गोपनीयता, शुद्धता र उपलब्धता सुनिश्चित गर्न र साइबर सुरक्षाका लागि नियमित रूपमा सूचना प्रविधि लेखपरीक्षण गर्नुपर्ने व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विद्युतीय प्रणालीको आवश्यकता पहिचान, विकास र उपकरण खरिदका लागि स्पष्ट मापदण्ड र लागत अनुमान तयार गर्ने कार्यलाई व्यवस्थित बनाउनुपर्छ ।’ महालेखाले सार्वजनिक सम्पत्तिको अभिलेख राख्न र पारदर्शी बनाउन सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पाम्स) प्रयोग गर्न सुझाव दिएको छ । हाल २९३ स्थानीय तहले यस्तो प्रणाली प्रयोग नगरेका कारण कुन कार्यालयमा कति उपकरण छन् र तिनको अवस्था के छ भन्ने यकिन हुन सकेको छैन ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully