सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्रय्याकिङ प्रणाली विकास गरी प्रभावकारी अनुगमन गर्न सरकार तथा सम्बन्धित निकायलाई सुझाव
काठमाडौं — महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरी देखिएको छ । प्रतिवेदनले निष्क्रिय लाभग्राहीको खातासमेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत भत्ता जाने जोखिम कायम रहेको औंल्याएको छ ।
प्रतिवेदनमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा सामाजिक सुरक्षा भत्तामा १ खर्ब ८ अर्ब ३७ करोड २ लाख खर्च भएको उल्लेख छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा उक्त खर्च १.६८ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब १९ करोड ७० लाख ३१ हजार पुगेको जनाइएको छ ।
चालु आर्थिक वर्षमा नेपाल सरकारले ३८ लाख ६ हजार ६३४ जना लाभग्राहीलाई १ खर्ब १४ अर्ब ४१ करोड २ लाख ६८ हजार सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको प्रतिवेदनमा उल्लेख छ । तर, निष्क्रिय लाभग्राही खाताको ट्रय्याकिङ गर्ने प्रभावकारी प्रणाली विकास नभएको तथा भत्ता वितरणको प्रभावकारी अनुगमन हुन नसकेको कारण मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम रहेको महालेखाले जनाएको छ ।
प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्रय्याकिङ प्रणाली विकास गरी प्रभावकारी अनुगमन गर्न सरकार तथा सम्बन्धित निकायलाई सुझाव दिएको छ ।
