७ वर्षपछि सहज बन्दै बुटवल–नारायणगढ खण्डको यात्रा

दाउन्ने खण्डबाहेक अधिकांश भागमा कालोपत्र सकिएपछि बुटवल–नारायणगढ सडकको यात्रा अब सहज भएको छ, बाँकी काम वर्षाअघि सकिने लक्ष्य छ ।

जेष्ठ २, २०८३

नवीन पौडेल

Travel on Butwal-Narayangadh section becomes easier after 7 years

What you should know

परासी — बिस्तार सुरु भएको ७ वर्षपछि महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा सहज भएको छ । 
दाउन्ने पहाडको केही खण्डबाहेक कालोपत्र पूरा भएपछि यात्रा सहज भएको हो । अहिले दाउन्ने पहाड खण्डमा धमाधम काम भइरहेको छ । 

दाउन्ने खण्डमा पनि ९१ प्रतिशत भन्दा बढी काम भइसकेको छ । वर्षात अगावै सबै सक्ने गर्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । दाउन्ने अन्तर्गतको १४ किलोमिटरमा ढलान र कालोपत्र गरिएको आयोजनाले जनाएको छ । घन्टौं जाम पर्ने समस्याबाट आजित यात्रु र स्थानीयले अब सास्ती बेर्होन नपर्ने आयोजनाको दाबी छ । 

दाउन्ने खण्डमा कालोपत्र र ढलानको काम जेठ १५ अगाडि पूरा गर्ने लक्ष्यसाथ काम भइरहेको बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए । 

उनका अनुसार पूर्वी खण्डको ६५ किलोमिटरमा कालोपत्र र ढलानको  काम सकिएको छ । ‘वर्षायाममा सहज यात्रा गर्न पाउनुहुनेछ,’ उनले भने,‘सडक कालोपत्रसँगै अहिले सडक सुरक्षालगायतका काम गरिरहेका छौं । जेठ १५ पछि दाउन्ने खण्डको यात्रा सहज हुनेछ ।’

पश्चिम खण्डतर्फ ८ सय मिटरमात्र ढलान हुन बाँकी रहेको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताए । ‘अबको १५ दिनमा हामी दाउन्ने खण्डमा गर्नुपर्ने कालोपत्र र ढलान पूरा गरिसक्ने छौं,’ उनले भने,‘वर्षायाममा यात्रा सहज हुने भएको छ ।’ यो सडक खण्डको काम पूरा नभएपछि चौथो पटक म्याद थप गरिएको थियो । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थप भएको छ । २०७५ चैतबाट काम सुरु भएको आयोजनाको चाैथाे पटक थपिएको म्याद आउँदो साउनमा सकिन लागेको हो । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बमा दुई खण्डको १ सय १४ किलोमिटर सडक विस्तार ठेक्का लिएको थियो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully